स्वास्थ्य

धरहरा पुनर्निर्माणका कामदार क्वारेन्टिनमा

धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा  राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनर्निर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो । ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको र पिसिआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ ।

कोरोना सङ्क्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टिनमा राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए । अहिले उनीहरुको परीक्षणको लागि नमूना सङ्कलन भइरहेको छ । परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताए । उनले भने–“अहिले धरहराको पुनर्निर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन् । हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ ।”

भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनले धरहराको पुनर्निर्माण सुरु गरेको छ । निर्माणको लागि तीन अर्ब ४८ करोड रुपैयाँ लाग्ने जनाइएको छ । पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट हुनेछ । एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।

सुरुमा ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भिमसेन थापाले निर्माण गरेका थिए । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेना गृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ । धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनेछ ।

प्रकाशित: ३१ असार २०७७ ०६:५५ बुधबार

क्वारेन्टिन धरहरा पुनर्निर्माण कामदार