स्वास्थ्य

जिल्ला अस्पतालमा पोषण पुर्नस्थापना गृह

जिल्ला अस्पतालमा स्थापना गरिएको पोषण पुर्नस्थापना गृहको बेड । तस्बिर : नागरिक

जिल्ला अस्पताल खोटाङमा कुपोषित बालबालिकाको उपचार एवं स्याहार–सुसारका लागि आवासीय पोषण पुर्नस्थापना गृह स्थापना गरिएको छ । कुपोषणबाट ग्रस्त भएका बालबालिकाको उचित खानपानका साथै उचित स्याहार–सुसारको व्यवस्थाका लागि नेपाल युथ फाउण्डेसनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखामार्फत जिल्ला अस्पतालमा आवासीय पोषण पुर्नस्थापना गृह स्थापना गरिएको हो ।  

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैसाख २३ गतेको बैठकको निर्णय अनुसार जिल्ला अस्पतालमा ५ बेडको पोषण पुर्नस्थापना गृह स्थापना गरिएको हो । बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपांगताको सिकारबाट बचाउने तथा कडा रोग लाग्नबाट जोगाउनका लागि पोषण पुर्नस्थापना गृह सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।  

आवासीय पोषण पुर्नस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाई र उमेर अनुसारको तौल पुर्‍याउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिका साथै हेरचाह गर्ने अभिभावकललाई समेत पोषण सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्नका लागि पोषण पुर्नस्थापना गृह स्थापना गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले बताए । 

आवासीय पोषण पुर्नस्थापना गृह सञ्चालनका लागि एक जना स्टाफनर्स, एक जना अनमी र एक जना भान्छे नियुक्त गरिएको छ । पोषण पुर्नस्थापना गृह स्थापना गरिएको विषयमा जिल्ला दुई नगरपालिका र आठ गाउँपालिकालाई जानकारीका लागि पत्राचार गरिसकिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।  

आवश्यक उपचार र व्यवस्थापनद्धारा कुपोषित बालबालिकाको उचाई र उमेर अनुसारको तौल पुर्‍याउन केही समय राखिने उपचार कक्ष पोषण पुर्नस्थापना गृह हो । पोषण पुर्नस्थापना गृहमा कुपोषित बालबालिकाको हेरचाहका लागि उसका एक जना अभिभावकलाई राख्ने व्यवस्था छ । पोषण पुर्नस्थापना गृहबाट डिस्चार्ज भइसकेपछि पनि ६ महिनाको अवधिमा ३ पटक बच्चाको स्वास्थ्य अवस्था र हेरचाह गर्ने अभिभावकले हासिल गरेका ज्ञानको प्रयोगका बारेमा अनुगमन गरिने जनाइएको छ । तर हालसम्म कुनै पनि बिरामी उपचारमा नआएको जिल्ला अस्पतालका प्रमुख फुयाँलले बताए ।  

गृहमा राखिएका कुपोषित बालबालिकालाई अवस्था हेरेर दैनिक ८ देखि १२ पटकसम्म आहारा खुवाउनुपर्ने सञ्चालन निर्देशिकामा उल्लेख छ । पोषण पुर्नस्थापना गृह स्थापनाका लागि सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ बाट बजेट निकासा आएको थियो । ‘कुपोषण भएका बालबालिकालाई विभिन्न रोगले ग्रस्त भएपछि मात्र अस्पतालमा पुर्‍याउने गरिन्छ । बालबच्चाको कुपोषणप्रति ध्यान पुग्न सकिरहेको छैन,’ चाम्लिङले भने, ‘कुपोषणबाट बौद्धिक तथा शारीरिक अपांगता हुने तथा कडा रोग लाग्दा ज्यानै जोखिममा पर्ने भएकाले कुपोषणग्रस्त बालबालिकाको उचित खानपान एवं स्याहार सुसारको व्यवस्थाका लागि गर्न पोषण पुर्नस्थापना गृह स्थापना गरिएको हो ।’ 

प्रकाशित: ३० असार २०७७ ०६:५१ मंगलबार

जिल्ला अस्पताल कुपोषित बालबालिका पुर्नस्थापना गृह