स्वास्थ्य

संक्रमित अस्पताल आउँदा गुनासो, फर्किंदा खुसी

रोजगारीको क्रममा भारत गएका झापाका कचनकवल गाउँपालिकाका ऐयुब मियाँ घर फर्किंदा निकै दिन सीमापारि अलपत्र परे। घरनजिकै आइपुग्दा पनि आफ्नो भूमिमा पाइला टेक्न नपाउँदा उनी निकै रिसाएका थिए।

जेठ ४ गते उनीसँगै भारतबाट आएकाहरूलाई गाउँपालिकाले तयार गरेको क्वारेन्टिनमा राखियो। पिसिआर जाँच हुँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएपछि जेठ ९ गते उनीसहित २३ जनालाई झापाबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाइयो। बिपीमा सुरुका दुई दिन उनको लागि सीमामा अलपत्र पर्दाको अवस्थाझैं अनुभव भयो। ‘बोर्डरमा पनि निकै दुःख पाइयो। धरानमा पनि दुई दिन त साह्रै नराम्रो लाग्यो,’ उनले भने, ‘दुई दिनसम्म त बेकारमा आएँछु जस्तो नै भयो।’

उनका अनुसार बिपीमा राति ११ बजेतिर मात्र खाना र डाक्टर देख्न पाइएको थियो थियो भने भोलिपल्ट बिहान चिया, नास्ता पनि खान पाइएन। एकैचोटि दिउँसो एक बजे खाना आयो, त्यो पनि नराम्रो। उनले खाँदाखाँदै छोडे, अरूले पनि खाएनन्। ‘कोरोनाबाट जोगिन आफ्नो घर आएको, खानै नपाएर पो मरिन्छ कि जस्तो पो भयो,’ उनले भने, ‘त्यसपछि झापाका चिनेजानेका नेताहरूलाई फोन गरेर सबै भने।’

संयोग नै भनौं, उनले झापाका नेताहरूलाई फोन गरेपछि तेस्रो दिनदेखि भने बिपीमा राम्रो व्यवस्था हुन थाल्यो। बिहान पनि समयमा नै चिया, नास्ता आयो। खाना पनि राम्रो आउन थाल्यो। प्रतिष्ठानको आइसोलेसनमा १२ दिन बिताएका तिनै ऐयुब सोमबार राति डिस्चार्ज भएर घर फर्किंदा निकै खुसी थिए।

दुई पटक पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि मियाँसहित १८ जनालाई डिस्चार्ज गरिएको थियो। तीमध्ये धरानकी एक महिला थिइन् भने अरू सबै झापाका थिए। उनीहरूलाई धरानका मेयर तिलक राई, बिपीका अस्पताल निर्देशक डाक्टर गौरीशंकर साह, सहायक निर्देशक डाक्टर विकास साह, मेट्रोन उपेन्द्र यादव, फोकल–पर्सन डाक्टर इन्द्र लिम्बुलगायतले बिदाइ गरेका थिए।  

डिस्चार्ज भएपछि मियाँले आफूहरूलाई धेरै राम्रो व्यवस्था गरेर राखेको भन्दै उनले नेपाल सरकार, अस्पताल र स्वास्थ्यकर्मीहरूलाई धन्यवाद पनि दिए। उनले त नेपाल सरकारलाई भारतीय हजार रूपैयाँ दान गर्न पनि खोजेका थिए। तर उनको पैसा कसैले पनि लिएनन्।  

‘हामीलाई यति राम्रो व्यवस्था गरेर राख्यो, राम्रो खाना दियो। त्यसैले सरकारलाई सहयोग गर्न मन लागेर हजार भारु दिन्छु भनें तर लिन मानेनन्। झापामा नै सिडिओलाई दिनु भने,’ नागरिकसँग मियाँले भने, ‘मैलेजस्तै सबै नेपालीले हजार–हजार दिने हो भने कति हुन्छ ?’

प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवका अनुसार बिपीमा संक्रमितहरूलाई व्यवस्थित रूपमा राखिएको छ। बिहान सात बजे र दिउँसो तीन बजेतिर नास्ता दिइन्छ भने दिउँसो एक बजे र राति आठ बजे खाना दिने समय तालिका बनाइएको छ। यस्तै, बेलाबेला चिया पनि दिइन्छ। ‘तातो पानी, चाहिएको बेला औषधि पनि दिन्छौं। कोलगेट, पोस्ट, ब्रस, चप्पल जेजे माग हुन्छ, सबै दिएका छौं,’ मेट्रोन यादवले भने, ‘उहाँहरू सन्तुष्ट नै हुनुहन्छ।’

प्रकाशित: २२ जेष्ठ २०७७ ०३:४५ बिहीबार

अस्पताल कोरोना संक्रमित