स्वास्थ्य

भिटिएम अभावमा रोकिएको आरडिटी पुनः सुरु

उदयपुर- नतिजा विश्वसनीय नभएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण (आरडिटी)बाट स्वास्थ्य जाँच रोक्न गतसाता सरकारलाई आग्रह गर्नुअघि नै उदयपुरमा रोकिएकोमा बुधबारदेखि पुनः त्यहीँ बिधि थालिएको छ । त्रियुगा ३ भुल्के मस्जिदमा नेगेटिभ देखिएका जमातीको पोलिमेरीज चेन रियाक्सन (पिसिआर) परीक्षणमा संक्रमण पाइएपछि आरडिटी परीक्षण जिल्लामा रोकिएको थियो ।

वैशाख ६ गते रोकिनुअघि आरडिटी विधिबाट उदयपुरमा ११ महिलासहित १ सय ४५ को परीक्षण भएको थियो । जसमा सतप्रतिशत नतिजा नेगेटिभ देखिए पनि भारतीय जमातीको ‘रिकन्फर्म’ गर्न पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि आरडिटी अविश्वसनीय भएको भन्दै ‘क्यान्सिल’ गरिएको थियो । स्वास्थ्य कार्यालय उदयपुरले पिसिआर विधिको परीक्षणका लागि आवश्यक भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएम) नभएकाले पुनः आडिटी विधिबाट परीक्षण थालिएको जनाएको छ ।

स्वास्थ्य प्रमुख मोहन सुबेदीका अनुसार स्थानीय तहहरुले छिटो परीक्षण गर्न दबाब दिईरहेका बेला भिटिएम अभाव भएपछि आरडिटीबाटै परीक्षण गर्न थालिएको हो । जस अनुसार बुधबार जिल्लाको ताप्ली गाउँपालिका पुगेर स्वास्थ्य टोलीले आरडिटी परीक्षण थालेको हो ।  ताप्लीका बिभिन्न क्वारेन्टाइनमा राखिएका ६ महिलासहित १५ जनाको परीक्षण बुधबार गरिएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको भए पनि १० प्रतिशतको पिसिआर परीक्षण पनि गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नियमानुसार २ जनाको स्वाव नमूना पनि संकलन गरिएको छ । बुधबार गर्न नभ्याइएपछि स्वास्थ्य टोली त्यहीँ बसेर बिहीबार बाँकीको आरडिटी परीक्षण गरिनेछ ।

अध्यक्ष थापाले ताप्लीका बिभिन्न क्वारेनटाईनमा १ सय ३० जना राखिएको र जसमध्ये १४ दिन बिताईसकेकाको आरडिटी जाँच गरिनेछ । काठमाडौं, गाईघाटलगायत बिभिन्न ठाउँबाट फर्केकाहरु सबैलाई अनिवार्य १४ दिन क्वारेनटाइनमा बस्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । दुई सातायता भुल्केमा २८ संक्रमित फेला परेकाले गाईघाटबाट फर्केकालाई पनि संक्रमणको आशंकाले अनिवार्य क्वारेन्टाइनमै राखिएको अध्यक्ष थापाले बताए । यसअघि भारतबाट फर्केकाहरुलाई कटारी बेलसोतस्थित प्रदेश क्वारेन्टाइनमा १४ दिन राखेर घर फर्काइएकालाई ‘होम क्वारेन्टाइन’मै बस्न भनिएको छ ।

यसअघि क्वारेन्टाइनमा बस्नेको आरडिटी चेकजाँच गरी नेगेटिभ पाइएका त्रियुगाका ६८, बेलकाका २४, रौतामाईका २३, चौदण्डीगढीका १६ र लिमचुङबुङका १२ जनालाई घर पठाईसकिएको छ । सोही अवधिमा मस्जिदका आरडिटी नेगेटिभ देखिएका १६ भारतीय पिसिआरमा कोरोना संक्रमण पुष्टि भएपछि आरडिटी विधिको चेकजाँच रद्ध गरिएको थियो ।

आरडिटी नेगेटिभ आएपछि क्वारेन्टाईनबाट घर फर्काइएकाहरुको स्वास्थ्यमा शंका उत्पन्न भएको छ । तर, घर फर्कनेहरु कसैमा पनि अहिलेसम्म कोरोना लक्षण देखिएको खवर नआएको स्वास्थ्यले जनाएको छ । जिल्लामा आरडिटी परीक्षण गरिएकामध्ये १० प्रतिशतको भने पिसिआर पनि परीक्षण गरिएको सुबेदीले बताएका छन् । अन्य जिल्लामा यही विधिबाट परीक्षण भईरहेको र सबै अविश्वसनीय नहुने उनको प्रतिक्रिया छ ।

स्वास्थ्य कार्यालय उदयपुरमा हालसम्म १ सय ७५ महिलासहित ६ सय ५४ को पिसिआर परीक्षणका लागि स्वाव संकलन भएको जनाएको छ । जसमध्ये २४ महिलासहित १ सय २१ को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्यका फोकल पर्सन लौकाजी राईले बताए । आईतबार संकलित ८३, सोमबार ८ र मंगलबार ३३ को रिपोर्ट बिहीबारसम्मा आउनसक्ने उनले बताए ।

फोकल पर्सन राईका अनुसार पिसिआर परीक्षणमा सबैभन्दा बढी त्रियुगा नगरपालिकाका १ सय ६३ महिलासहित ५ सय ३३ ले स्वाव नमूना दिएका छन् भने कटारीका ३ महिलासहित २८, चौदण्डीगढीका ६ महिलासहित ६१, बेलकाका ३ महिलासहित ११ को स्वाव लिइएको छ । रौतामाई र लिमचुङबुङ गाउँपालिकाका क्रमशः ५ र ६ जनाको स्वाब लिइएको भने उदयपुरगढी र ताप्ली गाउँपालिकाका कसैको स्वाब संकलन भएको छैन ।

पिसिआर रिपोर्ट आएको ५ सय ३० मा २ महिला र २६ पुरुष संक्रमित पाइएको छ भने बाँकीको नेगेटिभ आएको राईले बताए । विराटनगरस्थित कोरोना अस्पतलमा उपचाररत संक्रमित २८ सबैको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै स्वास्थ्यले जनाएको छ ।

भुल्केमा गैससको स्वास्थ्य सामग्री सहयोग
कोरोनाको ‘इपिसेन्टर’ भुल्केमा गैरसरकारी संस्था महासंघले स्वास्थ तथा खाद्य सामग्री वितरण गरेको छ । संक्रमण पुष्टि भएपछि दुईसातायता ‘सिल’ भुल्केका सर्वसाधरण घरबाहिर निस्कन नपाउँदा खाद्य तथा स्वास्थ्य सामग्रीको अभाव भएकाले सहयोग गरेको महासंघकी केन्द्री सदस्य तथा प्रदेश इन्चार्ज महेश्वरी राईले बताईन् । उनका अनुसार त्रियुगा नगरपालिकासँगको समन्वयमा भुल्केक्षेत्रका ५७ घरधुरी मुस्लिम परिवारलाई १ लाख ५७ हजार ३ सय ५३ रुपैँया बराबरको स्वास्थ्य तथा खाद्य सामग्री प्रदान गरिएको छ ।

उनीहरुलाई बाल्टिन, सेनिटाइजर, साबुन, सर्पm, मास्क, प्याडजस्ता स्वास्थ्य सामग्री तथा भुजा, विस्कुटलगायत खाद्य वितरण गरिएको महासंघकी केन्द्रीय सल्लाहकार सृजना दनुवारले बताईन् । राहत र सहयोगका नाममा अहिलेसम्म चामल, दाल, नुन र तेल मात्र दिने गरिएकाले महासंघले सरसफाईका सामग्री दिएको हो । एउटै बस्तीमा २८ जना संक्रमित पाइएपछि सिल गरिँदा घरबाहिर निस्कन नपाएर उकुसमुकुस स्थानीयको घाउमा थोरै भए पनि मल्हम लगाउन प्रारम्भिक सहयोग गरिएको र महासंघले थप सहयोगको व्यवस्था पनि छिट्टै गर्ने दनुवारले बताईन् ।

 

प्रकाशित: १७ वैशाख २०७७ १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App