स्वास्थ्य

गण्डकी प्रदेशमा २७ डेंगु संक्रमित भेटिए

‘खोज र नष्ट गर’ अभियान

गण्डकी प्रदेशका ६ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेंगु र स्क्रब टाइफसको संक्रमणसमेत बढेको हो ।          

हालसम्म ती जिल्लामा डेंगुका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेंगु संक्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेको बताइन्छ ।  

त्यस्तै, गण्डकीका पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ  ।

निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेंगु संक्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजनाअनुसार लामखुट्टेको सर्वे गरिएको बताए ।

उनका अनुसार बेनी नगरपालिका र मंगला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकाले सो क्षेत्रलाई डेंगु रोगको जोखिमयुक्त क्षेत्रमा राखी रोग नियन्त्रणका गतिविधि सुरु गरिएको छ ।      

‘खोज र नष्ट गर’ अभियान    

कास्कीलगायतका अन्य जिल्लामा समेत स्वास्थ्य संस्थामार्फत डेंगु संक्रमण फैलन नदिनका लागि  ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रम सुरु गरिएको निर्देशनालयले जनाएको छ ।  

डेंगु ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खालागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिरा देखापर्ने आदि लक्षण देखिन्छन् । डेंगुको उपचारसमेत हालसम्म पत्ता लाग्न सकेको छैन ।     

त्यसैगरी, स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको संक्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत जस्ता लक्षण देखिने भएकाले यसबाट जोगिन घर बाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् ।    

प्रकाशित: २९ जेष्ठ २०७७ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App