स्वास्थ्य

वैशाख ५ गते लुकेर नेपाल पसेका थिए रुपन्देहीका संक्रमित

बुटवल- रुपन्देहीका कोरोना संक्रमित युवा दुई साताअघि लुकेर नेपाल पसेको पाइएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिका १ सिपवाका २५ वर्षे ती युवा भारतको दिल्लीबाट वैशाख ५गते नेपाल फर्केका थिए । मालबाहक गाडी र पैदलै गरी रुपन्देहीको सीमानाकासम्म आइपुगेका उनी वैशाख ५ गते लुम्बिनीस्थित कालिदह नाका आसपासबाट लुकेर नेपाल पसेको उनका दाजुले बताएका छन् ।

नेपाल पसेपछि उनले दाइलाई फोन गरेर लिन बोलाएका थिए । उनका दाजुले भाइलाई साइकलमा राखेर सिधै आफ्नो गाउँपालिकाको क्वारेन्टाइनमा लगेको स्वास्थ्यका अधिकारीहरुलाई बताएका छन् । नेपाल पसेपछि ती युवाले सम्मरीमाइमा रहेका आफन्तकोमा खाना खाएको पनि बताइएको छ ।

कोरोना पाजेटिभ देखिएपछि उनलाइ शुक्रबारै बुटवलको कोरोना विशेष अस्थाइ अस्पतालमा लगीएको छ । अस्पतालका अनुसार शुक्रबार साँझसम्म ती युवाको स्वास्थ्य अवस्था सामान्य छ ।  उनमा रुघा खोकी ज्वरो जस्ता कुनैपनि स्वास्थ्य समस्या नदेखिएको अस्पतालले जनाएको  छ । युवालाई साइकलमा क्वारेन्टाइनसम्म पुर्‍याएका उनका दाजुलाइ पनि अहिले क्वारेन्टाइनमा राखीएको छ । परिवारका अन्य सदसयलाइ  होम क्वारेन्टाइनमा राखीएको  छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरीले शनिबार परिवारका सदस्यको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने र कन्टयाक्ट ट्रेसिङ गरीने जानकारी दिए  ।

नेपाल आएलगत्तै कोटहीमाइ ५ मा रहेको मर्चवार आर्दश उच्चमाविको क्वारेन्टाइनमा बसेका ती युवाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रदेश ५ को प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा राजेन्द्र कुमार गिरीले बताए ।

आफूहरुसंग क्वारेन्टाइनमा रहेका व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि कोटहीमाइको क्वारेन्टाइनमा बस्नेहरु आत्तिएका छन् । भारतसंग सीमा जोडीएको कोटहीमाइ गाँउपालिकाको सो क्वारेन्टाइनमा लकडाउन सुरु भएपछि नेपाल प्रवेश गरेका १० जना छन् । पछिल्लो समय ६ जना थपिएका छन् । लकडाउनमा सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारीएको भनिएपनि प्रदेश नं. ५ का बिभिन्न जिल्लास्थित सीमानाकामा भारतबाट लुकेर नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । जसले कोरोनाको जोखीम बढाइरहेको छ  ।

प्रकाशित: १९ वैशाख २०७७ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App