स्वास्थ्य

जनकपुरमा कोभिड विशेष अस्पताल

लहान- वीरगञ्ज महानगरपालिका–३ छपकैया मुस्लिम बस्तीमा कोभिड १९ संक्रमित एक जना थपिएसँगै प्रदेश २ मा कोभिड १९ संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार भेटिएका ६२ वर्षीय संक्रमित पुरुष किराना पसल सञ्चालक हुन ।

छपकैयाको कोरोना संक्रमित बस्तीमा ६२ वर्षीय पुरुषको एक मात्र किराना पसल छ । शनिबार उनको परिवारका २० जना र उनको छोरीको ससुरालीका ८ जना गरी २८ जनाको स्वाब संकलन गरिएको छ । बस्तीका मानिसलाई किरानाका सामान किन्न अर्को बिकल्प छैन । बैशाख २५ गत्ते यस बस्तीमा एकै परिवारका १७ जना कोरोना संक्रमित भेटिएपछि किराना पसल संचालक उनको पनि स्वाब संकलन गरिएको थियो ।

छपकैयाको मुस्लिम बस्तीमा एउटा किराना पसल र दुई वटा तरकारी पसल छ । बस्तीमा एक मात्र चापाकल छ । सो चापाकलको पानी बस्तीका १८ घरघुरीका मानिस उपभोग गर्दै आएका छन् । बैशाख २५ गत्तेदेखि यस बस्तीमा स्वाब संकलन तीव्र पारिएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । यस बस्तीमा पाँच सय मानिसको स्वाब संकलन गर्ने लक्ष्य छ । जसमा दुई सय ६२ जनाको स्वाब संकलन गरिसकिएको छ ।

बैशाख १ गत्ते वीरगंज महानगरपालिका–३ छपकैया मुस्लिम बस्तीका ३६ वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । बैशाख २५ गत्ते कोभिड–१९ पुष्टि भएका १७ जना उनकै परिवारका सदस्य रहेको घिमिरेले बताए । उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्ने कार्य जारी छ । ६२ वर्षीय नयाँ कोरोना संक्रमित किराना पसल संचालक ३६ वर्षीय पुरुषकै परिवारको सम्पर्कमा आएका व्यतिm भएको घिमिरेले बताए । उनलाई तत्काल नारायणी अस्पताल वीरगंजको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

हेलच्क्रयाइँले बस्ती कोरोना संक्रमित
बैशाख १ गत्ते छपकैया मुस्लिम बस्तीका ३६ वर्षीय पुरुषमा कोभिड–१९ पुष्टि भयो । उनी यस अघि संक्रमण पुष्टि भई उपचारपछि फर्केका जमातीको सम्पर्कमा आएको व्यक्ति भएको खुलेको छ । संक्रमित ३६ वर्षीय पुरुषलाई बैशाख १ गत्ते नै नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरियो । तर, उनको नजिकको सम्पर्क व्यक्ति अर्थात परिवारलाई तत्काल परीक्षणको दायरामा ल्याइएन ।

बैशाख २२ गते अर्थात २२ दिनपछि उनको परिवार र ससुराली पक्षका ३२ जना सदस्यको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । जसको परीणाम बैशाख २५ गत्ते बुधबार पोजेटिभ आयो । ३६ वर्षीय पुरुषका १७ जना परिवारिक सदस्य पनि कोभिड–१९ पोजेटिभ भेटिए । १० जना पुरुष र ७ जना महिलाहरु छन् । समयमै चेत नपुर्‍याउँदा यो बस्ती मात्र नभई संक्रमितहरुको सम्पर्कमा कति र कहाँ कहाँका मानिस आए, पहिल्याउन सकस भैरहेको छ ।

बस्तीको तरकारी पसल संचालकको सम्पर्कमा कति जना मानिस आए ? किराना पसल संचालकको सम्पर्कमा आएका मासिनहरुको पहिचान चुनौतीपूर्ण बनेको छ । घिमिरेले भने,‘संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान भएको छ, हुँदैछ । चापाकल प्रयोग गर्ने, तरकारी पसल, किराना पसलमा आउने जाने मानिस, छिमेकी सबैलाई कन्ट्याक्ट ट्रेसिङको दायरामा ल्याइएको घिमिरेले बताए । संक्रमितको ‘क्लोज कन्ट्याक्ट’मा आएका व्यक्तिहरु पहिचान भएका छन भने सम्पर्कमा आएकाहरुको पहिचान गर्न संयन्त्र सक्रिय रहेको उनले बताए।

जनकपुरमा कोभिड अस्पताल
कोरोना संक्रमितको संख्या थपिँदै गएपछि प्रदेश सरकारले जनकपुरमा कोभिड अस्पताल संचालनमा ल्याएका छन् । नर्सिङ क्याम्पस भवनमा ४२ शययाको कोभिड–१९ विशेष अस्पतालमा ८ शययाको आइसियू कक्ष समेत तयार पारिएको अस्पताल प्रमुख डाक्टर जामुनप्रसाद सिंहले बताए ।

प्रदेश सरकारले दुई महिनादेखि तयारी थालिए पनि अस्पताल अझै पूर्ण रुपमा उपकरण सम्पन्न भैसकेको छैन । जनशक्ति पनि पूर्ण छैन । अहिले ८ शयया आइसियू कक्ष तयार भैसकेको छ डाक्टर सिंहले भने,‘भेन्टिलेटर र थप जनशतिm पूरा गर्न लागिपरेका छौं ।’ यसअघि प्रादेशिक अस्पतालभित्रै आइसोलेसन कक्ष बनाएर कोरोना शंकास्पद विरामीलाई कोभिड–१९ पुष्टि नहुँदासम्म राख्दै आएको थियो । कोभिड–१९ विरामीको प्रसूतीलगायत शल्यक्रियाका लागि समेत कक्ष तयार पारिएको सिंहले बताए ।

प्रकाशित: २७ वैशाख २०७७ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App