स्वास्थ्य

आइसोलेसनमा अपनाउनुपर्ने नाै नियम

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न विश्वभरिकै मानिसलाई सामाजिक दूरी (सोसियल डिस्ट्यान्सिङ) र घरमा अलग्गै (सेल्फआइसोलेसन) मा बस्न भनिएको छ। यो धेरैका लागि चुनौतीपूर्ण छ।सेल्फ आइसोलेसनका कारण व्यक्ति उदासपन र एक्लोपन महसुस गरिरहेका छन्। लकडाउनका कारण मानिसको सामाजिक व्यवहारपनि परिवर्तन भएको छ। केही साताअगाडि लन्डनमा भएको एक अनुसन्धानअनुसार न्युज साइट र सोसियल मिडिया हेर्ने र प्रयोग गर्ने व्यक्ति ४६ प्रतिशत बढेका छन्। विभिन्न किसिमका समाचारले मानिसको सोच्ने र महसुस गर्ने तरिकामा फरक पर्न थालेको छ। सेल्फ आइसोलेसनमा रहेका व्यक्तिलाई यसको प्रभाव अझ बढि परिरहेको छ। 

जव व्यक्ति एक्लै हुन्छ, तब उसले अधिकांश समय आफैंसँग संवाद गरिरहेको हुन्छ। सेल्फ टक अर्थात् स्वसंवाद, संवादको शक्तिशाली स्वरूप हो। स्वसंवाद तपाईंको भित्री आवाज हो। हामी के सोचिरहेका छौं,त्यही हाम्रो धारणा बन्छ। हाम्रो दिमागमा १ दिनमा हजारौँ विचार चलिरहेका हुन्छन्। ती विचार विभिन्न कारणले उत्पन्न भएका हुन्छन्। जस्तैः स्वास्थ्य अवस्था, आर्र्थिक अवस्था, सामाजिक प्रतिष्ठा, पारिवारिक सम्बन्ध, खुसी, तनाव आदि इत्यादि। अहिले विश्वभर मानिसलाई २ कारणले बढी प्रभाव पारिरहेका छन्। पहिलो हो– स्वास्थ्य, कसरी कोभिड–१९ बाट बच्ने अथवा मुत्तिःपाउने? दोस्रो हो–आर्थिक अवस्था, कसरी आजको भोक मेटाउने भन्ने वर्गदेखि अबौँ नोक्सानी बेहोरेका मानिस।

विश्वका अधिकतम मानिस अहिले लकडाउनमा छन् र ती मध्ये धेरै जना सेल्फ आइसोलेसनमा छन्। सेल्फ आइसोलेसनमा रहेका बेला तपाईं कसरी संवाद गरिरहनुभएको छ ? सकारात्मक कि नकारात्मक? सकारात्मक स्व–संवाद गरिरहनुभएको छ भने तपाईँ आफूलाई सशक्त पार्न सक्नुहुन्छ। नकारात्मक स्व संवाद गरिरहनुभएको छ भने तपाईंले आफूले आफूलाई धोका दिइरहनुभएको पनि हुन सक्छ। तपाईँले बारम्बार नकारात्मक सन्देश दोहो्याइरहनुभयो भने नकारात्मक भावना पैदा हुन्छ र प्रतिक्रियास्वरूप त्यही बाहिर आउन थाल्छ र त्यस्तै हुन थाल्छ। तर सकारात्मक स्वसंवाद दोहो्याइरहनु भयो भने त्यस्तै भावना बन्छ र शरीरले त्यस्तै प्रतिक्रिया दिन थाल्छ। मानौं, तपाईं कोभिड–१९ पोजिटिभ हुुनुहुन्छ र अस्पतालको बेडमा हुनुहुन्छ भने पूरा दिन सकारात्मक विचार दोहोर्‍याइरहनुहोस् म छिट्टै स्वस्थ भइरहेको छु। मेरो रोग प्रतिरोधात्मक क्षमता अझ मजबुत बन्दै गइरहेको छ। मलाईं सबैले माया, हौसला र प्रेरणा दिइरहनुभएको छ। मेरो शरीरले छिट्टै भाइरसलाई परास्त गर्नेछ। मेरो रिपोर्ट केही दिनमै नेगेटिभ आउनेछ। म स्वस्थ भएर केही दिनमै घर फर्कनेछु। 

मदर टेरेसाले भनेकी छन्– हामी शारीरिक रोगलाई औषधिले निको गर्न सक्छौं, तर एक्लोपन र निराशालाई मायाले मात्र निको पार्न सक्छौं।

सकारात्मक स्वसंवादले आत्मविश्वास बढाउँछ। शक्ति बढाउँछ। आशावादी बनाउँछ। मुहारमा खुसी र उत्साह थप्छ र कुनै पनि खराब अवस्थाबाट छिट्टै बाहिर आउन मद्दत गर्छ। अहिले तपाईं,जो सेल्फआइसोलेसनमा हुनुहुन्छ,तपाईंको सकारात्मक मानसिक अवस्थाले तपाईंलाई यस विषम परिस्थिती सामना गर्न हिम्मत दिनेछ। जब तपाईंको दिमागले राम्रो महसुस गर्न थाल्छ,तब परिणाम पनि सकरात्मक आउन थाल्छ। स्व संवाद, लकडाउनका कारण घरमै रहेका  र विशेषगरी सेल्फ आइसोलेसनमा बसेका व्यक्तिका लागि महत्वपूर्ण छ। जो अरूसँग समय बिताउन पाइरहेका छैनन्। यो अवस्था अझ केहीदिन, हप्ता अर्थात महिनासम्म पनि रहन सक्दछ। तसर्थ यो समयमा तनाव, चिन्तान लिई सकरात्मक स्व संवाद बढाउन आवश्यक छ। 
सकारात्मक स्व संवाद कसरी बढाउने ?
१. आफूसँग कृतज्ञ बन्नुहोस्।
२. आफूमा विश्वास गर्नुहोस्।
३. नकारात्मक विचार दिमागमा आउनेबित्तिकैै सकारात्मक विचार ल्याइहाल्नुहोस्।
४.अरूसँग सकारात्मक शब्दको प्रयोग गर्नुहोस्।
५.अरूलाई सहयोग गर्नुहोस्।
६. समाचार र सोसियल मिडियाको प्रयोगलाई सीमित गर्नुहोस्।
७.सन्तुलित भोजन गर्नुहोस्।
८.शारीरिक र मानसिक अभ्यास गर्नुहोस्।
९. र, निम्न सकारात्मक कुरा दोहोर्‍याइरहनुहोस्ः 

–म विजेता हुँ।
–म खुसी र कृतज्ञ छु।
–म आफूमा गर्व गर्छु।
–म जस्तोसुकै परिस्थिति सामना गर्न सक्छु।
–म यो अवस्थाबाट छिट्टै बाहिर आउने छु।
–म पुनःआफ्नो काममा सफलता प्राप्त गर्नेछु।
–म आफूलाई धेरै माया गर्छु,किनकि जीवन अमूल्य छ।
मदर टेरेसाले भनेकी छन्– हामी शारीरिक रोगलाई औषधिले निको गर्न सक्छौं, तर एक्लोपन र निराशालाई मायाले मात्र निको पार्न सक्छौं। 

यो विश्वव्यापी महामारीमा आफूलाई एक्लो र निराश नबनाउनुहोस्। आफूलाई माया गर्नुहोस्। आफ्नो जीवन मूल्यवान् ठान्नुहोस् । महसुस गर्नुहोस त– लकडाउनका कारण तपाईंले आफू र आफ्नो परिवारलाई कति समय दिनसक्नुभयो। धेरै वर्षदेखि पूरा गर्न नसकेका रुचिका काम, इच्छा पूरा गर्न पाउनुभयो। स्वच्छ हावामा सास फेर्न पाउनुभयो।  सेल्फ आइसोलेसनले तपाईंले आफूभित्रको ‘म’चिन्न सक्नुभयो होला। तसर्थ लकडाउन अवधिभर घरमै रहँदा, सेल्फ आइसोलेसनमा रहँदा सकारात्मक स्व संवाद गर्नुहोस्।जसका कारण तपाईंको जीवनमा महत्वपूर्ण परिणाम प्राप्त हुनेछ। कोरोना भाइरसको अन्त्यपछि हामी सबैको जीवनमा पुनःचम्किलो रोशनी छाउनेछ। 
सुरक्षित रहौं। खुसी रहौं। 
(प्रमुख, नेपाल आन्ट्रपे्रनसिप एजुकेसन फाउन्डेसन)

प्रकाशित: २४ वैशाख २०७७ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App