नेपालगन्जको पुरानो व्यस्थ चौक हो त्रिभुवन चौक । जहाँ बिहानैदेखि मानिसको भिड लाग्ने गर्छ । त्रिभुवन चौकमा जम्मा हुने भीडमध्येबाट यसै साता नमुना परीक्षण गरिएको थियो । १ सय ३० जनाको स्वाब संकलन गरेर भेरी अस्पतालमा परीक्षण गर्दा मिठाई पसले, ज्याला गर्ने मजदुर र आन्तरिक राजस्व कार्यालय बाँकेमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस संक्रमित भेटिए ।
सेवाग्राहीको भिड लाग्ने अर्को सरकारी कार्यालय यातायाता कार्यालय बाँकेका कम्प्युटर अपेरटरमा पनि गत आइतबार कोरोना भाइरस पोजेटिभ देखियो । कोरोना भाइरसको उच्च जोखिममा रहेको बाँकेमा कोरोना भाइरस समुदाय स्तरमा फैलिएको आशंका गरिएको छ । तर बाँकेमा लकडाउन खुलेपछि सार्वजनिक दूरी र कोरोनाको सम्भावित संक्रमणका बारेमा त्यति धेरै वास्ता गरिएको छैन ।
स्थानीय निकायले पनि कोरोना भाइरस संक्रमण घट्दै गएको भन्दै क्वारेन्टिन र आइसोलेसन सेन्टर बन्द गर्दै गएका छन् । स्वास्थ्य अधिकारीले बाँकेमा कोरोनाले कुनै बेला पनि संकटपूर्ण अवस्था सृजना गर्न सक्ने खतरा रहेको बताउँदै आएका छन् ।
कोरोनाको जोखिम अझै कायम रहेकोले सतर्क रहनको लागि बाँकेमा थप कडाई गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बाँके कोरोनाको जोखिमबाट अझै मुक्त नभएको भन्दै थप कडाइ गर्ने निर्णय गरेको हो । अब बाँकेमा सार्वजनिक कार्यक्रम गर्दा २५ जना भन्दा बढि मानिस जम्मा हुन पाउने छैनन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको बैठकले बाँकेमा कोरोना सम्भावित जोखिमलाई टार्नका लागि विभिन्न निर्णय गरेको छ । जसमा आन्तरिक राजश्ज कार्यालय र यातायात कार्यालय अर्को सूचना प्रकाशित नहुनजेलसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
बाँकेको अधिकांश स्थानीय तहले क्वारेन्टिन र सरकारी निकायले आइसोलेसन सेन्टर हटाइसकेका छन् । जोखिम अझै कायम रहेकोले आइसोलेसन सेन्टर र क्वारेन्टिनलाई पूर्ण रुपमा बन्द नगर्न स्थानीय तहलाई आग्रह समेत गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।
बाँकेमा पछिल्लो समय सार्वजनिक कार्यक्रममा मानिसको भिड बढ्दै गएको थियो । लकडाउन पश्चात् सामाजिक दूरी कायम नहुँदा बजारमा कोरोना संक्रमणका खतरा बढ्दै गएको छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बाँके अझै कोरोनाको उच्च जोखिममा रहेको बताए । उनले भने, ‘बाँकेमा कुनै संकटपूर्ण अवस्था आउन सक्छ । लकडाउन खुलेपछि बाँकेमा कोरोनाको संक्रमण बढ्दै गएको देखिन्छ । यसले संक्रमण फैलिने खतरा बढेको छ । सार्वजनिक कार्यालयमा कार्यरत कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । यसले पनि खतरा बढ्दै गएको संकेत गर्छ ।’
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा कोरोना संक्रमितको संख्या ४ सय ५ जना पुगेको छ । दुई जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ ।
प्रकाशित: १३ श्रावण २०७७ ११:४९ मंगलबार