स्वास्थ्य

जोखिम क्षेत्रमै छैन पर्याप्त परीक्षण किट

विनोद सुवेदी/चुमन बस्नेत

विराटनगर- प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) को परीक्षण किटको अभाव  भएको छ।  संघीय सरकारले सबै ठाउँमा पर्याप्त मात्रमा किट उपलब्ध गराएको दाबी गरिरहे  पनि प्रदेश १ का केहि जिल्लामा परीक्षण किटको अभाव  देखिएको हो।

विराटनगरस्थित कोसी अस्पताल कोभिड उपचार केन्द्रलगायत प्रदेशका अन्य विभिन्न स्थानमा आरडिटी र पीसीआरको किट अभाव हुन थालेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। उनीहरूले  तत्काल  किट नआए  परीक्षण नै रोकिने अवस्थामा रहेको जानकारी दिएका छन्। कोसी अस्पतालमा दैनिक करिब ७० जनाको पीसीआर प्रविधिबाट परीक्षण हुँदै आएको र अस्पतालमा परीक्षणको किट कमी भएको अस्पतालकी निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डाक्टर संगीता मिश्राले बताइन्। ‘परीक्षणको किट थोरै मात्र भएकाले अहिलेकै दरमा परीक्षण गर्नु पर्यो भने दुई दिनसम्ममात्रै  पुग्छ’ उनले भनिन्,‘हामीले सम्बन्धित निकायलाई किट अभाव भएको जानकारी दिइसकेका छौं।’ 

यता प्रदेश १ का स्वस्थ्य महाशाखा प्रमुख सुरेश मेहेताले  आरडीटी किट अभावको समस्या समाधान गरिसकिएको दाबी गरे। उनले भने‘प्रदेशका केहि स्थानमा देखिएको आरडीटी किट अभावको समस्या समाधान गरिसकिएको छ।’ अभाव भएका स्थानमा किट पठाइसकिएको मेहेताले स्पष्ट पारे। यता कोसी अञ्चल अस्पतालमा परीक्षण सामाग्रीको अभावका कारण अटोमेटिक प्रणालीबाट गरिने पीसीआर परीक्षण   रोकिएको मेहेताले बताए। उनले भने‘अटोमेटिक परीक्षण रोकिए पनि म्यानुअल्ली प्रविधिबाट पीसीआर परिक्षण भइरहेको छ।’  स्वास्थ्य सामाग्री अभावले अटोमेटिक परीक्षणमा  प्रदेश १ मा मात्रै नभई सबै प्रदेशमा  समस्या देखिएकाले हाल काठमाण्डौंबाट मात्रै अटोमेटिक प्रविधिबाट पीसीआर परीक्षण भइरहेको मेहेताले जानकारी दिए।  यस्तै आरडीटी किट अभाव भएका स्थानहरूमा प्रदेश सरकारले  ३ सय ६० का दरले किट पठाइसकेको मेहेताले जानकारी दिए।

यसैबीच विराटनगर स्थित कोभिड स्वास्थ्य उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरूको पनि स्वाव परिक्षणका लागि स्वाव संकलन गरिएको छ। बुधबार २४ जना स्वास्थ्यकर्मीहरूको स्वाव परीक्षणका लागि संकलन गरेर पठाइएको कोसी अस्पतालले जनाएको छ। अस्पतालका अनुसार परीक्षण गरिएको स्वावको रिपार्ट आउन बाँकी रहेको छ।       विराटनगरको कोभिड स्वास्थ्य उपचार केन्द्रमा हाल ३१ जना कोरोना संक्रमित  भर्ना भएका छन्। कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरूको शुक्रबार स्वाव परीक्षण गरिने र  रिपोर्ट नेगेटिभ आए डिष्चार्ज गरिने कोसी अस्पतालले जनाएको छ।

 

प्रकाशित: १८ वैशाख २०७७ १३:०७ बिहीबार

कोरोना_भाइरस कोभिड_१९ परीक्षण