नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोवोट’ शुक्रबार एक कार्यक्रमवीच शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतल टेकु काठमाडौंलाई हस्तान्तरण गरिएको छ । अस्पतालहरुमा विरामीहरुलाई औषधि, पानी, खानालगायतका सामानहरु आफै दिन जाने स्वचालित रोवोट कलेजको वोर्ड अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित रोवोटलाई अस्पतालको आइसोलेशन वार्डमा प्रयोग गरिने जनाइएको छ । हस्तान्तरणसँंगै रोवोटको प्रयोय गर्ने नर्सहरुलाई रोवोट सञ्चालन सम्वन्धि अस्पतालमै रोवोट बनाउने शिक्षक तथा विद्यार्थीको समूहले अभ्यास गराएको थियो । झण्डै आधा दर्जन नर्सहरुले रोवोट सञ्चालन गर्न समक्ष भएपछि रोवोट अस्पतालमा छोडिएको थियो । यही क्रममा रोवोटलाई अस्पतालको आइसोलेसन वार्डवार्डमा लगेर डेमोसमेत गराइएको थियो ।
कार्यक्रमपछि कलेज र अस्पतालवीच सम्झौता भएको छ । सम्झौतामा कलेजकोतर्फबाट कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र अस्पतालकोतर्फबाट अस्पताल प्रशाशन शाखाका शाखा अधिकृत रुपनारायण खतिवडाले हस्ताक्षर गरेका छन् । रोवोट सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आइपरेमा निर्माण कार्यमा सहभागी प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाइदिने सहमति भएको हो ।
रोवोटको प्रयोगले रिसेप्सनमा हुने नर्सहरुलाई विरामीविरामीसम्म औषधि, पानी, खाना पु¥याउन जान नपरी सम्भावित संक्रमितबाट जोगाउन सहयोग गर्नेछ । अस्पतालको ट्रली सहयोगबाट कलेजका चार जना प्राध्यापक र चार जना विद्यार्थी गरी आठ जनाको समूहले रोवोट तयार पारेको थियो । कलेजका प्राध्यापकहरु सहायक प्राध्यापक रुपेशदही श्रेष्ठ, सहायक प्राध्यापक दिनेश डंगोल, सहायक प्राध्यापक सचिन श्रेष्ठ र सहायक प्राध्यापक अभिनास खत्री केसी तथा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरु उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठ यो रोवोटको विकास गर्न सफल भएका हुन् ।
परीक्षण गर्दा यसले ३० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता रहेकोले औषधि र खानाबाहेक अरु पनि आवश्यक सामानहरु रोवोटले वोक्न सक्ने क्षमता रहेको जनाइएको छ । करिव २५ हजारको सस्तो दररेटमा यसको निर्माण सम्भब भएको जनाइएको छ । रोवोट म्यानुल (रिमोट कन्ट्रोल) बाट चलाइने छ । रिसेप्सनमा बसेको एकजना नर्सले रिमोटबाट आवश्यकता अनुसार विरामीविरामीसम्मलाई आवश्यक औषधि, पानी, खानालगायतका सामान पुर्याउन लगाउने छ ।
कलेजका प्राचार्य प्राडा श्रेष्ठले अहिलेलाई एउटा मात्रै रोवोटको विकास गरिएको जनाए । सामाजिक उतरदायित्वलाई मध्यनजर गरी आफूहरुले रोवोट बनाएको प्राडा श्रेष्ठले जनाए । भविष्यमा नेपाल सरकार वा अन्य नियकाहरुबाट सहयोग भए प्राविधिक सहयोग गर्न कलेज तयार रहेको उनले स्पष्ट पारे ।
प्रकाशित: २ जेष्ठ २०७७ १३:४५ शुक्रबार