स्वास्थ्य

टेलिफोनबाटै विशेषज्ञ सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पुजनकुमार रोकायाको मोबाइलमा एकाबिहानै घण्टी बज्यो। मोबाइलमा नयाँ नम्बरबाट फोन आएको थियो। नयाँ नम्बर देखिने बित्तिकै डा. पुजनकुमारले अड्कल काटिहाले, ‘यो फोन पक्कै पनि कुनै बिरामीको हुनुपर्छ । अघि पछि आफ्नो मोबाइलमा सेभ गरिएका नम्बरबाट फोन आइरहन्थे।त्यो फोन नम्बर बिल्कुल नयाँ थियो। ’

डा. रोकायाले फोनको रेस्पोन्स गरे। साच्चिकै त्यो फोन बिरामीको रहेछ। हेलो भन्न नपाउदै बिरामीले आफ्नो स्वास्थ्य समस्या दर्शाउन थालिहाले। ‘म बाथको बिरामी हो। अस्पतालमा आउकी के गरौँ,कोरानाका कारण सदरमुकाम खलंगामा आउन पनि कठिन छ डाक्टरसाप, औषधि सेवन गरिराखेको छु। ’डा. रोकायाले जवाफ फर्काए ‘तपाई तत्काल अस्पताल आउनु पर्दैन्, औषधि सेवन गर्नुस, आराम बढि गर्नुस, परिस्थिती सहज भएपछि मात्र अस्पतालमा आउनुहोला। पटक पटक परामर्श लिइराख्नुहोला। ’

डा.पुजनको जवाफले बिरामी निकै सन्तोष भए। एक दिन लगाएर अस्पतालमा घण्टौ लाइन बसेर चेकजाँच गर्नु भन्दा घरबाटै परामर्श लिन पाउँदा निकै उत्साहित थिए। सायद फोन गर्ने बिरामीले डा. पुजनकुमारसंग पटक पटक स्वास्थ्य जाँच गराइसकेका थिए।  कोराना भाइरसका कारण भइरहेको लकडाउन भित्र अस्पताल जान पनि निकै सकस भइराखेको थियो। डाक्टरसापको त्यो जवाफले निकै सहज बनायो। लकडाउनपछि अस्पताल आउने सर्तमा उनले फोन राखे। यो कोराना भाइरसको संक्रमण फैलिइरहेको बेला भिडभाडमा जानुहुदैन् भन्ने हेक्का राखेका बिरामीले बल्ल टेलिफोनबाट असल काम भएको अनुभुति गरे। ’ फोन संवादबाटै बिरामीले आवश्यक स्वास्थ्य परामर्श लिन पाउँदा निकै उत्साहित भएको डा. पुजनकुमार बताउँछन्। स्वास्थ्यमा समस्या आउने बित्तिकै फेरी फोन सम्पर्कमा आउने भन्दै उनी विदा भए।  

हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रोकाया त उदाहरण मात्र हुन्। पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लकडाउनमा अस्पतालमा भिडभाड हुन नदिन भन्दै ओपिडि समयमा विशेषज्ञ चिकित्सकसंग फोन संवादबाटै स्वास्थ्य समस्याका बारेमा आवश्यक परामर्श लिन सकिने व्यवस्था गरेको छ। हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. पुजनकुमार रोकाया,सर्जरी विशेषज्ञ डा. सुर्यमान लिम्बु,मेडिसिन विशेषज्ञ डा. धिरज गुरुङ,बालरोग विशेषज्ञ डा.निराजना कायस्थ,इमरजेन्सी हटलाइन सेवाका लागि डा. सिदार्थध्वज खाती,र स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. राजिव शाह संग टेलिफोन संवाद गरेर सेवा लिन सक्ने व्यवस्था गरेको छ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले अस्पतालमा भीडभाड कम गर्न टेलिफोनबाटै विशेषज्ञ सेवा दिन सुरु गरेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँछन्।  कोरोना भाइरसको जोखिम बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोनबाट विशेषज्ञ सेवा सुरु गरेका हौँ, रजिष्टार काफ्ले भन्छन्,‘ संसारभर फैलिएको कोरोना भाइरसको त्रासले जोखिम बढ्ने भएकोले अस्पतालले टेलिफोनबाटै सुविधा दिने गरी निर्णय गरेको हो। अहिले फोन गरेर बिरामीले चिकित्सकीय सेवा लिइराखेका छन्। ’

‘जोखिम कम गर्न र अस्पताल आउन नसक्ने बिरामीको लागि टेलिफोन मार्फत विशेषज्ञ सेवा सुरु गरेको हो,’ उनले भने, ‘टेलिफोन सेवाका साथै अस्पतालमा पनि ओपीडी चलिरहेको छ भने इमर्जेन्सी सेवा त छँदैछ।’ संकटपुर्ण घडिमा सहजै रुपमा स्वास्थ्य सेवा प्रदान गर्न अनेकौँ विकल्प अपनाइरहेको अस्पताल प्रशासन बताउँछ।  

यहाँ टेलिफोन सञ्चो विसञ्चो आदानप्रदान गर्ने साधनका रुपमा मात्र प्रयोग भइरहेको थियो। सुखदुख साट्ने साथी बनेको थियो । तर टेलिफोनबाट स्वास्थ्य सेवा पनि लिन सकिन्छ भन्ने उदाहरण बन्यो ‘जुम्लामा टेलिफोन सेवा। ’ फोनबाट रातादिन मायाप्रितीका शब्द आदानप्रदान मात्र हुदैनन्, आवश्यक स्वास्थ्य सेवा पनि हासिल गर्न सकिदोरहेछ, स्थानीय प्रदिप खड्काले भने,‘फोनबाटै स्वास्थ्य समस्या दर्शाउन पाउँदा बिरामी अस्पताल जानु पर्दैन्। अति अशक्त बिरामीलाइ फोन संवाद मार्फत अस्पतालमा पुर्याउन सकिन्छ। ’ पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिफोनबाटै विशेषज्ञ स्वास्थ्य सेवा दिने व्यवस्था गर्दा निकै राम्रो भइरहेको उनी बताउँछन्। उनले भने,‘टेलिफोनले सम्बन्ध तोड्न मात्र सघाउँदैन्, सम्बन्ध जोड्न पनि सिकाउँदो रहेछ। स्वास्थ्य, शिक्षा र सचेतना फैलाउन सकिदोरहेछ। ’

हुन त कर्णाली अहिले पनि रोग, भोक, अभाव अशिक्षाको प्रर्याय ठानिन्छ।स्वास्थ्य सेवाका हिसावले निकै पछाडी परेको क्षेत्रका रुपमा परिचित छ। तर कर्णालीमा स्वास्थ्य सेवा अब्बल छ। दक्ष जनशक्तिबाट स्वास्थ्य सेवा लिन सकिन्छ भन्ने कसैले ठान्दैनन्। अहिले डक्टरको मोबाइलमा घण्टी बज्यो भने पक्कै बिरामीको फोन आयो राम्ररी बुझ्न सकिन्छ।  

अस्पतालमा इमरजेन्सी, ओपीडी र शल्यक्रिया सेवा उपलब्ध छ। स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागि यो सुविधा प्रभावकारी हुने प्रतिष्ठानले जनाएको छ।  रजिस्ट्रार काफ्लेका अनुसार  प्रतिष्ठानले सुरु गरेको सेवा प्रति कर्णालीबासी सुन्तुष्ट हुनेछन्।  ‘डाक्टरहरुलाई   बिरामीले फोन गरिरहेको बताउनु भएको छ,’ रजिष्टार काफ्लेले भने, ‘बिरामीले बताएको समस्याको आधारमा औषधी सिफारिस गर्ने गरिरहनुभएको छ। घरबाटै बसिबसि स्वास्थ्य सेवा पाउदा निकै खुसि पोखिरहेका छन्।’

हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. पुजनकुमार प्रतिष्ठानले पहिलो पटक टेलिफोनबाटै विशेषज्ञ सेवा सञ्चालन गर्दा स्वास्थ्य परामर्श लिनेको संख्या बढ्दै गइरहेको बताउँछन्। प्रतिष्ठानले ६ जना विशेषज्ञ चिकित्सकको निजी फोनबाट विशेषज्ञ सेवा लिन सक्ने व्यवस्था मिलाएपछि गाउँबाट बिरामीले सिधैँ फोन गरेर स्वास्थ्य समस्यका बारेमा चासो राख्ने गरेका छन्।  

यो समयमा बिरामीलाइ औषधि सेवन गर्न, आवश्यक आराम गर्न र स्वास्थ्यको ख्याल गर्न सुझाव दिने गरिएको छ।  सर्जन डा. सर्यमान लिम्बु औषधि खादा समेत स्वास्थ्य समस्या नहटे सिधैँ अस्पताल आउनु भन्ने परामर्श दिने गरेको बताउँछन्।उनले च्याट, भाइबर, इमो लगायतबाट पनि विशेषज्ञ सेवाको परामर्श लिन सकिनेमा जोड दिए। सहजै रुपमा परामर्श दिदै औषधिको नाम लेखाएर वा म्यासेज गरेर भएपनि टिपाउने काम भइरहेको छ।  

 टेलिफोनबाटै विशेषज्ञ स्वास्थ्य सेवा दिन तयारी अवस्थामा बसेका छौँ,। फोन आउने बित्तिकै तत्काल रेसपोन्स गछौँ। जतिबेला पनि जस्तो सुकै रोगका बिरामी संग फोन संवाद मार्फत स्वास्थ्य सेवा दिन सकिने उनी बताउँछन्। बिरामीको अन्यौलता मेटाउन र बिरामीको अवस्थाको आधारमा बिरामीलाइ अस्पताल ल्याउने वा घरमै औषधि प्रयोग गर्ने भन्ने बिषयमा परामर्श दिन सकिन्छ।  

फोन संवादमा कोभिड १९ को बारेमा पनि सचेतना दिइन्छ । पत्थरी भएका बिरामीको अहिले अप्रेशन गर्न सकिने अवस्था छैन्। तर औषधि सेवन गरेर एक महिना सम्म होल्ड गर्न सक्छौँ। डा. लिम्बु भन्छन्,‘ औषधि खाएर ठिक नहुने भए अस्पतालमा बोलाउँछौँ। सामाजिक दुरी र ब्यक्तिगत कायम गरि उपचार ब्यवस्था मिलाउन सक्छौँ।’ खासमा बिरामीहरु ओपिडीमा आएर पनि भेट्ने नै हो। दिनु पर्ने सुझाव पनि उहि हो। अस्पताल ल्याउनै पर्ने बिरामीलाइ बोलाउने छौँ। ’ उनले बिरामीको फोनकलको पखाईमा रहेको बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिफोनबाटै विशेषज्ञ सेवा दिन थालेपछि ओपिडीमा चेकजाँच गर्ने बिरामीको संख्या घट्न थालेको छ।  प्रतिष्ठानको हटलाइन सेवा १६६०८७५२५५५ बाट पनि स्वास्थ्य समस्याको सल्लाह लिने सकिने व्यवस्था गरेको छ। 

प्रकाशित: १० जेष्ठ २०७७ ०३:४५ शनिबार

डाक्टर अस्पताल