स्वास्थ्य

कोरोनाबाट बच्ने उपाय

चीनको उहानबाट उत्पन्न भएको कोरोना भाइरसले गर्दा यतिखेर विश्व नै विकराल संकटबाट गुज्रिरहेको छ। यो लेख लेख्दासम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख नाघेको छ। यो स्तरको त्रासदी र भयावह अवस्था सम्भवतःपहिलो र दोस्रो विश्वयुद्धमा पनि भएन होला। यो महामारी कतिसम्म फैलिन्छ र कहिले अन्त्य हुन्छ, कसैले भन्नसक्ने स्थिति छैन। इतिहासले के देखाउँछ भने यस्ता महामारीको अन्त्य त हुन्छ तर समय लाग्छ।

कोरोनाबाट दिनदिनै संक्रमण र मृत्यु हुने क्रम जारी छ। जुन गतिले यो खतरनाक भाइरस फैलिरहेको छ, त्यसबाट विश्वका अन्य देशसँगै नेपालपनि तर्सिएको छ। यसको संक्रमण रोक्न विश्वका अधिकतम मुलुकले लकडाउन जारी राखेका छन्। नेपालले पनि गत चैत ११मा सुरु गरेको लकडाउन पटकपटक समय थपेर वैशाख २५ गतेसम्म पुर्‍याएको छ। यो महामारीले अझै कतिक्षति पुर्‍याउने हो, कुनै ठेगान छैन। कोरोना भाइरसको अन्त्य गर्न कि यसविरुद्ध खोप निर्माण गरेर सबैको पहुँचमा पुर्‍याउनु पर्‍यो कि सामुदायिक रूपमा प्रतिरक्षा प्रणाली विकास गर्नुपर्‍यो।यो पनि घातक नै देखिन्छ। किनकि यसमा समुदायका अधिकतम मानिसमा यो रोग संक्रमण हुन दिनुपर्छ, जसले गर्दा यो रोगविरुद्ध प्रतिरक्षात्मक क्षमता विकास होस्।

यसो गर्दा धेरैजनाको मृत्यु हुनसक्ने अर्को जोखिम हुन्छ। यी दुवै उपायका लागि कुनै चमत्कार नभए १ वर्ष वा त्यो भन्दा बढी समय प्रतीक्षा गर्नुपर्ने हुन्छ।  यो अवस्थामा लकडाउन कहिलेसम्म हुने हो, धेरैको चिन्ता छ। हतारिएर लकडाउन खुलाउन पनि चुनौतीपूर्ण नै छ। फेरियो अनिश्चित कालसम्म लम्ब्याउन पनि सकिन्न। लकडाउन र प्रतिबन्धका कारण  विश्व अर्थतन्त्रमा निकै प्रभाव पारिसकेको छ। लकडाउन अनिश्चितकालसम्म लम्बिए स्थिति झन् भयावह हुनसक्छ। कोरोनाले भन्दापनि मानिस गरिबी, भोकमरी र निराशाका कारण धेरैले ज्यान गुमाउन सक्छन्। लकडाउन आफैंले कोरोना भाइरस नियन्त्रण गर्ने होइन। यसले संक्रमित पहिचान,परीक्षण तथा स्वास्थ्य संरचना निर्माण गर्न समय दिन्छ। सिंगापुरले अहिलेसम्म लकडाउन गरेको छैन। त्यहाँ स्कुल, कलेज खुलै छन्।

यो महामारीबाट बच्ने उत्तम उपाय भनेको सकभर घरबाट ननिस्किनु र हात बेलाबेला साबुन–पानीले धोइरहनु हो।

त्यहाँका मानिसले सावधानी अपनाएर आर्थिक गतिविधि जारी नै राखेका छन्। चीनको उहानमा कोरोना संक्रमण सुरु हुनासाथ सिंगापुरले सावधानी अपनाएको हो। उसले बिरामीको पहिचान र परीक्षणलाई व्यापक रूपमा अघि बढायो। यसैकारण अन्य देशको तुलनामा सिंगापुर कोरोना नियन्त्रण गर्न सफल देखियो।अहिलेको उचित रणनीति भनेको आर्थिक क्रियाकलाप पुनः सुरुवात गर्नु र भाइरसको प्रजनन संख्या १ वा शून्यमा झार्नु हो। एकजना संक्रमितले औसतमा २–३ व्यक्तिलाई कोरोना सार्न सक्छ। यसलाई पनि १ वा शून्यमा झार्न सकियो भने त्यसले माहामारीसम्म पुर्‍याउन सक्दैन। जब भाइरसको प्रजनन संख्या एकभन्दा बढी हुन्छ, तब स्थिति भयावह बन्न सक्छ। त्यसैले यो अवस्था विचार गरेर सरकारले प्रतिबन्ध वा लकडाउन खुकुलो वा कडा पार्न सक्छ।सरकारले यो लकडाउन समयको सदुपयोग गर्दै संक्रमित पहिचान र स्वास्थ्य परीक्षण अभियानलाई तीव्र पार्नुपर्छ।

संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने उचित प्रबन्ध गर्नुपर्छ।अनि स्वास्थ्य सेवालाई बलियो बनाउनुपर्छ। डरले हामीलाई आतंकित बनाउँछ।त्यसैले नडराऊँ, तर सतर्क बनौं। अफवाह र गलत हल्लाका पछाडि नलागौं। यो महामारीबाट बच्ने उत्तम उपाय भनेको सकभर घरबाट ननिस्किनु र हात बेलाबेला साबुन–पानीले धोइरहनु हो। विज्ञ र स्वास्थ्यकर्मीबाट सल्लाह/सुझाव लिएर दैनिक जीवनमा लागू गर्नुपर्छ। यो रोगले विषेशगरी वृद्ध उमेर र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई बढी आक्रमण गर्ने भएकाले त्यस्ता मानिसले विशेष सावधानी अपनाउनुपर्छ। यसको संक्रमण नदेखिएका स्थानमा लकडाउन केही खुकुलो बनाई सावधानीका साथ आर्थिक गतिविधि सुरुवात गर्न सकिन्छ। 

अहिले हामीले गर्न सक्ने भनेको भाइरसको संक्रमण फैलिन नदिने हो। यसमा हामी नागरिकको पनि उत्तिकै जिम्मेवारी छ। घरमै बसेर मानव समुदायको हित हुन्छ भने त्यसो किन नगर्ने ?आखिर त्यो कुनै गाह्रो कामपनि होइन। त्यसैले आतंकित नबनौं, तर सजग रहौं। 

प्रकाशित: २४ वैशाख २०७७ ११:०१ बुधबार

कोरोना_भाइरस संकट बच्ने_उपाय