स्वास्थ्य

नेपालगन्जमा कोरोना संक्रमण फैलिनुको कारण खोज्दै विज्ञ टोली

कोरोना संक्रमण फैलिएको विषयमा अध्ययन गर्न आएको विश्व स्वास्थ्य संगठनको टोली लगायत । तस्बिर : नरेश श्रेष्ठ

नेपालगन्ज- कोरोना भाइरसको संक्रमण एकै पटक धेरै ब्यक्तिमा फैलिनुको कारणबारे विज्ञ टोलीले अध्ययन सुरु गरेका छन् । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगायत निकाय नेपालगन्ज आएर स्थलगत अध्ययन सुरु गरेका हुन् । अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका पाँच जना कर्मचारी नेपालगन्जमा खटिएका छन् । स्वास्थ्य मन्त्रालयका पनि केही अधिकारी संलग्न छन् ।

कोरोना भाइरस एकैपटक धेरै ब्यक्तिमा कसरी फैलियो भन्ने विषयमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय अन्र्तगत रहेको टोलीले दुई दिनदेखि अनुसन्धान गरिरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले नागरिकसँग भने ‘टोली समुदाय स्तरमै पुगेको छ ।’ अहिलेसम्मको अध्ययन, अनुसन्धानबाट कोरोना भाइरस एकैपटक धेरै ब्यक्तिमा फैलिनुको कारण पत्ता लाग्न नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । अध्ययन पश्चात उक्त टोलीले अब के गर्ने भन्ने बारे पनि सुझाव दिने बताइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ६० वर्षिय ब्यक्तिमा गत शुक्रबार पहिलो पटक यहाँ कोरोना संक्रमण पुष्टी भएको थियो । उनको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ९४ जनाको स्वाब पिसिआर परीक्षण गर्दा वडा नम्बर ८ का अन्य २२ जना ब्यक्तिमा पनि कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

६० वर्षिय संक्रमित ब्यक्ति जोलहनपुर्वा टोलमा रहेको अन्सारियन मस्जिदमा साँझ–बिहान नमाज पढ्थ्ये, भने मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी बालबालिकाको घरमै पुगेर ट्युसन(उर्दु) पढाउने गरेका थिए । उनको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का आधारमा गत शनिबारबाट वडा नम्बर ७ र ८ मा यसअघि स्वाब संकलन गरिएको थियो ।

कन्ट्रयाक्ट ट्रेसिङ गरेर धमाधम स्वाब संकलन
कोरोना संक्रमण एक ब्यक्तिबाट धेरैमा फैलिएको आशंकामा मंगलबारबाट पुनः कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन सुरु गरिएको छ । पहिलो दिन मंगलबार अबेर रातिसम्म वडा नम्बर ८ स्थित महेन्द्रपार्क(टांगा स्टेशन) क्षेत्रबाट ५६ जनाको स्वाब संकलन गरिएको थियो । वडा नम्बर बुधबार(आज) वडा नम्बर ८ कै पन्डन मोहला टोलमा कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न लागिएको फोकल पर्सन श्रेष्ठले बताए ।

अझै उक्त वडाको भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोलमा कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिने उनको भनाई छ । ‘यि टोलहरुमा पहिले कन्ट्रयाक्ट ट्रेसिङ गरेर नामहरु लिष्टिङ गर्छौ, त्यसपछि उनीहरुको स्वाब संकलन गरिन्छ,’ श्रेष्ठले प्रष्ट्याउँदै भने । मंगलबार संकलन गरिएको ५६ जना वटा स्वाबको पिसिआर रिपोर्ट बुधबार आउने सम्भावना कम रहेको बताए । स्वाब परीक्षणका लागि पिसिआर किट, स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिई अहिलेलाई पर्याप्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोरोना भाइरस संक्रमण देखा परेको वडामा स्थानीय जनप्रतिनिधीमार्फत सर्बसाधारणको स्वाब संकलन गर्न प्रशासनले आवश्यक समन्वय गरिरहेको बताए । ‘धेरैमा कोरोना भाइरसको लक्षण नै छैन, कतिपयले मलाई लक्षण देखिएको छैन भनेर अटेरी गरिरहेका छन्,’ प्याकुरेलले भने ‘यस्तो अवस्थामा सम्बन्धित वडाका जनप्रतिनिधीमार्फत कन्ट्रयाक्ट ट्रेसिङ गरी शंकास्पद ब्यक्तिको स्वाब परीक्षणको काम गरिएको छ ।’

 

 

 

प्रकाशित: २४ वैशाख २०७७ ०६:११ बुधबार

कन्ट्रयाक्ट_ट्रेसिङ कोरोना काेभिड_१९