स्वास्थ्य

पहिलो संक्रमितका परिवार सदस्यको रिपोर्ट नेगेटिभ

नेपालगन्ज- नेपालगन्जका पहिलो कोरोना संक्रमित ब्यक्तिको परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोल निवासी ६० वर्षिय पुरुषलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना पुष्टी भएपछि स्थानीय प्रशासनले उनका परिवारका सदस्यलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखेको थियो ।

परिवारका ६ जना सदस्यको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा मंगलबार रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । ६० वर्षिय संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बढी समय बिताउँथ्ये । त्यहाँ उनले बिहान–बेलुका नमाज पढ्ने र बालबालिकालाई ट्युसन (उर्दु) पढाउने गरेका थिए । स्थानीय फूलबारी मस्जिदमा संकलन गरिएको स्वाब परीक्षण गर्दा ती ब्यक्तिमा शुक्रबार संक्रमण पुष्टी भएको थियो ।

जोलहनपुर्वास्थित मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी त्यहाँका बालबालिकालाई घरमै पुगेर ट्युसन पढाएका कारण अन्य ब्यक्तिमा पनि संक्रमण फैलिएको आशंका गरिएको थियो । उक्त टोलमा संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाबको पिसिआर परीक्षण गर्दा २२ जना संक्रमित फेला परिसकेका छन् ।

लकडाउन सुरु भएयता उनी बढी समय जोलहनपुर्वाको मदरसामै बस्ने गरेका कारण परिवारका अन्य सदस्यमा संक्रमण फैलिन नपाएको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जुम्मन खाँले पहिलो संक्रमित ब्यक्तिका सबै परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको बताए ।

‘रिपोर्ट नआउँदासम्म टोल, छिमेकका मान्छेहरु डराइरहेका थिए, तर परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि ढुक्कसँग बस्न पाएका छन्,’ उनले नागरिकसँग भने । रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसिरहेका संक्रमितकी श्रीमती, चार छोरा र बुहारी मंगलबार घर फर्किसकेको वडाअध्यक्ष खाँले जानकारी दिए ।

परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएपनि वडा नम्बर ७ को बेहना टोल आसपासमा बस्ने कसैको मनमा शंका लागेमा उसको स्वास्थ्य परीक्षण गरिदिने वडाअध्यक्ष खाँले बताए । ‘स्वास्थ्य जाँच गराउने सम्बन्धमा दिउँसो सिडिओ साबको उपस्थितमा बैठक पनि बसेको थियो, त्यहाँ धेरै छलफल पनि भएको छ,’ उनले भने ।

संक्रमित ब्यक्तिको ‘कन्ट्रयाक्ट ट्रेसिङ’बाट मंगलबार ५६ जनाको स्वाब संकलन गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट २३ जना कोरोना संक्रमित फेला परेपछि मंगलबारबाट ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का आधारमा स्वाब संकलन प्रक्रिया सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोल, पन्डन मोहला र टांगा स्टेशनबाट स्थानीय बासिन्दाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाब संकलनको काम सुरु गरिएको थियोे ।

 

 

प्रकाशित: २३ वैशाख २०७७ १५:११ मंगलबार

संक्रमित रिपोर्ट काेराेना_भाइरस