स्वास्थ्य

कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएकाहरुलाई खोजिदै

संक्रमित भेटिएका टोलहरुलाई सुरक्षाको कारणले सिल गर्न पुगेको सुरक्षा निकायका प्रमुखहरुको टोली।

बारा- जितपुरसिमरा उपमहानगरपालिकाका दुई जनामा कोरोना भाइरस लागेको पुष्टि भएपछि संक्रमितका परिवारका सदस्य र नजिक बस्दै आएकाहरुलाई पहिचाल गरि क्वारेन्टाइनमा पठाउने कार्य सुरु गरिएको बारा प्रहरीले जनाएको छ। कोरोना भाइरसको थप संक्रमण फैलिन नदिनको लागि संक्रमितहरुसँग बसोबार गरेकाहरुलाई पहिचाल गरि क्वरेन्टाइनमा पठाउनुको साथ साथै  उनीहरुले बस्दै आएका टोललाई सुरक्षा घेरामा राखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएर आएको डेढ महिनापछि एक जना जितपुरसिमरा उपमहानगपालिका ७ जितपुुर र अर्का १९ ईनर्वासिरा गरि दुई स्थानमा बस्दै आएका दुई जनामा कोरोना भाइरस लागेको पुष्टि भएपछि सुरक्षा सर्तकर्ता समेत अपनाइएको उपरीक्ष पगेनीले बताए। दिल्लीबाट फर्केपछि जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर घर भएका संक्रमितले  आफ्नै घरमा बस्दै आएका थिए भने अर्का संक्रमित १९ ईनर्वामा रहेको मद्रसामा बसेर पढाउने काम गर्दै आएका थिए।

पहिलो चरणमा दुबै संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन र आइसोलेसनमा पठाउने कार्य सुरु गरिएको उपरीक्षक पगेनीले बताए। संक्रमित दुबैजनाको सम्पर्कमा आएका ७ जनालाई बिहीबार दिउँसोसम्ममा कन्ट्याक्ट ट्रेसिङका आधारमा खोजबिन गरेर सिमराको क्वारेन्टाइनमा राखिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले बताएका छन्।

जितपुर घरमै बस्दै आएका संक्रमितको परिवारका पाँच सदस्य र इनर्वाको मद्रसामा बसेर पढाउने कार्य गर्दै आएका संक्रमितलाई खाना खुवाउने, सँगै घुम्ने दुई जनालाई जितपुरसिमरा उपमहानगरको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको पुरीले बताए। संक्रमित भेटिएका दुई टोलहरुलाई सुरक्षाको कारणले सिल गरिएको र संक्रमितको सम्पर्कमा आएका अन्यलाई ‘ट्राभल हिस्ट्री’ र ’कन्ट्याक ट्रेसिङ्ग’को आधारमा खोजी सुरू गरिएको बारा प्रहरीले जनाउको छ।

आइसोलेसनमा राखिएकाहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी गरिएको छ। दिल्लीबाट नेपाल फर्किएको झण्डै ५० दिनको अन्तरामा दुबै जनामा कोरोना भाइरस लागेको पुष्टि भएपछि उनीहरुले बस्दै आएको स्थान र सम्पर्कमा आएका धेरै व्यक्तिहरुमा पनि यसको संक्रमण फैलिएको हुन सकिने भन्दै चिन्ता बढाएको छ।

 

प्रकाशित: १९ वैशाख २०७७ ११:४६ शुक्रबार

कोरोना_भाइरस संक्रमित धार्मिक_भेला