स्वास्थ्य

बालबालिकालाई आशावादी बनाऔं

सुनिता खड्का

सुनिता खड्का  

निर्देशक तथा मनोविमर्शकर्ता, सुनगाभा वाटिका नेपाल

बालबालिकालाई सुरक्षित वातावरण चाहिन्छ किनभने बालबालिका परिपक्व हुँदैनन् । उनीहरूसँग सीप, ज्ञान र अनुभव कम हुन्छ । उनीहरूलाई सुरक्षा, सहयोग र सामाजिकिकरणको आवस्यकता हुन्छ । उनीहरू अबोध र निर्दोष हुन्छन् । उनीहरू प्रतिकार गर्न र आफ्नो रक्षा आफैं गर्न सक्दैनन् ।  

वालवालिकाको सुरक्षा गर्नु वयस्क, अभिभावक र राज्यको दायित्व हो । बालबालिकाले परिवारबाट आफ्नो मूल्य, मान्यता, धारणा, विश्वास आदि सिक्छन् । उनीहरूले सिकेका सीप छिमेकी र समाजसँग जोडिँदै परिस्कृत हुँदै जान्छन् । विशेषतः अभिभावकले बालबालिकालाई सधैं पे्ररणा र हौसला दिँदै सहजकर्ताको भूमिका बहन गर्नुपर्छ । उनीहरूलाई सधैं उत्प्रेरणा दिनुपर्छ । यसो गर्नाले बालबालिकको आत्मबल बढ्छ जसले गर्दा उनीहरूमा नेतृत्व क्षमता विकास हुन्छ ।  

प्रायः अभिभावक शैक्षिक ज्ञानलाई प्राथामिकतामा राख्छन् । त्यसले गर्दा बालवालिकामा व्यावहारिक ज्ञानको कमी हुन्छ । आज बालबालिकालाई दया, माया, सहानुभूति,   लचकता, एकाग्रता, खुसी, रीस, आवेग र तनाव आदि जीवन उपयोगी शिक्षणमा कमी भएको हो कि भन्ने महसुस हुन थालेको छ ।  

यतिबेला कोरोनाबाट बच्न हामी लकडाउनमा छौं । लाग्छ हामीले व्यस्त जीवनशैलीबाट केही समयका लागि आराम पाएका छौं । यो समयमा हामी सन्तानलाई हाम्रा भोगाइका, सिकाइका र अनुभवका अंश बाँड्न सक्छौं । यसले उनीहरूलाई धैर्यवान्, दयावान् र संघर्षशील बनाउन मद्दत गर्दछ । र, सत्कर्ममा विश्वास राख्ने असल नागरिक बनाउन सकिन्छ ।  

अब हामी संकटकालको कुरा गरौं । संकटले दिनचर्यामै परिवर्तन ल्यायो भने बालबालिका आत्तिने र डराउने गर्छन् । उनीहरूमा छटपटी हुन्छ । त्यसैले दुःखी बन्छन् । लकडाउनले पनि धेरै बालबालिकामा तनाव जन्माएको छ । उनीहरूलाई साथी चाहिन्छ । धेरै खेल्न मन लाग्छ । अब म घरभित्रै बसेर कसरी दिन बिताउने भनेर सोचमा पर्छन् । आफैंसँग प्रश्न गर्न थाल्छन् ।  

यस्तो अबस्था आउनुअघि जिम्मेवार अभिभावकले अहिले के भइरहेको छ ? किन यस्तो भएको हो ? कहिलेसम्म यस्तो हुन सक्छ ? आदि प्रश्नका विषयमा बालबालिकासँग छलफल गर्नुपर्छ । र, यस्तो बेला गर्ने कामका योजना बनाउनुपर्छ । आपसी सहमतिमा योजना बनाएमा बालबालिकामा स्वामित्वको भावना विकास हुन्छ । जिम्मेवारीे पनि बोध हुन्छ । त्यसले उनीहरूमा एक किसिमको ऊर्जा बढाउँछ । अनि उनीहरू आफुभित्रका कला र सिकेका सीपका बारेमा विश्लेषण गर्न थाल्छन् । यसरी आफ्ना छोराछोरीलाई चिन्ने, बुझ्ने अनि उनीहरूका इच्छा र क्षमतालाई परिस्कृत गर्दै लान सकिन्छ । 

आशावादी बच्चा सधैं स्वस्थ्य प्रतिस्पर्धा गर्न, जोखिम लिन, समस्या समाधान गर्न र सकारात्मक सम्बन्धको अनुभव गर्न चाहन्छन् ।     

संकटमा वयस्कमा जस्तै बालबालिकामा पनि उनीहरूकै बुझाइअनुसारका शारीरिक, सामाजिक, भावनात्मक, आध्यात्मिक र मनोवैज्ञानिक कुरा मनमा खेलिरहन्छन् । बालबालिकाको स्वाभाव र पारिवारिक वातावरणले बालमनोविज्ञानमा महत्वपूर्ण भूमिका खेल्छ । संकटका बेलामा बालवालिकाको उचित हेरविचार र उनीहरूलाई विभिन्न क्रियाकलापहरू गराउन परिवारका सदस्य र अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । यस्तो बेलामा अभिभावकले ‘म यहाँ छु, म तिम्रो कुरा सुनिरहेको छु, तिमीले भनेका र गरेका कुरा बुझिरहेको छु । अघि बढ्दै जाऊ, तिम्रो कठिनाइलाई सहज बनाउन म तिम्रो पछाडि हुनेछु’ भनेर हौसला बढाउनुपर्छ । यस्तो सहयोगी व्यवहारले बालमनोविज्ञानमा सकारात्मकता, कृतज्ञता, सम्बन्धको महत्व, शव्द चयन र भाषाको प्रयोग, लचकता, माया, श्रद्धा, सम्मान र विश्वासको धारणा विकास हुन्छ ।  

अब संकटका बेलामा परिवारले अपनाउनुपर्ने रणनीतिको चर्चा गरौं ।  

बच्चाको अद्वितीय इच्छालाई चिन्नुहोस्–बालबालिकालाई आत्मअन्वेषण र उत्कटताको खोजी गर्न सहयोगी भूमिका खेल्नुहोस् । सबै बालबालिकामा एकै किसिमको क्षमतार इच्छा हुँदैन । त्यसैले आफ्ना बच्चाका हरेक गतिविधि अवलोकन गर्नुहोस् र उसको इच्छा केमा छ त्यो पनि बुझनुस् । प्रश्न सोध्नुस र बच्चाले उसको सपनाको बारेमा सुनाइरहँदा सक्रिय श्रवण गरी बीचबीचमा उसका भनाइहरू अझ स्पष्ट, रोचक र विषयवस्तुमा केन्द«ीत बनाउन उत्प्रेरकको भूमिका खेल्नुहोस् । उसको इच्छा र क्षमता जे छ त्यसलाई सम्मान गर्नुहोस् र उसलाई पनि त्यसमा गर्व महसुस गराउन सहयोग गर्नुहोस् । बालबालिकालाई केन्द्रित गरेर आयोजना गरिएका विभिन्न प्रतियोगितामा सहभागिता जनाउन हौसला दिनुहोस् ।

सीमित घेराभन्दा बाहिर सोच्नुहोस–हामी अभिभावकमा धैर्यता, सुन्ने शक्ती र समानुभूति अत्यन्तै चाहिन्छ । सधैं निर्देशनले काम गर्दैन । संकटका बेलामा अभिभावकले कार्यक्रम तालिकाबारे कडा नियम पालना गराउने र काम गर्न दबाब दिएमा बच्चामा तनाव बढछ । यसबाट उसको मनमा नकारात्मक सोच आउँछ । त्यसैले कहिलेकाहीं कुनै गतिविधि अनियमित र विनायोजना तयार गरी बालबालिकालाई नसोचेको खुसी दिन सकिन्छ । संगीत र नृत्यमा रुचि छ भने यही बेलामा कुनै गीत गाउने वा नृत्य गर्ने र प्रस्तुत गरी रेकडिङ गर्ने र अरूलाई पनि देखाउने । यसबाट अरूलाई पनि प्रेरणा मिल्न सक्छ । संकटका बेलामा उनीहरूलाई आफुले चाहे जस्तो तरीकाले हेरचाह गर्नेभन्दा पनि उनीहरूकै योजनामा सहयोगी बनियो भने उनीहरू खुसी बन्छन् ।  

बच्चालाई आशावादी बनाउने– उमेर समूहअनुसार उनीहरूलाई समयसमयमा आएका दैवी प्रकोप, नसोचेका घटना, असफलताका कथा, संघर्षका कथा, सम्वन्धमा आउने उतारचढावको चर्चा गर्दै त्यसबाट कसरी पार पाउन सकिन्छ भन्ने सिकाउनुपर्छ । धैर्यता, समानुभूति र इमान्दारीले कसरी विजय हासिल गर्न सकिन्छ र पराजय भोगेका खण्डमा हामीले यसबाट के सिक्ने ? त्यो बताइदिनुपर्छ । त्यसो भएमा अर्को पटक सफलता मिल्न सक्छ । आशावादी बच्चा सधैं स्वस्थ्य प्रतिस्पर्धा गर्न, जोखिम लिन, समस्या समाधान गर्न र सकारात्मक सम्बन्धको अनुभव गर्न चाहन्छन् ।

आफ्नो निर्णय नलाद्नुस्– तपाइँलाई के मन पर्छ र के गर्न चाहानुहुन्छ त्यो तपाईंको व्यत्तिगत चाहाना हो । बच्चाको पनि त तपाईंको जस्तै आफ्नै योजना, चाहना र इच्छा हुन्छन् । त्यसैले बच्चालाई बच्चा नै हुन दिनुहोस् । बच्चाको इच्छा र चाहाना बेलाबेलामा परिवर्तन भइरहन्छन् । उनीहरूलाई एउटा विधामा लागेपछि त्यसैमा मात्र केन्द्रित हुन दबाब नदिने । बच्चाले कति सिक्यो वा सिकेन भन्दा पनि वर्तमानमा बच्चा कति स्वतन्त्र र खुसी छ ? यसले नै बच्चामा सकारात्मक सोच विकास गर्छ । र, अभिभावकको सहभागितालाई स्वागत गर्छ ।  

संकटसँग सम्वन्धित कार्यक्रम बनाउने–बालबालिकालाई संकटको समयलाई सकारात्मक रूपमा सामना गर्दै समस्यालाई उनीहरूको स्तर, क्षमता र दक्षताअनुसार कसरी समाधान गर्ने भन्ने सीप र विधिको विकास गराउन सकिन्छ । यस्तो बेलामा बालवालिकाको साथीसँगको सम्बन्ध विस्तार, सहयोग गर्ने, छलफल गर्ने र नयाँ योजना बनाउने र सामाजिक संजालका माध्यमबाट यसलाई आपसमा आदानप्रदान गराउन सकिन्छ । यसमा संकटको समयसँग सम्वन्धित चित्र, कथा, संवाद, अडियो रेकर्ड र भिडियो रेकर्ड गर्ने । यसले गर्दा बालबालिकाको व्यतिmत्व विकास हुने र भविष्यमा आउने चुनौतीमा पनि उनीहरू नभाग्ने बरु यस्तोमा आफ्नो भूमिका खोज्ने र समाधानका उपाय खोजी गर्ने बानी विकास गराउँछ ।  

ऊर्जाका स्रोत–हाम्रो सम्पुर्ण योजनालाई सक्रिय रूपमा सहभागी भएर सफल बनाउन हामीमा चार प्रकारका ऊर्जा चाहिन्छ । पहिलो, हामी शारीरिक रूपमा स्वस्थ्य रहन दैनिक खानामा पोषण तत्वको मात्रा मिलाएर खानुपर्छ । दोस्रो, हामी मानसिक रूपमा स्वस्थ्य रहन कम्तीमा ६ देखि ८ घण्टासम्म सुत्नुपर्छ । तेस्रो, हाम्रो मनलाई सफा र स्वस्थ्य राख्न श्वासप्रश्वास र योग अभ्यास गर्नुपर्छ । र, चौंथो ऊर्जा हाम्रो योजनालाई पृथक् र प्रभावकारी बनाउन स्वस्थ्य र सक्रिय दिमाग चाहिन्छ । त्यसैले दिमागमा नचाहिने कुरा नराख्ने, नसोच्ने । सकारात्मक सोच्ने, खुसी हुने । हाँस्नेहँसाउने खेल खेल्ने र टिभीमा पनि आफुले हेर्ने गरेका कार्यक्रम मात्र हेर्ने अनि आरामदायी सफा ओच्छयानमा किताब पढ्दै सुत्ने ।  

यस संकटको घडीमा वालवालिकाको हितका लागि सहयोगी बनौं । बालबालिकाविरुद्व हुने सबै खालका हिंसाको अन्त्य गरौं । यसरी बालबालिका र अभिभावक दुवै घरमा बसिरहेको अवस्थामा सँगै मिलेर गर्न सकिने गतिविधिले पनि बालबालिकाको मनोवल उच्च राख्न पे्ररणादायी भूमिका खेल्न सक्छ ।  

यहाँ म केही अनुभव बाँड्दै छु । हामी मिलेर ऐक्युरियम, चिडिया घर, विभिन्न पोशाक, खाना, यातायात, कोभिड १९, फिल्पबुक आदिको विस्तृत योजना बनाउन सक्छौ । जसले गर्दा घरमै भएका सामान प्रयोग गर्न सकिन्छ । यसले सिर्जनात्मक सीप विकास गराउँछ । हामी बीचको सम्बन्धको जानकारी दिन्छ । जिम्मेवारीको कुरा गर्छ । प्रस्तुतीकरण गर्ने क्षमता बढाउँछ । यसको क्षेत्र ठूलो र धेरै विषय भयो भने रोचक हुन्छ । सक्रिय सहभागिताले दिएको ज्ञान र सीप स्विकार्य र आजिवन सम्झनयोग्य बन्छ । यो योजनाको स्तर र गुणस्तर बच्चाको उमेर समूहअनुसार परिस्कृत गरी छुट्टाछट्टै योजना बनाउन सकिन्छ ।  

यो त एउटा मोडल मात्र हो । तपाइँ आफ्ना बच्चाको सहमतिमा उनीहरूले आवश्यक ठानेका र मन पर्ने विषयवस्तुमा धेरै राम्रा र प्रभावकारी योजना बनाउन सक्नुहुन्छ । कम नआँकौं, हाम्रा बालबालिका सक्रिय र सिर्जनशील छन् ।  

प्रकाशित: १७ जेष्ठ २०७७ ००:३३ शनिबार

जूनकीरी विविध बालबालिका