स्वास्थ्य

दुई महिना पहिला भारतबाट आएका थिए कोरोना संक्रमित

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल । कोरोना संक्रमितलाई सोही अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । तस्बिर : नागरिक

नेपालगन्ज- कोरोना भाइरसबाट संक्रमित ६० वर्षिय व्यक्तिले दुई महिनादेखि आफू नेपालगन्जमै रहेको बयान दिएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि स्वास्थ्यकर्मीले बयान लिँदा उनले विगत दुई महिनादेखि आफू नेपालगन्ज बाहेक कतै नगएको दाबी गरेका हुन् । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाका अनुसार मदरसाका शिक्षक समेत रहेका उनको महेन्द्र पार्क नजिकको मस्जिदमा पिसिआर परीक्षण गरिएको थियो । कोरोना संक्रमितको नाम, ठेगाना र आवद्ध संस्थाको नाम भने नागरिकले गोप्य राखेको छ ।

रिपोर्ट पोजिटिभ आएपछि उनलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेसनमा राखिएको डा. थापाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । ‘कोरोना संक्रमित ब्यक्तिले मदरसामा पढाउँदा रहेछन्, सोधपुछ गर्दा दुई महिनादेखि नेपालगन्ज बाहेक कतै नगएको बताएका छन्,’ थापाले भने ‘दुई महिना पहिला भने भारतबाट आएका रहेछन् ।’ संक्रमित ब्यक्ति परिवार र आफन्तको सम्पर्कमा रहेको बताइएको छ । कोरोना संक्रमित फेला परेपछि नेपालगन्जका विभिन्न स्थानलाई शिल गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना भाइरसका संक्रमित फेला परेपछि नेपालगन्ज बजारका विभिन्न चार स्थानलाई शिल गरिएको बताए । ‘कोरोना संक्रमित फेला परेपछि विभिन्न चार स्थानलाई शिल गरेका छौं, अब नेपालगन्जबासीले झनै सजगता अपनाउनुपर्ने अवस्था आयो,’ उनले भने । पिसिआर जाँच गरेका मस्जिदमा सुरक्षामा कडाई गरिएको प्रजिअ खड्काले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले एक जना ब्यक्तिमा संक्रमण पुष्टी भइसकेपनि अर्का एक ब्यक्तिमा संक्रमण आशंका गरिएको बताए । ‘एक जना ब्यक्तिमा त कोरोना संक्रमण पुष्टी भइसकेको छ, अर्का ब्यक्तिमा पनि कोरोनाको आशंका गरिएको छ,’ उनले भने । आशंकित ब्यक्तिको पिसिआर पुनः परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

कोरोना संक्रमित र आशंकित दुबै ब्यक्ति भारतबाट आएको राणाले बताए । नेपालगन्जमा कोरोना भाइरसका संक्रमित फेला परेपछि जिल्लास्थित सुरक्षा समितिको आपतकालिन बैठक बसेर लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको छ । संक्रमित फेला परेपछि नेपालगन्जबासी त्रसित भएका छन् । सर्बसाधारणहरु यसअघि बिहान–बेलुका अत्यावश्यक बस्तु किनमेलका लागि बजारमा निस्कने गरेपनि शुक्रबार भने दिनभर सुनसान रह्यो ।

 

प्रकाशित: १९ वैशाख २०७७ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App