स्वास्थ्य

कर्णालीमा कोरोना संक्रमितको संख्या ९६७ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या नौ सय ६७ पुगेको छ । आइतबार ५२ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या नौ सय ६७ जना पुगेको हो । 

प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा दैलेखका ३७ र सुर्खेतका १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । दैलेखको नौमुले गाउँपालिकाका ३५ र नारायण नगरपालिकाका दुईजनामा कोरोना पृष्टि भएको हो ।

 त्यस्तै सुर्खेतको वीरेन्द्रनगरका एक, गुर्भाकोटका आठ, लेकबेंसीका एक र पञ्चपुरीका पाँचजनामा कोरोना पृष्टि भएको छ । ५२ जना कोरोना संक्रमितमध्ये एकजना महिला भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।  

हालसम्म हुम्लामा एक, मुगुमा दुई, डोल्पामा एक, जुम्लामा २४, कालिकोटमा २८, जाजरकोटमा आठ, दैलेखमा पाँच सय ३८, सुर्खेतमा दुई सय १२ र सल्यानमा एक सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेख अस्पतालबाट दुई र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एकजना निको भइ डिस्चार्ज भएको महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ९४ पुगेको छ ।

हालसम्म कर्णालीमा सुर्खेत, दैलेख र डोल्पाका एक÷एक गरी तीनजनाको मृत्यु भएको छ । कर्णालीमा पहिलो संक्रमित जेठ ५ गते भेटिएका थिए ।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०९:५५ आइतबार

कोभिड १९ कोरोना संक्रमण