स्वास्थ्य

अग्रपंक्तिमा खटिने महिला स्वास्थ्यकर्मी समस्यामा

कोरोना भाइरस (कोभिड–१९)को महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका छन् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी। सञ्चारकर्मी र सुरक्षाकर्मीको तुलनामा स्वास्थ्यकर्मी बढी जोखिममा छन्। कोरोना संक्रमित बिरामीसँग प्रत्यक्ष सम्पर्कमा काम गर्नुपर्ने भएकोले जोखिम कम गर्न स्वास्थ्यकर्मीले आवश्यकता परेको बेला व्यक्तिगत सुरक्षा पोसाक (पिपिई) लगाउँछन्। त्यही पिपिईको कारण महिला स्वास्थ्यकर्मीले थप समस्या झेल्नु परेको छ।

चितवनको भरतपुर महानगरपालिका १० बाइपासरोडस्थित भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला प्रमुख डा. नितु अधिकारी पिपिई लगाएर दस घण्टाभन्दा बढी लगातार काम गर्नु पर्दा पिसाब गर्न समस्या परेको बताउँछिन्। ‘पिसाब लागेपछि बारम्बार शौचालय जानुपर्ने हुन्छ,’ डा. अधिकारी भन्छिन्, ‘पिपिई पटकपटक खोल्ने र लगाउने गर्न मिल्दैन। पिपिई खोलेपछि पुनः लगाउन हुँदैन। यो समस्या समाधानका लागि डाइपर लगाएर काम गरिरहेका छौँ।’ पर्याप्त मात्रामा पिपिई नहुँदा एकदिनमा एउटै पिपिईले काम चलाउनु पर्दा यस्तो समस्या झेल्नु परेको उनले बताइन्।

भरतपुर कोभिड प्रयोगशालामा १२ जना कर्मचारी कार्यरत छन्। एकजना गार्ड र एक जना सरसफाइ कर्मचारीबाहेक बाँकी दस जनाले पिपिई लगाएर काम गर्नु पर्छ। पिपिई लगाउने दसमध्ये दुईजना महिला छन्। महिलालाई महिनावारीका बेला थप समस्या आउने गरेको छ। ‘पुरुषको तुलनामा ल्याब टेक्निसियन र मलाई महिला भएकै कारण महिनावारीको समयमा बढी समस्या झेल्नुपर्छ,’ डा. अधिकारी भन्छिन्, ‘महिनावारी भएका बेला काममा खटिँदा हामीले बिहान लगाएर आएको सेनिटरी प्याड एकैपटक बेलुका कोठामा पुगेर फेर्ने गरेका छौँ।’

पिसिआर मेसिन एउटामात्र भएको र जनशक्ति पनि कम भएकोले बिहान सात बजेदेखि राति १२ बजेसम्म काममा खटिनुपरेको उनले सुनाइन्। जनशक्ति र पिसिआर मेशिनको अभावमा सिफ्टमा काम गर्न नसकिएको प्रयोगशाला प्रमुख डा. अधिकारी बताउँछिन्। त्यही एउटा पिसिआर मेसिन पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट ल्याएर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक र प्राविधिकको लागि भरतपुरमा रहेको एक होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको छ। त्यही होटलबाट खाजा र खानाको व्यवस्था मिलाइएको डा. अधिकारीले जानकारी दिइन्।

सुरक्षित महिनावारी अभियन्ता एवं लेखक राधा पौडेल महामारीका बेला अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी महिलाहरुको यो समस्यालाई विश्वव्यापी समस्या बताउँछिन्। महामारीमा काम गर्दा पनि महिनावारीलाई मर्यादित बनाइनुपर्ने उनको धारणा छ। ‘अत्यावश्यक स्वास्थ्य सामग्रीमा सेनिटरी प्याड र डाइपरलाई समावेश गरी पिपिई सेटमै राख्नुपर्छ,’ उनी भन्छिन्, ‘प्याड वा डाइपर चार घण्टामा परिवर्तन गर्नु पर्छ। सरकारले प्याड वा डाइपर फेर्ने बेलामा पिपिई पनि फेर्न सक्ने वातावरण बनाई पर्याप्त मात्रामा पिपिईको व्यवस्था गर्नु पर्छ।’

स्वाबको चाप, जनशक्ति अभाव
सरकारले सातवटै प्रदेशमा पिसिआर प्रविधिबाट कोरोना संक्रमणको परीक्षण गर्न प्रयोगशाला राख्ने निर्णय गरेपछि विशेष राजनीतिक पहलमा भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला गत वर्ष चैत २४ गतेबाट सञ्चालनमा आएको हो। वागमती प्रदेशमा भरतपुर र प्रादेशिक राजधानी हेटौंडामा कोरोना परीक्षणका लागि प्रयोगशाला छन्। हाल भरतपुर अस्पतालअन्तर्गत राखिएको कोभिड प्रयोगशालामा पछिल्ला दिनहरुमा स्वाबको चाप बढेको छ।

वैशाख मसान्तसम्म औसतमा दैनिक ४० वटा स्वाबको नमुना परीक्षण गरिँदै आएको कोभिड प्रयोगशालामा जेठको पहिलो हप्ताबाट दैनिक एक सय र दोस्रो हप्ताबाट दैनिक दुई सयको हाराहारीमा स्वाब परीक्षण हुँदै आएको छ। ‘अहिले त दैनिक तीन सय स्वाब परीक्षण गर्नुपरेको छ,’ प्रयोगशाला प्रमुख डा. नितु अधिकारी भन्छिन्, ‘आठ सयभन्दा बढी स्वाब परीक्षण गर्नै बाँकी छ। अब पिसिआर मेशिन र जनशक्ति नथप्ने हो भने काम गर्न कठिन हुनेछ।’ भरतपुर कोभिड प्रयोगशालाबाट अहिलेसम्म चार हजारभन्दा बढी स्वाबको पिसिआर परीक्षण भइसकेको उनले जानकारी दिइन्। भरतपुरमा चितवनसहित नवलपरासी, धादिङलगायत अन्य जिल्लाबाट स्वाब संकलन भई पिसिआर परीक्षणका लागि आउने गरेको छ।

प्रकाशित: २ असार २०७७ ०४:३० मंगलबार

महिला स्वास्थ्यकर्मी