स्वास्थ्य

स्वास्थ्य सेवामा एम्बुलेन्स थपिँदै

टीकापुर अस्पतालमा केही पहिले बिरामीका लागि सहज रुपमा एम्बुलेन्स सेवा थिएन। आपत्कालीन अवस्थामा बिरामीलाई उपचारका लागि धनगढी, कोहलपुर र  नेपालगञ्ज पुर्‍याउनुपर्दा बाहिरबाट एम्बुलेन्स मगाएर बिरामीको उद्धार गर्नुपर्ने अवस्था थियो। केही बिरामीले एम्बुलेन्सको पर्खाइमै ज्यान गुमाउनुपर्ने बाध्यता रहे तापनि पछिल्लो समय अवस्था फेरिएको छ।  

टीकापुर नरगपालिकामा मात्र हाल सात तथा जानकी गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको  छ। नेपाल रेडक्रस सोसाइटी पथरैया उपशाखाद्वारा सञ्चालित एम्बुलेन्स पनि टीकापुर अस्पतालमै रहने गरेको छ। वर्षमा एकदेखि दुई एम्बुलेन्स अस्पतालमा थप हुँदै गएका छन्। टीकापुर अस्पतालका मात्रै दुई एम्बुलेन्स सञ्चालनका अवस्थामा छन् भने एउटा एम्बुलेन्स बिग्रिएर थन्किएको छ।  

त्यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुर, भूपू सैनिक टीकापुर, योगाश्रम टीकापुर, सामुदायिक स्वास्थ्य विकास तथा जागरण कार्यक्रम टीकापुर र नेपाल रेडक्रस सोसाइटी पथरैया उपशाखाद्वारा गरी सात एम्बुलेन्स टीकापुर अस्पतालमा रहने गरेका छन्। टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अस्पतालमा एउटा एम्बुलेन्स        कोइका र अर्को सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको बताउँदै अस्पतालका लागि अब अ शव वाहन आवश्यक रहेको बताए।  

हामीसँग शव वाहनको खाँचो छ’, अध्यक्ष रावलले भने, ‘त्यसका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आएका छौंँ।’ उनले अस्पताल क्षेत्रमा एम्बुलेन्स सेवा थपिनाले आकस्मिक सेवा दिनुपर्ने बिरामीलाई तत्काल अन्य अस्पताल रेफर गर्न सहज भएको बताउँदै बिरामीले चर्को शुल्क तिर्नुपर्ने बाध्यता समेत हटेको स्पष्ट गरे।  

नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुर रक्त सञ्चार संयोजक टेकराज बिनाडीले टीकापुर नगरपालिकाले रेडक्रसलाई एम्बुलेन्स सहयोग गरेसँगै काम गर्न सहज भएको बताए। उनका अनुसार टीकापुर नगरपालिकाले सञ्चालन गरेको गर्भवती महिलालाई ‘होम टु हस्पिटल’ कार्यक्रमका लागि समेत एम्बुलेन्स सेवा प्रभावकारी भएको छ। ‘नगरपालिकाको गर्भवती महिलालाई होम टु हस्पिटल कार्यक्रम प्रभावकारी भएको छ’,  संयोजक बिनाडीले भने, ‘टीकापुरमा  एम्बुलेन्स थपिने क्रम जारी छ। त्यो टीकापुरबासीका लागि नै राम्रो कुरा हो। यसले स्वास्थ्य सेवालाई झनै प्रभावकारी बनाउँछ।’

त्यसैगरी सत्ती कर्णाली सामुदायिक वनले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। कैलालीकै नमूना सामुदायिक वनका रुपमा स्थापित सत्ती वनले त्यस क्षेत्रका नागरिकलाई उपचार लिन सहज होस् भनी एम्बुलेन्स सेवा सञ्चालन गरेको सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताए। सामुदायिक वनले १० वर्षअघि पनि एम्बुलेन्स सञ्चालन गरेको थियो।

प्रकाशित: १४ असार २०७७ ०७:५६ आइतबार

एम्बुलेन्स टीकापुर अस्पताल