स्वास्थ्य

नगरपालिकालाई सुरक्षा सामग्री सहयोग

सुरक्षा समाग्री लिँदै दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापा । तस्बिरः नागरिक

नगरपालिका र जिल्ला अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र जिल्ला अस्पताल बैतडीलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई सजिलो होस भन्ने हेतुले संक्रमण रोकथामका सामग्री हस्तान्तरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । दशरथचन्द नगरपालिका मातहतका सम्पूर्ण स्वास्थ्य संस्था, पाटन नगरपालिका मातहतका सम्पूर्ण स्वास्थ्य संस्था र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरूका लागि सामग्री हस्तान्तरण गरिएको हो । सेनेटाइजर, ग्लोब्स, सर्जिकल मास्क, एन ९५ मास्क, इन्फ्रारेड थर्मोमिटर, साबुन, एप्रोन लगायतका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषबाट प्राप्त सामग्रीले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मीका लागि केही सहज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।  यसअघि कोषले क्वारेन्टिनमा बसेका महिलाका लागि डिग्नीटी किट वितरण गरेको थियो ।

प्रकाशित: २५ जेष्ठ २०७७ १३:२२ आइतबार

अस्पताल सुरक्षा सामग्री