स्वास्थ्य

नयाँ संक्रमित नदेखिए पनि परीक्षण जारी राखिने

उदयपुर, - उदयपुरमा पछिल्लो ३३ जनाको पिसिआर रिपोर्ट सबै नेगेटिभ आएको छ । मस्जिदमा बसेका १२ भारतीयसहित २८ जनामा कोरोना भाइरस संक्रमण भेटिएको त्रियुगा नगरपालिका–३ भुल्केका सम्भावित १४ महिलासहित ३३ जनाको आइतबार आएको रिपोर्ट नेगेटिभ पाइएको हो । 

पछिल्लो रिपोर्टमा ३३ जना सबै सुरक्षित पाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । उनका अनुसार अघिल्लो दिन आएको बेलका नगरपालिकाका ५ मध्ये एक र ताप्ली गाउँपालिकाका २ जनाको रिपोर्ट आउन बाँकी भए पनि पोजेटिभ आउने सम्भावना कमै छ । भोजपुरका संक्रमितसँग सम्पर्कमा रहेको पाइएपछि बेलका नगरपालिका–७ मैनामैनी पुगेको स्वास्थ्य टोलीले ३ महिलासहित ५ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाएको थियो । 

पछिल्ला लगातार ४ रिपोर्टले नयाँ संक्रमित नदेखाएपछि उदयपुरको जनजीवन त्रासमुक्त र सामान्य हुँदै गइरहेको छ । भुल्के मस्जिदका १२ भारतीयसहित १६ मध्ये वैशाख ५ गते १३ जनामा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । त्यसयता क्रमशः ८ जना, ३ जना, पुनः ४ र १ गरी २८ जनामा संक्रमण पुष्टि भएसँगै उदयपुर ‘कोरोना केन्द्र’ बन्न पुगेको थियो । संक्रमितमध्ये १२ भारतीय र ४ मोरङका जमाति, ११ उदयपुर र १ सप्तरीका रहेको सुवेदीले बताए । 

जिल्लमा हालसम्म ६ सय ६९ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमा महिला १ सय ७९ र पुरुष ४ सय ९० जना छन् । २ महिला र २६ पुरुष संक्रमित भेटिएका छन् । 

जिल्लाभर ३६ महिलासहित २ सय ७२ को आरडिटी परीक्षण भएको छ । लगातारको रिपोर्टमा नयाँ संक्रमण नदेखिए पनि परीक्षण कार्य जारी राख्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । एकै ठाउँका २८ जना संक्रमित पाइएकाले संक्रमण अन्यत्र फैलिएको हुनसक्ने तर, परीक्षण सीमित भएकाले देखा नपरेको हुनसक्ने आशंका गर्दै परीक्षण जारी राख्दै थप दायरा  फराक पार्नसमेत स्थानीयले सुझाएका छन् । त्रियुगा नगरप्रमुख बलदेव चौधरीले मस्जिद र आसपासमा संक्रमित देखिएको र उनीहरू कोही अटोचालक, तरकारी व्यापारी र पसल÷बजार आउजाउ गरेकाले परीक्षण कार्य जारी राख्नुपर्ने बताए ।  

बेलका नगरप्रमुख दुर्गा थापाले ‘होम क्वारेन्टाइन’मा बसेकाहरूको पनि पिसिआर परीक्षण गर्नुपर्ने बताए । कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि अहिलेसम्म क्वारेन्टाइनमा बस्नेको मात्र परीक्षण गरिँदै आएको भन्दै विदेश र देशभित्रकै विभिन्न ठाउँबाट आएर घर बसेकाको पनि परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् । 

स्थानीय तहका जनप्रतिनिधिले सदरमुकाममा मात्र सीमित नभई सबैतिर परीक्षण गर्न माग गरेका छन् । रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्का, लिमचुङबुङ अध्यक्ष मेजरकुमार राई, ताप्ली अध्यक्ष उद्धवसिंह थापा र उदयपुरगढी अध्यक्ष मानबहाुदर मगरले गाउँगाउँ गएर स्वाब परीक्षण गर्न माग गरे । अहिलेसम्म सदरमुकाम र स्वास्थ्य तथा सुरक्षाकर्मीको मात्र परीक्षण भइरहेको भन्दै स्वास्थ्य टोली गाउँमा खटाएर परीक्षण कार्य तीव्र पार्न सुझाए । 

उता पहिलो संक्रमित १२ जनाको दोस्रो चोटि परीक्षण गरिएको रिपोर्ट सोमबार बिहानसम्ममा आउने भनिएको छ । विराटनगर कोरोना अस्पतालमा उपचाररत उनीहरू १४ दिन पुगेकाले गत शुक्रबार स्वाब झिकेर पुनः परीक्षण भइरहेको बताइएको छ । वैशाख ५ गतेदेखि अस्पताल बसेका उनीहरूको दोस्रो चरणको रिपोर्ट नेगेटिभ आए दुई दिनपछि पुनः परीक्षण गरिने र त्यसमा नेगेटिभ देखिए घर पठाइने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. संगीता मिश्राले बताएकी छिन् ।

प्रकाशित: २२ वैशाख २०७७ १३:१४ सोमबार

पिसिआर_रिपोर्ट