स्वास्थ्य

१५ हजार संक्रमित हुन सक्ने प्रक्षेपण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा करिब १५ हजार व्यक्ति कोरोनाबाट संक्रमित हुन सक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विश्वको कुल जनसंख्याको ०.०५ प्रतिशतलाई कोरोना संक्रमण भएको पाइएकाले नेपालमा पनि सोही आधारमा १४ हजार आठ सय ९८ जना कोरोना संक्रमित हुन सक्ने मन्त्रालयले प्रक्षेपण गरेको हो । 

विश्व स्वास्थ्य संगठनले पनि हालको अवस्थामा कुल जनसंख्याको ०.०५ प्रतिशत संक्रमित हुन सक्ने औंल्याएको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले बताए । संक्रमितहरू समाजमै रहेकाले परीक्षणमार्फत मात्र पत्ता लाग्ने भन्दै परीक्षणको दायरालाई बढाउनुपर्ने मन्त्रालयका अधिकारीको भनाइ छ । ‘हामीले विश्वको अनुपातमा नेपालमा १४ हजार आठ सय ९८ जना संक्रमित हुन सक्ने प्रक्षेपणसहितको रिपोर्ट तयार पारेका छौं,’मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘रिपोर्ट स्वास्थ्यमन्त्रीलाई बुझाइसकेका छौं । प्रक्षेपणका आधारमा परीक्षणको दायरा बढाउने विषयमा उहाँ पनि सकारात्मक देखिनुभएको छ ।’ जनशक्ति र स्रोतसाधन नभएकाले मन्त्रालयको प्रक्षेपणअनुसार परीक्षणको दायरा बढाउन नसकेको मन्त्रालयको अधिकारीहरूको स्पष्टोक्ति छ । 

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले नेपालको कुल जनसंख्याका आधारमा ०.०५ प्रतिशत अर्थात् करिब १५ हजार संक्रमित हुन सक्ने बताए । ‘विश्वको अवस्था हेर्र्दा आजको दिनमा करिब १५ हजार नागरिक कोरोनाबाट संक्रमित हुन सक्छन् भन्ने हो । तर अहिले चार सय हाराहारीमा मात्रै संक्रमित भेटिएका छन्,’उनले भने, ‘प्रक्षेपण मात्र हो, हाम्रोमा यति ठूलो संख्यामा केस नहुन पनि सक्छ ।’ अहिलेको जनशक्तिले देखिएको केसका आधारमा परीक्षण गर्न लागिरहेको तर प्रक्षेपणका आधारमा जिल्लागत रूपमा परीक्षण गर्न नसकिएको उनको भनाइ छ । 

विश्वका अन्य कतिपय देशहरूमा ०.०५ प्रतिशत भन्दा बढी पनि केसहरू देखिएकाले त्यो भन्दा अहिलेकै रफ्तारमा केस बढ्ने हो भने त्योभन्दा बढी पनि पुग्न सक्ने मन्त्रालयका अधिकारीहरूको दाबी छ । कम्तीमा पनि १ प्रतिशत जनाको कोभिड परीक्षण पिसिआर प्रविधिमार्फत गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । विज्ञहरूको सुझाव र मन्त्रालयको प्रक्षेपणअनुसार अहिलेसम्म कम्तीमा पनि दुई लाख ६५ हजार पिसिआर पद्धतिबाट परीक्षण हुनुपर्ने हो । तर सोमबारसम्ममा ३० हजार सात सय २३ जनाको मात्रै पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 

प्रमुख विशेषज्ञ डा. पोखरेलले परीक्षणको दायरा बढाउन शंका लागेका व्यक्तिको परीक्षण, क्वारेन्टिन बसेका, नाकाबाट भागेर आएका व्यक्ति, फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, संक्रमितको सम्पर्कमा वा संक्रमितले शंका गरेका व्यक्ति, फ्रन्ट लाइनमा खटेका सुरक्षाकर्मी र फ्रन्ट लाइनमा रहेका पत्रकारहरूको पनि कोरोना परीक्षण अनिवार्य गर्ने बताए । त्यस्तै उनले अस्पतालमा उपचारका लागि आएका सामान्य र शंकास्पद बिरामीको पनि परीक्षणलाई अनिवार्य गर्ने बताए । यीबाहेक जिल्ला र स्थानीय तहले मूल्यांकन गरी कम्तीमा जिल्लाको जनसंख्याको अनुपातमा १ प्रतिशत परीक्षण गर्नुपर्ने मन्त्रालयको निष्कर्ष छ । 

स्वास्थ्य मन्त्रालयले ०.०५ प्रतिशत संक्रमित खोज्ने उद्देश्यले हाल पुलमा परीक्षण सुरु गरेको छ । क्वारेन्टिनमा बसेका र शंका लागेका एकै प्रकारका १० जनाको नमुना एकै ठाउँमा हालेर परीक्षण गर्न थालिएको छ । कुनै नमुनामा संक्रमण देखिए मात्रै १० जनाको भिन्नाभिन्नै परीक्षण गरिन्छ । पुल परीक्षणको निरन्तर रूपमा भइरहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए । 

एक महिनाभित्र दुई हजारमा संक्रमण : नेपाली सेना 

नेपाली सेनाले भने अबको महिना दिनभित्र कोरोना संक्रमितको संख्या करिब दुई हजार पुग्ने प्रक्षेपण गरेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार अहिले दैनिक रूपमा बढिरहेको संक्रमितको संख्या र भारत र चीनमा संक्रमण दरका आधारमा तुलना गर्दा नेपालमा आगामी एक महिनाभित्र करिब दुई हजारजना संक्रमित हुने सेनाको प्रक्षेपण रहेको छ । सेनाले गरेको प्रक्षेपणमा जनस्वास्थ्य विज्ञहरू भने विज्ञहरूको संलग्नता भएको छ÷छैन भन्ने खुल्नुपर्ने बताए ।

पूर्वसचिव सेनेन्द्रराज उप्रेतीले जनस्वास्थ्यको विषय हेर्ने स्वास्थ्य मन्त्रालय भएकाले स्वास्थ्य मन्त्रालयमार्फत प्रक्षेपण गर्दा राम्रो हुने सुझाव दिए । विज्ञहरूमार्फत प्रक्षेपण गरिनुपर्ने तर्क गर्दै उनले सेनाले गरेको मोडेलिङ हेरेर मात्र थप प्रतिक्रिया दिने बताए ।

प्रकाशित: ५ जेष्ठ २०७७ २१:१५ सोमबार

कोभिड १९ कोरोनाभाइरस