स्वास्थ्य

लकडाउनमा दिर्घरोगीलाई स्थानीय सरकारको औषधि

दिर्घरोगीलाई औषधि वितरण गर्दै ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौला । तस्बिर : नागरिक

खोटाङ– खोटाङका विभिन्न स्थानीय तहले लकडाउनको मारमा परेका दिर्घरोगीलाई लागि घरैमा औषधिको व्यवस्था गरिदिएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण औषधि लिनका लागि अन्यत्र जान नपाउँदा समस्यामा परेका नियमित औषधि सेवन गरिरहेका दिर्घरोगीलाई स्थानीय तहले आवश्यक औषधिको व्यवस्था गरिदिएको हो ।

ब्लड प्रेसर, सुगर, यूरिक एसिड, मुटु रोग, ग्याँस्ट्रिक, दम, अल्सर, थाइराइड, मानसिक लगायतका समस्या भएपछि नियमित औषधि सेवन गरिरहेको अवस्थामा लकडाउनका कारण समस्यामा परेका बिरामीलाई दिप्रुङ चुईचुम्मा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका लगायतका स्थानीय तहले आवश्यक औषधिको व्यवस्था गरिदिएको हो ।

ऐसेलुखर्क गाउँपालिकाले शुक्रबार ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ३४ जना, ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका १४ जना, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ५ जना, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका १४ जना र ऐसेलुखर्क गाउँपालिका–९ ज्यामिरेका ९ जना दिर्घरोगीलाई औषधि प्रदान गरेको छ । सम्वन्धित वडाका स्वास्थ्यचौकीमार्फत दिर्घरोगीलाई औषधि प्रदान गरिएको ऐसेलुखर्क गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत सिजन राईले जानकारी दिए । अन्य वडाका दिर्घरोगीलाई पनि क्रमशः औषधि वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
 
यस्तै, बराहपोखरी गाउँपालिकाले पनि नियमित औषधि सेवन गरिरहेका दिर्घरोगीलाई आवश्यक औषधि ल्याएर निःशुल्क वितरण गरिरहेको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका २५ जना, बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ३३ जना र बराहपोखरी गाउँपालिका–४ फाक्टाका १ जना दिर्घरोगीलाई निःशुल्क औषधि वितरण गरिसकिएको गाउँपालिकाका नासु रमेश पोखरेलले बताए । हलेसी तुवाचुङ नगरपालिकाले पनि प्रेसर, सुगर, मुटु रोग, मानसिक लगायतका समस्या भएका दिर्घरोगीलाई आवश्यक औषधि खरिद गरेर ल्याएर प्रदान गरिरहेको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि बैसाख १२ गतेदेखि नै ३०८ जना दिर्घ रोगीलाई १५ दिन पुग्ने औषधि निःशुल्क वितरण गरिसकेको छ । अन्य स्थानीय तहले पनि लकडाउनको मारमा परेका दिर्घरोगीका लागि आवश्यक औषधिको व्यवस्था गरिरहेको छ । लकडाउनकाबेला दिर्घ रोगी घर बाहिर निस्कने अवस्था नभएकाले औषधि ल्याएर वितरण गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

 

प्रकाशित: २७ वैशाख २०७७ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App