स्वास्थ्य

कोरोना परीक्षण गर्ने आरडिटी किट र भिटीएम अभाव

बारा- कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएको वा बाहिरबाट आएर जिल्लाको बिभिन्न स्थानीय तहहरुको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुमा कोरोना भाइरसको परीक्षण गर्न आवश्यक पर्ने र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडिटी) किट र भिटीएम अभाव भएको छ।

एक हप्ता पहिला जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर र १९ इनर्वामा बस्दै आएका दुई जनामा कोरोना लागेको पुष्टि भएको थियो। भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएर दुबै जनाले ४९ दिन पहिला फर्केर जितपुरका स्थानीयले आफ्नो घरमा बस्दै आएका थिए भने अर्का ईनर्वामा रहेको मद्रसामा बसेर पठाउने काम गर्दै आएका थिए।

जिल्लामा दुई जना एकै पटक कोरोनाको संक्रमन देखा परे पनि परीक्षणको दायरा बढाउनु पर्ने बेलामा परीक्षण गर्न आवश्यकय पर्ने किटहरुको अभावले गर्दा कोरोनाको जोखिम बढाएको छ।

अहिले १६ वटा स्थानीय तहका क्वारेन्टाइनहरुमा राखिएका लगभग दुई सय जनाको परीक्षण गर्नु पर्ने र जितपुरसिमरामा भेटिएका दुई संक्रमितको सम्पर्कमा आएकाहरुको समेत पहिचान गरि परीक्षण गर्नु पर्ने अवस्थामा किट अभाव भएको बताइएको छ।

आरडिटी किट र भिटीएम अभावले गर्दा क्वारेन्टाइनमा १४ भन्दा बढी दिनदेखि क्वारेन्टाइनमा राखिएका र कोरोना भाइरस संक्रमितको सम्र्पकमा आएकाहरुको कोरोना भाइरसको परीक्षण गर्नमा समस्या भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ।

स्वास्थ्य कार्यालय बाराका महामारी रोग नियन्त्रण शाखाका प्रमुख शंकर गुप्ताले १० दिन देखि आरडिटी किट सकिएकोले कोरोना संक्रमितको सम्पर्कमा आएका र क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्नमा समस्य भएको बताएका छन्। आरडिटी किटबाट शंकास्पद व्यक्तिहरुको परीक्षण गर्दा १५ मिनेट मै कोरोना भाइरसको संक्रमण छ वा छैन थाहा पाउन सकिने भए पनि अहिले किट अभावमा पिसिआर विधिबाट परीक्षण सुरु गरिएको गुप्ताले बताए।

पिसिआर विधिबाट परीक्षणको लािग थ्रोट स्वाब संकलन गर्दा आवश्यक पर्ने भिटिएमको समेत अभाव भएकोले परिक्षणको दायरा बढाउन नसकिएको गुप्ताले बताए। माथिल्लो निकायबाट आरडिटी सकिएको र थप किट माग गरिए पनि उपल्बध नगराइएको गुप्ताले गुनासो गरे । आरडिटी नहुँदा पिसिआर गर्न आवश्य पर्ने भिटिएम सकिएको अवस्थामा धेरै पहल गर्दा प्रदेश सरकारले ५० बटा मात्रै भिटिएम दिएको र त्यो पनि मंगलबार नै सकिने अवस्था रहेको गुप्ताले बताए।

प्रदेश सरकारबाट प्राप्त भएको ५० वटा भिटिएम मध्ये सोमबार  १४ दिन भन्दा बढी समय क्वारेन्टाइनमा बसेर घर पठाउन लागिएका प्रसौनी गाउँपालिका ३ जना, फेटा गाउँपालिकामा १० र करैयामाई गाउँपालिकामा ६ गरि  १९ जनाको  पिसिआर गर्न थ्रोट स्वाब संकलन गरि परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको गुप्ताले बताए।

त्यसै गरि मंगलबार निजगढ नगरपालिकाको १६, महागढीमाई नगरपालिकाको १ र सुवर्ण गाउँपालिकाको ६ जनाको पिसिआर गर्नको लागि स्वाब संकलन गर्न कार्यमा जनशक्ति खटिएक गुप्ताले बताए।

२३ जनाको स्वाब संकलन गर्नको लागि २३ वटा भिटिएम खर्च हुँदा ७ वटा मात्रै भिटिएम बाँकी रहने अवस्था देखिएको गुप्ताले बताए।

 

प्रकाशित: २३ वैशाख २०७७ १५:०१ मंगलबार

कोरोना आरडिटी_किट भिटीएम कोरोना_भाइर