स्वास्थ्य

कोरोना भाइरसले मुटुमा पनि गम्भीर असर !

कोरोना भाइरसले मुटुमा समेत गम्भीर असर पार्ने संकेत पाइएको वैज्ञानिकले बताएका छन् ।  

बेलायतस्थित एडिनबर्ग विश्वविद्यालयले गरेको एक अध्ययनले कोरोनाले मानिसको मुटुमा समेत असर पार्ने देखाएको हो ।

 विश्वविद्यालयका अनुसार ६९ देशका १२ सय बिरामी (कोरोना संक्रमित) मा गरेको अध्ययनले आधाभन्दा बढी व्यक्तिमा मुटुको अवस्था असामान्य पाइएको हो । जसमध्ये १५ प्रतिशत संक्रमितमा मुटुसम्बन्धी गम्भीर रोग देखियो ।  

उल्लेखनीय कुरा त के छ भने अध्ययनमा कोरोनाको गम्भीर संक्रमण भएका बिरामी सहभागी गराइएको थियो । तर धेरैजसो संक्रमितमा कोरोनाका हल्का लक्षण मात्र देखिन्छन् ।  

यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक मार्क ड्वेकले बिबिसी रेडियो फो (४) को टुडे कार्यक्रममा यसबाट कोरोना संक्रमतिको हेरचाह गर्ने कुरामा मद्दत मिल्ने बताएका छन् ।  

उनले भनेका छन्, ‘बिरामीमा मुटुको समस्या गम्भीर देखियो । जुन समस्या बिरामी बाँच्ने सम्भावनासँग जोडिएको छ । यो ऊ निको हुने प्रक्रियालाई प्रभाव पार्ने कारक हो । अब हामीले यस्ता बिरामीको मुटुको पनि राम्रो निगरानी तथा उपचार गर्न जरुरी देखिन्छ ।’

उनका अनुसार यति मात्र होइन, कोभिड–१९ का जुन बिरामीमा मुटुसम्बन्धी समस्या छ, उसलाई निको पार्न विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । यसअघि कोरोना भाइरसले मस्तिष्कमा पनि असर पार्ने तथ्य सार्वजनिक गरिएको थियो । बिबिसी

प्रकाशित: २९ असार २०७७ ११:२१ सोमबार

कोरोना संक्रमित मुटु