स्वास्थ्य

बाँकेमा कोरोना संक्रमित बढेपछि दाङमा त्रास

दाङ- बाँकेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि छिमेकी जिल्ला दाङमा कोरोना संक्रमणको जोखिम बढेको छ । छिमेकी जिल्लामै कोरोनाका बिरामीहरु बढेपछि दाङ नागरिकहरु त्रस्त बनेका छन् । स्थानीय प्रशासनले पनि कोरोना संक्रमणको जोखिम बढेपछि उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रवेश गर्ने हरेक नाकामा सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यि कुनै पनि नाकाबाट नागरिकहरु आवत जावत बन्द गर्नेगरि प्रशासनले नाकामा सुरक्षा निगरानी बढाईएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार जिल्ला भित्रने भारतीय नाका कोईलावासमा थप सुरक्षा निगरानी बढाईएको छ । यो नाकामा पहिलेदेखि नै सुरक्षा सतर्कता अपनाईएको थियो । ‘पहिलेको व्यवस्थापनलाई थप कडाई गर्नेगरि सुरक्षाकर्मीको संख्या पनि बढाईएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले भने । यसैगरि बाँकेसंग सीमा साँध जुधेको अमिलियामा पनि सुरक्षा निगरानी बढाईएको छ । यो क्षेत्र बाँके र दाङको सीमा क्षेत्र हो ।

बाँकेमा कोरोना संक्रमितहरु १६ जना देखिएपछि यो नाकामा थप कडाई गरिएको खड्काले जानकारी दिए । यो नाकामा सुरक्षाकर्मी थप संगै स्वास्थ्यकर्मीको संख्या समेत बढाईएको छ । ‘बाँकेसंग सीमा जुधेका कारण यो नाका अहिले संवेदशिल मानिएको छ,’ डिएसपी खड्काले भने ‘यसर्थ यो नाकामा सुरक्षाकर्मीको संख्या बढाएर थर्मल गन सहितका स्वास्थ्यकर्मीहरु समेत परिचालन गरिएको छ ।’ यसैगरि कपिलवस्तुसंग नजिकै रहेको कालाकाटे क्षेत्रमा पनि स्वास्थ्यकर्मीसहितको अर्को चेक पोष्ट खडा गरिएको छ ।

यसैगरि पश्चिम दाङको खीलतपुरमा पनि अर्को विशेष चेक पोष्ट स्थापना गरिएको डिएसपी खड्काले जानकारी दिए । उनका अनुसार यि नाका क्षेत्रबाट नागरिकहरुलाई आवतजावतमा पूर्ण रुपमा कडाई गरिने छ । अत्यावश्यकीय सवारी साधनमा सवारहरुलाई पनि स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेर मात्रै ईजाजत दिने छ । ‘बाँकेमा कोरोना संक्रमतिहरुको संख्या बढेपछि दाङको क्षेत्र संक्रमणको थप जोखिममा परेको छ, यसर्थ दाङ प्रवेश गर्ने हरेक नाकाहरुमा सुरक्षाकर्मी बढाएर आवतजावतमा रोक लगाईने छ,’ उनले भने ।  

यसैबीच केहि दिनअघि बाँकेको नेपालगन्जबाट घोराही आएका एक युवकको परिवारको कोरोना परिक्षण जाँचको प्रकृया थालिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ति युवकसहित उनको परिवारका सातजनाको स्वाब परीक्षण थालिएको हो । केहि दिनअघि मात्रै ति युवक नेपालगन्जबाट दाङ आएपछि उनको खोजी भएको थियो । ‘नेपालगन्जबाट आएका भनिएका युवकको परिवारका सातजनाको स्वाब संकलन भएको छ,’ प्रतिष्ठान प्रशासनले भनेको छ ‘यि सातै जनाको रिपोर्ट जतिसक्यो चाँडो सार्वजनिक गर्ने छौँ ।’

यता भारतको महाराष्ट्रबाट आएका १० भारतीयको कोरोना परीक्षण नेगेटिभ आएको छ । उनिहरु केहि दिनअघि भारतबाट दाङ आएका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवले परीक्षण गरिएका १० जनाकै रिपोर्ट नेगेटिभ आइको जानकारी गराए । स्थानीयले भारतीयहरु आएको खवर गरेपछि प्रहरीले उनिहरुको खोजी गरि बेलझुण्डिस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेको थियो ।

‘लकडाउन हुनुपूर्व भारतबाट आएका धेरै नागरिकहरु लुकेर बसेको भन्ने जानकारी स्थानीयहरुले दिईरहनु भएको छ,’ डिएसपी खड्काले भने ‘स्थानीयहरुको जानकारीका आधारमा यस्ता नागरिकहरुको पहिचान गरेर आइसोलेसनमा राखिरहेका छौँ ।’ यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले सम्म परीक्षण गरिएका २९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित: २२ वैशाख २०७७ ११:५१ सोमबार

कोरोना संक्रमित त्रास काेभिड_१९