स्वास्थ्य

र्‍यापीड डाइग्नोस्टिक टेष्ट : एक व्यक्तिका दुई थरी रिपोर्ट (अपडेट)

खोटाङ– खोटाङको साकेला गाउँपालिकाका–२ रतन्छाका दुई जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) पोजिटिभ देखियो । गाउँपालिका आफैले दुई सय थान किट ल्याएपछि सोमबार र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्नेक्रममा दुबईबाट फागुन ११ गते काठ्माण्डौं ओर्लिएर बैसाख १२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष र उपचारका लागि मंसिरमा काठ्माण्डौं पुगेको अवस्थामा बैसाख १३ गते गाउँ आएका २३ वर्षीय युवाको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको हो ।

तर, पुन: जिल्ला अस्पतालबाट लगिएका टेष्ट किट प्रयोग गरेर हेर्दा दुबै जनाको रिपोर्ट नेगेटिभ देखायो । पुःन गाउँपालिकाले खरिद गरेको किट प्रयोग गरेर परिक्षण गर्दा पोजिटिभ नै देखाएको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा संलग्न जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । गाउँपालिकाको किट र जिल्ला अस्पतालको किटले फरक रिपोर्ट देखिएपछि अन्योल सिर्जना गरेको थियो । यद्यपी दुबै जनाको रिपोर्टलाई पोजिटिभ नै मान्नुपर्ने डा. श्रेष्ठले बताए ।

 ‘यसलाई पोजिटिभ मान्नुपर्छ । यो किटले इन्डिकेट मात्र गर्ने हो । पोजिटिभ मानेर पिसिआर गर्न पठाउनुपर्छ । पिसिआरबाट मात्र फाइनल रिपोर्ट आउँछ,’ डा. श्रेष्ठले भने, ‘पिसिआरको रिपोर्ट आएपछि मात्र अहिले देखिएको कफ्यूजन दुर हुन्छ ।’ गाउँपालिकाले खरिद गरेर ल्याएको किटले पोजिटिभ र प्रदेश सरकारले जिल्ला अस्पताललाई उपलव्ध गराएको किटले नेगेटिभ रिपोर्ट देखाएपछि केही थान किट प्रदेशमा पठाउने तयारी गरिएको छ । गाउँपालिकाले टेकु अस्पतालको सिफारिस अनुशार टेष्ट किट खरिद गरेर ल्याएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।  

५३ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्नेक्रममा दुई जनाको पोजिटिभ रिपोर्ट देखिएपछि जिल्ला ‘रेडजोन’मा परेको भन्दै सनसनी फैलिएको छ । पोजिटिभ रिपोर्ट देखिएका दुई जना र उनीहरुको परिवारको सदस्य सहित ६ जनाको पिसिआर परिक्षणका लागि रातारात थ्रोट स्वाव संकलन गरेर प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको छ । पिसिआरको रिपोर्ट नआएसम्मका लागि उनीहरुको घरलाई पूर्णरुपमा सिल गरिने गाउँपालिका अध्यक्ष खड्काले बताए । ‘पोजिटिभ देखिएका व्यक्तीको घरलाई सिल गर्छौँ, हिँडडुल र अरुको सम्पर्कमा जान रोक लगाउँछौँ,’ अध्यक्ष खड्काले भने, ‘गाउँ आउने वित्तिकै उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाले अरुलाई संक्रमण नसरेको हुनसक्छ ।’  

गाउँ आएपछि १४ दिन क्वारेन्टाइन बसेपछि हप्ता दिनसम्म होम क्वारेन्टाइनमा बस्नेगरी घर फर्किएका उनीहरुको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको हो । आरडिटि रिपोर्ट पोजिटिभ देखिए पनि उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको डा. श्रेष्ठले बताए । दुबईबाट आएका पुरुषसँग ३७ जना र उपचारमा गएका युवकसँग २२ जना एउटै गाडीमा गाउँ आएका थिए ।

 काठ्माण्डौंमा उनीहरु क–कसको संसर्गमा पुगेका थिए भन्ने विवरण अझै खुलेको छैन । दुई जनाको आरडिटि रिपोर्ट पोजिटिभ आएपछि जिल्लामा त्रास फैलिएको छ । उनीहरुसँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पनि तीन जना घर आएका थिए । उनीहरु १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किसकेकाले पुःन निगरानीमा राखिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

शहरमा बसिरहेका स्थानीयलाई गाउँ ल्याउनका लागि साकेला गाउँपालिकाले संस्थागत निर्णय गरेको थिएन । गाउँ भित्रिने व्यक्तीसँगै संक्रमण भित्रिने भन्दै गाउँपालिकाले शहरबाट गाउँ भित्रिनमा कडाइ गरेको थियो । तर, वडा कार्यालय रतन्छाले शहरका स्थानीयलाई घर आउन आव्हान गर्दा संक्रमण भित्रिएको भन्दै अहिले सामाजिक सञ्जालमा विरोध भइरहेको छ । कतिपय स्थानीय वडाको पहलमा र कतिपय आफै गाडी रिजर्भ गरेर गाउँ आएका छन् । 

प्रकाशित: ३० वैशाख २०७७ ०४:३२ मंगलबार

कोभिड १९ कोरोनाभाइरस