स्वास्थ्य

‘प्रशिक्षित कुकुरले कोरोना संक्रमित चिन्न सक्छ’

कुकुरको सुँघ्ने क्षमता मानिसको भन्दा १० हजार गुणा बढी हुन्छ। यही कारणले केही प्रशिक्षणप्राप्त कुकुरले क्यान्सर, मलेरिया र अन्य भाइरल संक्रमण सुँघेरै थाहा पाउन सक्छन्। जर्मन अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरस संक्रमण भए/नभएको कुकुरले पत्ता लगाउन सक्छन्।

जर्मनीको ‘युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन ह्यानोभर’ अन्तर्गत ह्यानोभर मेडिकल स्कुल र जर्मन सशस्त्र बल (जर्मन आम्र्ड फोर्स) ले  संयुक्त रूपमा गरेको एक अध्ययन अनुसार कुकुरले मानिसको ¥याल सुँघेर कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन सक्छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनबिसीले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेकोे छ। यो अध्ययनको  सफलताको दर ९४ प्रतिशत रहेको छ।

विमानस्थल, खेलकुद मैदान तथा अन्य सभासम्मेलन हुने स्थानमा भाइरस संक्रमित पहिचान गर्न कुकुरको प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले दाबी गरेका छन्। अनुसन्धानकर्ताले जर्मन सशस्त्र बलका आठवटा कुकुरलाई एक सातासम्म प्रशिक्षणसमेत दिएका छन्। परीक्षणका क्रममा कुकुरलाई संक्रमित र स्वस्थ एक हजार मानिसको -याल सुँघाइएको थियो। त्यसपछि कोभिड–१९ संक्रमितको -याल क्रम नमिलाई सुँघ्न दिइएको थियो। त्यतिबेला कुकुरका प्रशिक्षक र अनुसन्धानकर्ता दुवैलाई त्यो -याल संक्रमित भए/नभएको थाहा थिएन ।  

अध्ययनमा संलग्न प्राध्यापक मारेन वन कोइक्रिजले संक्रमितको पाचन प्रक्रिया पूर्ण रूपमा परिवर्तन हुने भएकाले कुकुरले यसरी संक्रमितको पहिचान गर्न सकेका हुन्। ‘पाचन प्रक्रिया परिवर्तन हुँदा उत्पन्न हुने गन्धलाई पहिचान गर्न कुकुर सक्षम देखिएका छन्,’ उनले भनिन्।  

यो अनुसन्धानलाई थप परिपक्व पार्न थप अनुसन्धान गर्न आवश्यक रहको उनले बताइन्। ‘अबको चरणमा कोभिड–१९ र अन्य रुघाखोकीका बिमारीबीच फरक छुट्ट्याउन कुकुरलाई प्रशिक्षित गर्न आवश्यक छ,’ उनले भनिन्।

अमेरिकाका रोग नियन्त्रण तथा नियन्त्रण केन्द्र (सिडिसी) ले कोभिड–१९ द्वारा कुकुर पनि संक्रमित हुन सक्ने तर कोरोना भाइरसको फैलावटका लागि अन्य जनावरको उल्लेख्य भूमिका रहेको नपाइएको पनि सिएनबिसीले जनाएको छ। यो अध्ययनको नतिजा गत बिहीबार ‘बिएमसी इन्फेक्सियस डिजेस’ नामक जर्नलमा प्रकाशन भएको हो। यो जर्नल बेलायती जर्मन प्राज्ञिक प्रकाशन समूह स्प्रिंगर ‘नेचर’को सहप्रकाशन हो।

प्रकाशित: १४ श्रावण २०७७ ०२:०८ बुधबार

कोरोना संक्रमित प्रशिक्षित कुकुर