स्वास्थ्य

स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटा अस्पतालमा कार्यरत २३ बर्षिय स्टाफ नर्समा  संक्रमण पुष्टि भएको थियो । शनिबार चारजना स्वास्थ्यकर्मि र एकजना सुरक्षाकर्मीको स्वाव नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित विपीकोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको प्रयोग शालामा पठाइको थियो । संक्रमण पुष्टि भएपछि आइतबार राती संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।

सोही निर्णय वमोजिम धनकुटाको संक्रमित क्षेत्रलाई चार किल्ला कायम गरेर मानिसहरुको आवातजावत निषेध गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद गुरागाईले बताए । चारकिल्ला कायम गरेर संक्रमित क्षेत्रलाई सिल गरिएको छ, र सुरक्षाकर्मी परिचालन गरिएको छ,’उनले भने ।

धनकुटामा पहिलो पटक कोरोना भाइरस(कोभिड १९) संक्रमित भेटिएको हो । जिल्ला प्रशासनका अुनसार धनकुटाको वडा नं ७ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क, जिरो पोइन्ट, परिचय मोडे, यलम्बर चोक, सिनेमा हल, याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरिएको छ ।  

स्वास्थ्यकर्मीलाई विराटनगर पठाइयो

जिल्ला अस्पताल धनुकटाकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद गुरागाईले बताए । उनलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखिनेछ ।

संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिष्ट्री छैन । लकडाउन भएदेखि स्वास्थ्यकर्मीहरु बाहिर नगई नै नियमित अस्पतालमा उपचारमा खटिएकोले विरामीबाट नै कोरोना भाइरस सरेको प्रारम्भिक निष्कर्षमा पुगेको उनले बताए । ‘कोही पनि बाहिर गएको छैनौं, हामी चौबिसै घण्टा जसो सेवामा छौं,’उनले भने,‘त्यसैले कोही विरामीबाट नै कोरोना सरेको प्रारम्भिक निष्कर्षमा पुगेका छौं ।’ धनकुटामा बाहिरबाट धेरै मानिसहरुलाई ल्याइएको कारण पनि को बाट संक्रमण भयो भन्ने पत्ता लगाउन निक्कै गाह्रो हुने उनले बताए ।  

जिल्ला अस्पतालमा कार्यरत ५५ स्वास्थ्यकर्मीसहित ५ सयको हाराहारीमा कोरोना परीक्षण गरिने भएको छ । अस्पताल क्षेत्र सिल भएदेखि अड्किएका र कन्ट्याक्ट ट्रेसिङ गर्दासहितको ५ सयको परीक्षण गर्नुपर्ने उनले बताए ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०७:५२ सोमबार

कोभिड १९ कोरोनाभाइरस