स्वास्थ्य

रसुवामा आजदेखि सेल्फ क्वारेन्टिनमा बसेका व्यक्तिको आरडिटी परीक्षण सुरु

रसुवामा आजदेखि  सेल्फ क्वारेन्टिनमा बसेका व्यक्तिको द्रुत विधिबाट परीक्षण सुरु भएको छ । लकडाउनको समयमा विभिन्न जिल्लाबाट आएका व्यक्तिलाई सेल्फ क्वारेन्टिनमा राखिएको थियो ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार हाल जिल्लामा ४ सय ४४ जना सेल्फ क्वारेन्टिनमा बसेका छन् । तीमध्ये आजदेखि गोसाइँकुण्ड गाउँपालिकाको रसुवा अस्पताल, उत्तरगयाको डाँडागाउँ, नौकुण्डको पारच्याङ स्वास्थ्य चौकी र कालिकाको कालिका सामुदायिक स्वास्थ्य इकाई तथा जीवजीवे ग्रामीण अस्पतालबाट परीक्षण सुरु गर्न लागिएको हो ।

आरडिटी परीक्षण गर्न ल्याब टेक्निसियन आवश्यक पर्ने र आमाछोदिङमो गाउँपालिका बाहेक अन्य चारवटा गाउँपालिकामा टेक्निसियन भएका कारण पहिलो चरणमा चारवटा गाउँपालिकामा परीक्षण गरिने छ । जिल्लामा अहिले ८ जना ल्याब टेक्निसियन कार्यरत छन् ।

बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मंगलबार आरडिटी र भिटिएम उपलब्ध गराएसँगै परीक्षणअघि बढाइएको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए । केन्द्रले भिटिएम ४८ र आरडिटी किट ३ सय वटा उपलब्ध गराएको हो ।

जिल्लामा हालसम्म स्वाब कलेक्सनका लागि आएको ६१ वटा भिटिएम किटमध्य ३ वटा र ५ सय ४० आरडिटीमध्ये १ सय १७ वटा खर्च भइसकेको छ । यसअघि आरडिटी गरिएको गरिएका १ सय १७ जनाको कोरोना रिर्पोट ‘कोरोना नभएको अर्थात नेगेटिभ’ आएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०६:२० बुधबार

कोभिड १९ परीक्षण