स्वास्थ्य

ताप्लेजुङमा काठमाडौसहित बिभिन्न स्थानबाट घर फर्किएका २ सय २७ जना क्वारेन्टाइनमा

ताप्लेजुङ- ताप्लेजुङमा बुधवारसम्ममा २ सय २७ जना क्वारेन्टाइनमा रहेको पाइएको छ । यद्यपी जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिमा भने २ सय २२ जनाको नामावली प्राप्त भएको छ । फुङ्लिङ नगरपालिका वडा नं ८ मा समुदायले व्यवस्थापन गरेका ५ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्थानीय सरकारले क्वारेन्टाइनमा राख्न आनाकानी गरेको भन्दै फुङ्लिङ वडा नं ८ रमितेटोलमा स्थानीय लालीगुराँस जनसाँस्कृतिक परिवारले ५ जनालाई क्वारेन्टाइनमा राखेको जनाएका छन् । जनसाँस्कृतिक परिवारले सामाजिक सञ्जालमा क्वारेन्टाइनमा बस्नेहरुका लागि आफूहरुले १४ दिनका लागि आवास र खानापिनाको व्यवस्था गरेको उल्लेख गरेका छन् । दोखुस्थित स्वास्थ्य संस्थाका प्रमुख जगदीस घिमिरेले क्वारेन्टाइनमा रहेका ५ जनाले आरडिटी परीक्षणको माग गरिरहेको जानकारी दिए ।

लालीगुराँस साँस्कृतिक परिवारले व्यवस्थापन गरेको सहित अहिले यहाँ १७ वटा क्वारेन्टाइन केन्द्रमा मानिसहरु राखिएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार पाथीभरा याङ्वरक गाउँपालिकास्थित कालिका माविमा १८ जना, वडा नं ३ तिरिङ्गेस्थित सहकारी संस्थाको भवनमा १५ जना र वडा नं २ थेचम्बुमा १३ जना र वडा नं ६ थुम्बेदिनमा २१ जना गरी ६७ जना छन् । फक्ताङ्लुङ गाउँपालिकाको वडा नं १ सावादिनस्थित सामुदायिक भवनमा ८ जना,वडा नं २ खेजेनिमस्थित स्विचा प्राविमा ८ जना,सोहि वडाको आर्दश माविमा ७ जना र खेजेनिम निमावीमा ६ जना रहेका छन् । सोहि गाउँपालिकाको वडा नं ३ स्थित सिँवा स्वास्थ्य चौकीको भवनमा १२ जना, जनता आधारभूत विद्यालयमा ६ जना, वडा नं ४ ईखाबुस्थित सुनदेवी माविमा ७ जना र फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ स्थित धर्मशाला भवनमा ११ जना गरी ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

आठराई त्रिबेणी गाउँपालिकामा भने वडा नं ३ हाङपाङस्थित सरस्वती माविमा ४८ जना क्वारेन्टाइनमा रहेका छन् । सिदिङ्वा गाउँपालिकाको वडा नं ४ साब्लाखुस्थित सिंहदेवी माविमा १० र भञ्ज्याङ माविमा २२ गरी ३२ जना, मेरिङ्देन गाउँपालिकाको वडा नं ४ लिङ्तेपमा ५ जना र सिरिजङ्घा गाउँपालिका वडा नं ५ पेदाङस्थित याङ्पाङ आधारभूत विद्यालयमा ५ जना क्वारेन्टाइनमा रहेको बिवरण कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिसंग रहेको छ । क्वारेन्टाइनमा रहेका मध्ये अधिकांश राजधानी काठमाडौसहित बिभिन्न स्थानबाट गृह जिल्ला भित्रिएका नागरिक रहेका छन् ।

माग १ हजार थान : आयो ४ सय थान
जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले ताप्लेजुङका लागि कम्तिमा १ हजार थान र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) किट माग गरी लिनका लागि निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेललाई प्रदेश राजधानी बिराटनगर पठाएपनि मागको आधा भन्दा निकै कम मात्र किट आएको छ । पोखरेल प्रदेश सरकारले उपलब्ध गराएको ३ सय ६० थान आरडिटी किट लिएर सदरमुकाम फुङ्लिङ फर्कने भएका छन् । ४० थान आरडिटी किट भने मंगलवार मात्र जिल्ला भित्रिएको थियो । यो सहित अब ताप्लेजुङका लागि ४ सय थान आरडिटी किट मात्र उपलब्ध हुने निश्चित भएको छ ।

क्वारेन्टाइनमा रहेकाको परीक्षण गरिने
बिहीबारबाट आरडिटी किट फुङ्लिङ आई पुग्ने भएपछि शुक्रबारबाट यहाँका क्वारेन्टाइनमा रहेकाहरुबाट दोस्रो चरणको आरडिटी परीक्षण गरिने भएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले दोस्रो चरणको पहिलो आरडिटी परीक्षण आठराई त्रिबेणी र पाथीभरा याङ्वरकबाट क्रमशःअघि बढाउने योजना तय गरेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए ।

प्रकाशित: १८ वैशाख २०७७ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App