स्वास्थ्य

पिसिआर प्रयोगशाला बनाउन दबाव

तीन महिना अघि सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा कोरोना परीक्षण गर्न पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएपछि दबाव दिन समिति गठन गरिएकोे छ । गत चैत १५ गतेको मन्त्रिपरिषद्को बैठकले धनगढी, बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । धनगढीमा प्रयोगशाला भए पनि बैतडी  र डोटीमा अझै प्रयोगशाला स्थापना हुन सकेको छैन ।

प्रयोगशाला बनाउन आवश्यक समन्वय गर्न र दबाब दिन जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिले प्रयोगशाला बनाउन प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । समितिमा स्वास्थ्य, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, राजनीतिक दलका पदाधिकारी सदस्य  रहेका छन् ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबारको बैठकले कोरोना परीक्षणको दायरा बढाउन प्रयोगशाला स्थापना अनिवार्य भएकाले प्रदेश सरकारले यसअघि गरेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । प्रयोगशाला स्थापना गर्न गत वैशाखमा जिल्लामा सम्भाव्यता अध्ययन गरिएको थियो ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ११:४७ शनिबार

प्रयोगशाला कोरोना परीक्षण पिसिआर