स्वास्थ्य

भक्तपुर अस्पताललाई सुरक्षा सामग्री प्रदान

भक्तपुर- कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि खटिरहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार एक कार्यक्रमबीच सामानहरु हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर अस्पताललाई पि.पि.ई.४० सेट,  मास्क ४० वटा, फेस शिल्ड १० वटा, आईज गुगल्स १० वटा हस्तान्तरण गरे ।

यसअघि एन.पि.एल. समाज कल्याण संस्था ललितपुरले भक्तपुर नगरपालिकालाई उक्त सामानहरु शुक्रबार नै हस्तान्तरण गरेको थियो । नगरपालिकाले एकद्धार प्रणालीमार्फत सहयोग गर्न चाहनेहरुबाट लिई सहयोग हस्तान्तरण गर्दै आएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको पहिलो घेरामा बसी कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको प्रत्याभूती दिंदै मनोबल उच्च पार्न स्थानीय तहले यथासक्य सहयोग गरिरहेको बताए ।

भक्तपुर अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालले सक्दो सेवा गर्दै आएको बताइन् ।

 

प्रकाशित: २६ वैशाख २०७७ १५:५३ शुक्रबार

भक्तपुर_अस्पताल सुरक्षा_सामग्री कोभिड–१९