इलाम – शिक्षकमा ‘भर्चुअल’ कक्षा सञ्चालन गर्ने प्राविधिक सीप विकास गर्न भिडियो मार्फत् प्रशिक्षण चलाइएको छ। इलाम सदरमुकामबाट १९ दिनसम्म सञ्चालन गरिएको भिडियो प्रशिक्षणको प्रत्येक सेसनमा देशभरका कम्तीमा सय शिक्षक सहभागी भएका छन्।
यही वैशाख ५ यता प्रत्येक दिन ३ सेसनमा चलाइएको प्रशिक्षणमा शिक्षकलाई विद्यार्थी सहभागी गराएर भर्चुअल कक्षा सञ्चालन गर्नेबारे विज्ञहरूबाट सहजीकरण गरिएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनको इलाम जिल्ला समितिले आयोजना गरेको प्रशिक्षणमा शिक्षकको पेसागत विकासबारे थप छलफलसमेत भएको छ। संगठनका जिल्ला अध्यक्ष प्रकाश खनालले लकडाउनका कारण जमघट हुन नसकिएका बेला शिक्षकको पेसागत विकास र भर्चुअल कक्षा सञ्चालनका लागि संगठनले प्रविधि उपयोगको प्रयास गरेको बताए। ‘विद्यालय बन्द रहेका बेला कम्तीमा पनि इन्टरनेट पहुँच भएका विद्यार्थीलाई सम्भव भएसम्म पढाउन भर्चुअल कक्षा राम्रो माध्यम हुन्छ,’ उनले भने, ‘त्यसका लागि शिक्षकको प्राविधिक र पेसागत दक्षता अभिवृद्धिका लागि काम गरेका हौं।’
प्रशिक्षणमा संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मादेखि विभिन्न शिक्षाविद्, प्राविधिक लगायतले सहजीकरण गरेका छन्। ‘प्रशिक्षणमा करिब ५५ जिल्लाका शिक्षक र सरोकारवाला सहभागी भए,’ खनालले भने, ‘कास्कीपछि इलाममा यो कार्यक्रम गरिएको हो। अहिले अन्य जिल्लामा पनि धमाधम यही प्रकृतिको कार्यक्रम थालिएको छ।’ प्रशिक्षणमा सहभागी हुन सयौं शिक्षक उत्साही भएको संगठनका सचिव लोकबहादुर थाम्सुहाङले बताए। ‘भिडियो प्रशिक्षणमा एक पटकमा सयजना सहभागी हुने क्षमता थियो,’ थाम्सुहाङले भने, ‘तर, संख्या धेरै भएर कतिपय इच्छुक शिक्षक अझै सहभागी हुन पाउनुभएन।’
बिहिबारको समापन सेसनमा नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा.तुलसीप्रसाद थपलिया, काठमाडौं विश्वविद्यालयका सहायक डिन प्रा.डा. बालचन्द्र लुइँटेललगायतको समेत सहभागिता थियो । समापन अवसरमा संगठनका जिल्ला सचिव लोकबहादुर थाम्सुहाङले १९ दिनसम्म चलेका कक्षाहरूको सारांश प्रस्तुत गरेका थिए।
प्रकाशित: २५ वैशाख २०७७ १२:१५ बिहीबार