स्वास्थ्य

तीन सय ७२ जनाको आरडिटी परीक्षण, सबै रिपोर्ट नेगेटिभ

ताप्लेजुङ- ताप्लेजुङमा अहिलेसम्म ३ सय ७२ जनाको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । चैत ११ गतेदेखि भारतसहित तेस्रो मुलुकबाट फर्किएका तथा मुलुककै बिभिन्न स्थानबाट जिल्ला भित्रिएका नागरिकहरुमा गरिएको आरडिटीको परीक्षण रिर्पोट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म १५ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ति सबैको रिपोर्ट पनि नेगेटिभ आएको छ । शनिबार पाथीभरा याङ्वरक गाउँपालिकाको तिरिङ्गेमा आरडिटी परीक्षण गरेपछि त्यसको रिपोर्ट पनि नेगेटिभ आए जिल्ला भरका सबै क्वारेन्टाइन खाली हुदैछन् ।

क्वारेन्टाइनमा बसेका सबैको आरडिटी परीक्षण पछि प्राप्त रिपोर्टका आधारमा उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा क्वारेन्टाइनबाट घर पठाइदैं आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए । कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका अनुसार यहाँका ९ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले लकडाउनका कारण रोजगारी गुमाएको भन्दै ४ हजार १ सय ५२ परिवारलाई राहत वितरण गरेको छ भने सिदिङ्वा गाउँपालिकाले ७ सय ३३ परिवारलाई राहतको सट्टा रोजगारी दिएको छ ।

प्रजिअ निरौलाका अनुसार अहिलेसम्म फुङ्लिङ नगरपालिकाले १ हजार १३, आठराई त्रिबेणी गाउँपालिकाले ८ सय ३७, फक्ताङ्लुङ गाउँपालिकाले ७ सय ८८, सिरिजङ्घा गाउँपालिकाले ९ सय २७, पाथीभरा याङ्वरक गाउँपालिकाले ५ सय ५१ र मिक्वाखोला गाउँपालिकाले ३६ परिवारलाई राहत वितरण गरेका छन् । मैवाखोला र मेरिङ्देन गाउँपालिकाले भने राहतका बारेमा गरेको निर्णय प्राप्त नभएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित: २७ वैशाख २०७७ ०५:४६ शनिबार

आरडिटी_परीक्षण काेराेना_भाइरस काेभिड_१९