स्वास्थ्य

राज्यले कोभिडको त्रास होइन, आशा जगाउन सक्नुपर्छ: ­प्राडा श्रेष्ठ

बरिष्ठ मुटुरोग सर्जन प्राडा मलखलाल श्रेष्ठ नेपालमा सरकारले समयमै लकडाउन (बन्दाबन्दी) गरेका कारण कोभिड १९ को सङ्क्रमणले विकराल अवस्था ल्याउनबाट रोकेको बताउछन्। जर्मनीको ह्यानोभर मेडिकल स्कुल (विश्वकै प्रसिद्ध मेडिकल विश्वविद्यालय) मा २५ वर्षदेखि कार्यरत उनले राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीसँगको कुराकानीमा भने, लकडाउनसँगै शुरुमा भारतबाट आउने नेपालीलाई स्वदेश भित्र्याई केही दिनको क्वारेन्टिनमा राखेर आ­आफ्नो घरमा जाने प्रबन्ध मिलाउन सकेको भए अहिलेको जत्तिको सङ्क्रमण पनि हुने थिएन होला।  

उनी आरडिटीबाट रोगको पहिचान राम्ररी नहुने भएकाले पिसिआर गर्नुपर्नेमा जोड दिन्छन्। लकडाउनलगत्तै उपप्रधानमन्त्रीको नेतृत्वमा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेर सरकारले गम्भीरता देखाएपनि त्यसमा भाइरोलोजिष्ट र इपिलोजिष्टसहितका विज्ञहरु राखेर उनीहरुको सल्लाहअनुसार रोकथाम र उपचारका काम गर्नुपर्दछ, उनी भन्छन्। यो रोग कुनै एक देशमा मात्र नभई विश्वभरि नै विस्तार भएकाले यसको नियन्त्रणका लागि पनि व्यक्ति, परिवार, समाज र राष्ट्र राष्ट्रहरुबीचको समन्वयात्मक भूमिका र उत्तरदायित्व रहनेमा जोड दिँदै अझ हामीजस्ता विकासशील देशहरुका लागि त आर्थिक सामाजिक पक्ष पनि जोडिएर आउने भएकाले झन् सबै नै उत्तिकै सम्वेदनशील हुनु जरुरी रहेको उनको भनाइ छ।  

अझैपनि धेरै जनालाई मास्कको उचित प्रयोग, स्यानिटाइजर र साबुनपानीले हात धुनेजस्ता सामान्य तथा महत्वपूर्ण कुराहरुका बारेमा जानकारी पुग्न नसकेको र पछिल्लो समय लकडाउन खुकुलो भएसँगै यसको प्रयोगप्रति बढ्दो बेवास्ताले गर्दा आगामी दिनमा कोभिडको संक्रमणको जोखिम बढ्न सक्नेतर्फ उनी सचेत गराउछन्। उनले भने,अन्य देशको अनुभवका आधारमा विज्ञसहितको उच्चस्तरीय समितिको बैठक हरेक दिन बस्नु पर्ने देखिन्छ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गर्ने पत्रकार सम्मेलनमा सङ्क्रमितको विवरणसहित विज्ञहरुबाट कसरी सुरक्षित गरिएमा कन्ट्रयाक्ट ट्रेसिङको साथै नभई अझ राम्रो हुनथ्यो।

चीनको वुहान प्रान्तमा जनवरीमा यस रोगको लक्षण देखिएलगत्तै चीन सरकारले लकडाउन गरी  ठूलो क्षति हुनबाट रोकेको बताउँदै उनी भन्छन्, इटाली, स्पेन, अमेरिकालगायतका देशहरुले यसलाई चीनको रोग भन्दै शुरुमा बेवास्ता गरेको परिणाम आज उनीहरुले ठूलो क्षति भोग्नुपरेको हो। जर्मनीका प्रधानमन्त्री इन्जिला मेकर(जो आफैँ पनि आणविक वैज्ञानिक हुन्) ले त्यहाँको सरुवा रोग इन्टिच्युट रोबर्ट ककका निर्देशक र विशेषज्ञहरुके कमिटीले दिएको सुझाव अनुसार कार्य गरेकाले रोगलाई नियन्त्रण गर्न सजिलो भएको समेत उल्लेख गरे।  

कोरोनाका बारेमा सरकारले जनतामा त्रास नभई आशा जगाउन सक्नुपर्नेमा जोड दिँदै उनी भन्छन्, यसमा ८० प्रतिशत सङक्रमितलाई केही हुँदैन, १५ प्रतिशतमा मात्र लक्षण देखा पर्ने हो र बाँकी पाँच प्रतिशतमा मात्र जोखिम हुने भएकाले त्यसलाई ध्यानमा राखी उपचार गर्दा रोग फैलिन पाउँदैन। जर्मनीले पनि यसैअनुसार काम गरेकाले ठूलो नोकसानी हुन नपाएको उनको भनाइ छ।  

प्रकाशित: १३ असार २०७७ ०७:४० शनिबार

कोभिड मुटुरोग