स्वास्थ्य

भुल्केबाहेक सबै मस्जिद क्षेत्र सुरक्षित

उदयपुर- शुक्रबारको पछिल्लो रिपोर्ट अनुसार उदयपुरको भुल्केबाहेक अन्य मस्जिद र आसपासका स्थानीय सुरक्षित रहेको ठहर गरिएको छ । भुल्केको नुरी मस्जिदका १६ समातिसहित २८ मा संक्रमण पुष्टि भएपछि त्यहाँ आउजाउ गर्दा संक्रमण हुनसक्ने जोखिमको आशंका गरिएका अन्य मस्जिदको स्वाव परीक्षण रिपोर्ट सबै नेगेटिभ आएपछि उनीहरु सुरक्षित रहेको निश्कर्ष निकालिएको हो ।

स्वास्थ्य कार्यालय उदयपुरले त्रियुगा १२ को डिएमगेट, ५ नं. को देउरी र ६ को जलजले मस्जित तथा ४ को बगाहास्थित मुस्लिम बस्तीबासी ७८ तथा स्वास्थ्यकर्मीसमेत गरी ८३ को रिपोर्ट नेगेटिभ आएको जनाएको छ । अव दुईदिनअघि पठाइएको भुल्केकै ३३ र शुक्रबार पठाइएको ताप्ली गाउँपालिकाका २ र बेलका ७ मैनामैनीका ५ सहित ४० को रिपोर्ट मात्र बाँकी रहेको छ । पछिल्लो ३३ को रिपोर्ट पनि नेगेटिभ आयो भने भुल्के ‘क्लियर’ छ भनेर बुझे हुने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदी बताउँछन् ।

उनका अनुसार १६ गतेअघि पठाइएको सबै स्वावको रिपोर्टको नतिजाले जिल्लाबासीलाई सुखद खवर दिईरहेको छ । ‘जेजति त्रास र डर दियो त्यही १६ जमातिसहित २८ को संक्रमण पुष्टिले दियो’ पछिल्लो रिपोर्टबारे जानकारी दिदै सुबेदीले नागरिकसँग भने ‘त्यसयताका बसै नतिजाले डराउनुपर्ने अवस्था छैन । बाँकी ३३ को पनि नेगेटिभ आए भुल्के पूर्णतः सुरक्षित छ भनेर बुझ्दा हुन्छ ।’

स्वास्थ्यका अनुसार उदयपुरमा हालसम्म ल्यावमा परीक्षण गर्ने (पिसिआर) विधिबाट ६ सय ६५ जनाको परीक्षण गरिएको छ । जसमा महिलाको संख्या १ सय ७९ छ । रिपोर्ट आएको १ सय ६१ महिलासहित ५ सय ९५ मा २ महिलासहित २८ पुरुष संक्रमित भेटिएका छन् ।  त्रियुगा ३ को भुलकेबाहेक अन्य मस्जिद र बस्तीमा संक्रमण पाइएको छैन । त्यस्तै द्रुत लक्षण परीक्षण (आरडिटी) बाट गरिएको २३ महिलासहित १ सय २२ को परीक्षणमा सबै नेगेटिभ छ ।

पिसिआर गर्न जिल्लाका त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका नगरपालिका र रौतामाई गाउँपालिकाबाट क्रमशः ४ सय ८०, ६१, ३२, ११ र ५ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन लौकाजी राईले बताए । उनका अनुसार लिमचुङबुङ, ताप्ली र उदयपुरगढीमा कसैको पिसिआर अहिलेसम्म गरिएको छैन । ती स्थानीयतहले पनि पिसिआर गर्न माग गरिरहेको तर, सामग्री अभावमा आरडिटीमै काम चलाइरहनुपरेको छ ।
    
 

प्रकाशित: २० वैशाख २०७७ १४:०६ शनिबार

उदयपुर मस्जिद_क्षेत्र