स्वास्थ्य

संक्रमित आठै जनालाई दाङ पठाइयो

बाँकेको नरैनापुर गाउँपालिकामा भेटिएका कोरोना संक्रमित आठैजनालाई दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको छ। बाँकेमा आइसोलेसन कक्ष खाली नभएपछि उनीहरूलाई त्यहाँ पठाइएको हो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले संक्रमित सबैलाई एम्बुलेन्समार्फत दाङको आइसोलेसन अस्पतालमा पठाइएको जानकारी दिए। ‘नेपालगन्जबाट एम्बुलेन्स ल्याएर आठैजनालाई दाङ पठायौं,’ उनले भने।

नरैनापुरवासी त्रसित

भारतीय सीमासँग जोडिएको नरैनापुरका आठजनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित छन्। नरैनापुरका ६ वटै वडा नेपाल–भारत सीमासँग जोडिएका छन्। खुला सीमाका कारण भारतबाट संक्रमित भित्रिने उच्च जोखिम रहेको स्थानीयको भनाइ छ। नरैनापुरसँग जोडिएका छिमेकी गाउँपालिकाका राप्ती सोनारी र डुडुवाका सर्वसाधारण पनि उस्तै त्रासमा छन्।

नरैनापुरका विभिन्न नाकाबाट तीनचार दिनदेखि ठूलो संख्यामा नेपाली भित्रिएका थिए। गाउँपालिका अध्यक्ष साहका अनुसार शुक्रबारसम्म नरैनापुरमा करिब पाँच सयजना भारतबाट प्रवेश गरिसकेका छन्। ‘भारतबाट आउने क्रम रोकिएको छैन, स्थानीय स्रोत, साधनबाट उनीहरूको व्यवस्थापन गर्न निकै समस्या छ,’ अध्यक्ष शाहले भने, ‘संघीय र प्रदेश सरकारले केही सहयोग नगर्दा दुःख लागिरहेको छ।’ काम गर्न भारत पुगेका उनीहरू कोरोना त्रासका कारण फर्किएका हुन्। भारतबाट फर्केका व्यक्तिलाई गाउँपालिकाले विभिन्न विद्यालयको क्वारेन्टाइनमा राखेको छ।  

नरैनापुर स्वास्थ्य शाखाका उपसंयोजक नगेन्द्रकुमार शाहका अनुसार अहिलेसम्म ४५ जनाको स्वाबको पिसिआर परीक्षण गर्दा आठजनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। ‘अहिलेसम्म ४५ जनाको मात्रै पिसिआर टेस्ट भएको छ, अझै धेरै जनाको परीक्षण गर्न बाँकी नै छ,’ उनले भने। कोरोना भाइरस पोजेटिभ भएकाहरू नरैनापुर–१, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षका छन्। भेरी अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

संक्रमित मध्ये ६ जना तीन दिनअघि (वैशाख ३० गते) र बाँकी दुईजना एक साताअघि भारतबाट अवैध नाका हुँदै नरैनापुरमा प्रवेश गरेका थिए। ‘कोरोना संक्रमित आठमध्ये ६ जना वैशाख ३० गते र दुईजना एक हप्तापहिले आएका हुन्,’ शाहले भने। संक्रमित आठैजनाको कन्ट्रयाक्ट टे«सिङ गरिने उनको भनाइ छ। यसअघि नेपालगन्ज उपमहानगरपालिका–७ निवासी एक र वडा ८ का २४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। उनीहरू सबैको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।  

प्रकाशित: ३ जेष्ठ २०७७ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App