स्वास्थ्य

कोरोनासँग लड्न यसरी बढाउनुस् रोग प्रतिरोधात्मक क्षमता

काेराेना महामारीले विश्वव्यापी रूप लिएपछि गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसंख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटीको नियमित सेवन गर्न आह्वान गर्‍याे। कोरोनाविरुद्ध खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन ‘एन्टिब्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडीबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध गर्‍याे। ती जडीबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात थिए।  

स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण गर्‍याे। प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वीकृत गरेपछि कार्यान्वयनमा आएको छ। 

यो पनि पढ्नुहोस्

‘राेग लाग्नै नदिनु आयुर्वेदकाे उद्देश्य’

विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय र सबै स्वास्थ्य सेवा कार्यालयलाई परिपत्र गर्दै प्रोटोकल कार्यान्वयनमा जोड दिएको छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि २ अञ्चल आयुर्वेद औषधालय र ११ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रोटोकल कार्यावयन गर्न निर्देशन दिएको छ। प्रोटोकलमा आयुर्वेद औषधि, खानपान, योग, ध्यान तथा शारीरिक व्यायामको माध्यमबाट शरीरको प्रतिरोधी क्षमता बढाउन सकिने उल्लेख छ। साथै भान्छामा दैनिक प्रयोग गरिने मरमसलालगायत परम्परागत जडीबुटीबाट पनि प्रतिरोधी क्षमता बढाउन सकिने चिकित्सकहरु बताउँछन्। 

महामारीको समयमा संक्रमितले मात्र नभई स्वस्थ व्यक्तिले पनि शारीरिक तथा मानसिक रुपमा आफूलाई बलियो राख्न अत्यावश्यक छ। शारीरिक रुपमा स्वस्थ राख्न दैनिक व्यायाम, पोषिलो खानेकुरा, प्रतिरोधी क्षमता बढाउने जडीबुटीयुक्त आहार सेवन गर्न सुझाव दिँदै उनले योगाभ्यास तथा ध्यानबाट मानसिक स्वास्थ्य हासिल गर्न सकिने बताए। 

नेपालमा पनि कोभिड संक्रमण भएका व्यक्तिलाई प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने विभिन्न प्रकारका आयुर्वेदिक औषधि खुवाइएको उदाहरण छन् । त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरका निवर्तमान कार्यकारी निर्देशक प्रा. डा. डिबी रोका कोरोना रोकथामका लागि मुख्य औषधि पत्ता नलागेपनि आयुर्वेद एवं वैकल्पिक चिकित्साका उपचार विधि र औषधि प्रयोग गरी संक्रमणलाई केही हदसम्म कम गर्न सकिने बताउँछन्। त्यसो त आयुर्वेदमा महामारी नियन्त्रणमा सघाउ पुग्ने थुप्रै औषधि प्रयोगमा रहेको उनकाे भनाइ छ। 

महामारीको समयमा संक्रमितले मात्र नभई स्वस्थ व्यक्तिले पनि शारीरिक तथा मानसिक रुपमा आफूलाई बलियो राख्न अत्यावश्यक छ। शारीरिक रुपमा स्वस्थ राख्न दैनिक व्यायाम, पोषिलो खानेकुरा, प्रतिरोधी क्षमता बढाउने जडीबुटीयुक्त आहार सेवन गर्न सुझाव दिँदै उनले योगाभ्यास तथा ध्यानबाट मानसिक स्वास्थ्य हासिल गर्न सकिने बताए। 

सरकारले समुदायस्तरमा कोरोना संक्रमण फैलिन नपाओस् भनेर अन्यन्त्रबाट आएका नेपाली तथा विदेशी नागरिकलाई क्वारेन्टिनमा राख्ने गरेकाे छ। अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भनेर संक्रमितलाई ‘आइसोलेसन’मा राख्ने पनि गरिएको छ। सामान्यतया १४ दिन आइसोलेसनमा राखिने विश्वव्यापी प्रचलन भए पनि कतिपय अवस्थामा संक्रमितलाई २ साताभन्दा बढी आइसोलेसनमा राख्नुपर्ने पनि देखिएको छ। 

‘क्वारेन्टिन तथा आइसोलेनमा रहँदा मानिस मानसिक तनावले गर्दा रोगसँग लड्ने शक्ति (इम्युनिटी पावर) झनै घट्दै जान्छ,’ प्रा.डा. रोकाले भने, ‘त्यसका लागि आयुर्वेद एवं वैकल्पिक चिकित्सामा वर्णन गरिएका योग अभ्यास एवं सत्तवाजय चिकित्साबाट उपचार गर्दा मानसिक तनावलाई कम गर्न सकिन्छ, साथमा वेद एवं आयुर्वेदको चरकसंहितामा वर्णन गरिएका तनाव कम गर्ने खालका औषधिको प्रयोग गर्नु वाञ्छनीय हुन्छ।’ 

उनले मन्डुकपणि, ब्राम्मी, शङ्खपुष्पी, जोतिषमति, बोझो, जटामासी, अश्वगन्धा आदि औषधि प्रयोग गर्दा मानसिक स्वास्थ्य बलियो राख्न सकिने बताए। ‘भाइरससँगै पूरै लड्न सक्ने शारीरिक रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न चरकसंहिताअन्तर्गत रसायन चिकित्साका लागि प्रयोग हुने औषधि जस्तो तुलसी, हरिद्रा, जेठीमधु, द्राक्ष्य, सतावरी, अमला, पाँचऔँले, चिराइतो, गुर्जो (गिलोइ), कपिकक्षु, भुइँअमला, बासा, हरितकी, पदमचाल, यार्सागुम्बा, मुसली, शिलाजित, निरमसीलगायत औषधिको साथमा प्राङ्गारिक र सुपाक्ष्य पौष्टिक खाना खानुपर्छ,’ उनले भने।

जङ्कफुड भन्दा प्राकृतिकरुपमा पाइने गेडागुडी, दाल, हरियो, सागसब्जी, दूध र प्राकृतिक भिटामिन च्यवनप्राश खान उनले सुझाव दिए। प्रोटोकल बनाउने विज्ञ टोलीका सदस्यसमेत रहनुभएका प्रा.डा. रोकाले भने, ‘वेदमा लेखिएका कतिपय कुरा व्यवहारमा वैज्ञानिक र व्यवहारिक देखिएका छन्। त्यहीअनुसार आयुर्वेद ग्रन्थमा लेखिएको औषधि एवं चिकित्साका विधि किन प्रयोग नगर्ने‍ ?’ 

भान्छामा दैनिक प्रयोग हुने टिमुर, खुर्सानी, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्मु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्ने आयुर्वेदज्ञाताले बताउने गरेका छन्। बेसारले ‘एन्टिसेफ्टिक’, ‘एन्टिटक्सिन’ औषधिका रुपमा काम गर्छ। यसबारे अथर्वेद र आयुर्वेदमा पनि व्याख्या गरिएको छ। क्वारेन्टिन तथा आइसोलेनसमा बसेका मात्र होइन आम नागरिकले पनि आफूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न प्राकृतिक आहार र दैनिक ध्यान तथा योगाभ्यास गर्न उनले सुझाव दिए। प्रतिरोधी क्षमता विकास गर्न सूर्य नमस्कार, गरुडासन, भुजाङसन, तडासन, चतुराङ दण्डासन, आधोमुख श्वानाशनलगायत योगासन गर्न उनकाे सल्लाह छ। त्यस्तै भस्त्रिका, अनुलोमविलोम, भ्रामरी र कपालभाती प्राणायम गरेर पनि प्रतिरोधी क्षमता बढाउन सकिने उनकाे भनाइ छ ।  

प्रकाशित: २ असार २०७७ ०९:०६ मंगलबार

काेराेना रोकथाम नियन्त्रण र उपचार प्रतिरोधात्मक क्षमता