स्वास्थ्य

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

स्वास्थ्य सेवा बिभागबाट प्राप्त स्वास्थ्य सामग्री अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङलाई हस्तान्तरण । तस्बिर : दमन राई / नागरिक

जिल्ला अस्पताल खोटाङमा सिसिआरका लागि स्वाब संकलन गर्न उपयोग गरिने भिटिएम लगायतका स्वास्थ्य सामग्री आइपुगेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट पिसिआरका लागि स्वाब संकलन गर्नेक्रममा उपयोग गरिने १० लाख ८५ हजार मूल्य बराबरको प्याकिङ मेटेरियल सहितको पाँच सय थान भिटिएम आइपुगेको हो । जिल्लामा पिसिआर गर्ने क्रम न्यून रहेको अवस्थामा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा स्वास्थ्य सामग्री आइपुगेको जिल्ला समन्वय समितिका प्रमुख एबं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङले बताए । विभागबाट भिटिएमका साथमा स्वाब स्टीक र जिप्लक व्याग आएको जिल्ला अस्पतालले जनाएको छ ।  

स्वास्थ्य सेवा बिभागबाट पाँच सय थान ¥यापिड टेस्ट किट, १६ लिटर सेनिटाइजर, ५० थान गाउन, २० पिस फेस सिल्ड, ५० थान एन ९५ मास्क, ५० थान सर्जिकल क्याप, एक हजार थान सर्जिकल मास्क, सय जोर पञ्जा, ३० थान सेफ्टी चश्मा, ५० जोर सु कभर र २० थान इन्फ्रारेड थर्मोमिटर प्राप्त भएको चाम्लिङले बताए । बुधबार बिभागमा पुगेर स्वास्थ्य सामग्री बुझेका प्रतिनिधिसभा सदस्य भट्टराईले बिहिबार जिल्ला अस्पतालमा कार्यक्रम गरेर जिल्ला समन्वय समितिका प्रमुख एबं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चाम्लिङलाई हस्तान्तरण गरेका छन् ।  

यसअघि प्रतिनिधिसभा सदस्य हिरा गुरुङको पहलमा राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक एबं सामाजिक अभियान्ता महाबीर पुनबाट १० पिस गाउन प्राप्त भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । प्रदेशसभा सांसदबाट पनि स्वास्थ्य सामग्रीको पहल हुने अपेक्षा गरिएको चाम्लिङले बताए । प्रतिनिधिसभा सदस्य भट्टराई स्वास्थ्य सामग्री लिएर जिल्ला आउँदा लकडाउनको पालना नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना गर्ने पनि देखिएका छन् ।  

प्रकाशित: ८ जेष्ठ २०७७ ०८:२६ बिहीबार

स्वास्थ्य सामग्री