स्वास्थ्य

गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण प्रकरण : चितवनबाट ६ जना पक्राउ, अस्पतालको आपत्ति

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा गैरकानुनीरुपमा मिर्गौला प्रत्यारोपण गराइएको आरोपमा त्यहाँ कार्यरत चार जना चिकित्सकसहित ६ जनालाई पक्राउ गरेको छ । एक जना कानुन व्यवसायी र एक जना निजामति कर्मचारीसमेत पक्राउ परेका हुन् ।  

यसरी पक्राउ पर्नेमा अस्पतालको मिर्गौला रोग विभाग प्रमुख प्राडा राकेश बर्मा, प्राडा बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ रहेका छन् । काठमाडौँबाट शनिबार भरतपुर आएको टोलीले जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल र अधिवक्ता रमेश काफ्लेलाई पनि पक्राउ गरेको छ । काफ्ले अस्पतालका कानुन व्यवसायी हुन् । काफ्ले र ढकालमाथि गैरकानुनी कामलाई कागजीरुपमा सघाएको आरोप छ ।  

अस्पतालका निर्देशक डा. मनोहर प्रधानले एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गाैला प्रत्यारोपण गरिएको विषय अनुसन्धान गर्ने भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘गत वर्षको जुलाई महिनामा काठमाडौँका श्रेष्ठ थरका ५५ वर्षीय मामालाई उनका २५ वर्षीय भाञ्जाले नाता प्रमाणित, सम्बन्धित स्थानीय तहको सिफारिससहितका कागजातका आधारमा मानव अङ्ग प्रत्यारोपण स्थानीय समितिको निर्णय समेतको आधारमा मिर्गौला प्रत्यारोपण गरिएको हो’ डा. प्रधान भन्छन्, ‘हामीले आफूखुसी कोही कसैको मानव अङ्ग प्रत्यारोपण गर्न पाइँदैन । त्यसका विभिन्न कानुनी प्रकृया हुन्छन् । अस्पतालले प्रकृया र आवश्यक प्रमाणका आधारमा अगाडि बढ्ने तथ्य रहँदारहँदै कलेज र कार्यरत चिकित्सकहरूको बदनामी गर्ने ढंगले पक्राउ गर्नु आपत्तिजनक छ ।’

प्रकाशित: २८ असार २०७७ १३:३९ आइतबार

मिर्गौला प्रत्यारोपण प्रकरण अस्पतालको आपत्ति गैरकानुनी