स्वास्थ्य

‘लकडाउन’ले साना किसान मारमा


खोटाङ– ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा खोटाङका किसान मारमा परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा जिल्लाका सबै किसान मारमा परेका हुन् । मौसमी तथा बेमौसमी तरकारी खेती गरेर आयआर्जन गरिरहेका साना किसान ‘लकडाउन’को सबैभन्दा बढि मारमा परेका छन् ।

हाटबजार बन्द हुँदा कतिपय किसानले उत्पादन गरेका बन्दा, काउली, गोलबेँडा, साग, काँक्रा लगायतका तरकारी सडिएर खेर जाने अवस्थामा पुगेको छ । ‘लकडाउन’को अवधिमा किसानले हरिया सागपात तथा तरकारीलाई बजारमा पु¥याउन नपाउँदा किसानको आम्दानीको बाटो टुटेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन सञ्चालन समितिका संयोजक दिपेन्द्र राईले बताए । यस बाहेक ढुवानीका समस्याका कारण कतिपय किसानले मकै लगायतका बालीको बीउको अभाव झेलिरहेका छन् । ‘अहिलेको अवस्थामा किसानले उत्पादन गरेको तरकारीले बजार पाउन सकिरहेका छैनन्,’ संयोजक राईले भने, ‘घर बाहिर रहेका स्थानीय लकडाउनका कारण घर फर्कन नपाउँदा अन्नबाली गोडमेल गर्नमा समेत बाधा पुगिरहेको छ ।’

‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा जिल्लाका पोल्ट्री व्यवसायी पनि मारमा छन् । दैनिक २० काटन अण्डा र तीन सय केजी अण्डा विक्री हुने दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको पोल्ट्री व्यवसायी संघका अध्यक्ष सुवास जोशीले बताए । ढुवानीको समस्या हुँदा जिल्लामा ब्रोइलर कुखुराको दानाको समेत अभाव सुरु भएको छ ।

गाउँपालिकाले किन्यो किसानको तरकारी
दिप्रुङ चुईचुम्मा गाउँपालिकाकाले ‘लकडाउन’को मारमा परेका किसानको तरकारी खरिद गरेको छ । ‘लकडाउन’का कारण हाट बजार नपाउँदा अधिकांश तरकारी कुहिने र सडिने अवस्थामा पुग्दा मारमा परेका किसानको राहतका लागि गाउँपालिकाले १ हजार २३६ केजी तरकारी खरिद गरिदिएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका २१ कृषकबाट ३१ हजार ३१६ रुपैयाँ बराबरको आलु, काउली र बन्दा खरिद गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

किसानले उत्पादन गरेका तरकारीको बजार सुनिश्चितताका लागि गाउँपालिकाले ५ हजार ९२० रुपैयाँमा १८४ केजी काउली, ११ हजार ७ सयमा ४६८ केजी आलु र १३ हजार ६९६ बराबरको ५८४ केजी बन्दा किनिदिएको हो । ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा खेर जाने अवस्थामा पुगेको तरकारी स्थानीय सरकारले किनिदिएपछि ‘लकडाउन’को मारमा परेका किसानले राहतको महसुस गरेका छन् ।

किसानबाट खरिद गरिएको तरकारी ‘लकडाउन’को मारमा परेका परिवारलाई खाद्यान्न सँगै बितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । लकडाउनका कारण हाटबजार बन्द छ । तरकारी कुहिएर र सडिएर खेर जाने अवस्थामा चिन्तित बनेका किसानको सहयोगका लागि गाउँपालिकाले खरिद गरिदिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘किसानबाट खरिद गरिएको तरकारी खाद्यान्नसँगै अरुलाई वितरण गर्‍यौँ । लकडाउनकै कारण कुनै पनि कृषि उपजले बजार पाउँदैन, कुहिएर वा सडेर जान्छ भनेर चिन्ता गर्नु पर्दैन ।’

प्रकाशित: १६ वैशाख २०७७ १५:०८ मंगलबार

लकडाउन किसान कोभिड–१९ कोरोना_भाइरस