स्वास्थ्य

टाँडीको क्वारेन्टाइन गोठगाउँमा सारिने

मोरङ- पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेजका रूपमा मोरङको सुन्दरहरैंचास्थित कलेज अफ मेडिकल एण्ड एलाइड साइन्सेसमा कोभिड १९ अस्पताल र क्वारेन्टाइन सञ्चालन हुने भएको छ।  

सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँमा रहेको मेडिकल कलेजमा प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को अस्पताल र क्वारेन्टाइन सञ्चालन गर्न लागेको जनाएको छ।  प्रदेश सरकारले हाल मोरङको टाँडीमा क्वारेन्टाइन सञ्चालन गर्दै आएको छ।  त्यहाँ ‘टेन्ट’ बाट बनाएको अस्थायी घरमा मौसमका कारण समस्या हुने भएपछि प्रदेश सरकारले मेडिकल कलेजको  २ वाट ब्लकमा अस्पताल र क्वारेन्टाइन सञ्चालन गर्ने भएको छ।  

  ‘मिक्लाजुङ गाउँपालिकाको टाँडीमा रहेको क्वारेन्टाइनलाई केहीदिनमा विश्व विद्यालयको मेडिकल कलेजको परिसरमा सार्ने तयारी सरकारले गरेको छ,’ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘केहीदिन यता खराब मौसमका कारण क्वारेन्टाइन सञ्चालनमा समस्या भएको र अब हावाहुरी र वर्षाको सिजनले गर्दा थप समस्या हुने भएकाले सार्न लागेको हो। ’ प्रदेशका मुख्यमन्त्री शेरधन राईसहित अन्य मन्त्री र विज्ञको टोलीले स्थलगत निरीक्षणपछि सो स्थानमा दुवै कार्य गर्न उपयुक्त रहेको ठहरपछि अस्पतालका लागि मंगलबारदेखि नै प्राविधिक टोलीसहित काम सुरु भइसकेको छ', मन्त्री घिमिरेले भने।  

नेपाली सेनाको सूर्य दल गणले टाँडीमा क्वारेन्टाइन निर्माण गर्दै सेवा प्रदान गर्दै आएको छ।  वैशाख ८ र ९ गतेको हावाहुरी र वर्षाले बिजुली, पानी तथा इन्टरनेटसहित ८० वटामा टेन्टमा क्षति पुगेको थियो।  गणका प्रमुख सेनानी रघु पौडेलले भने, ‘खराब मौसमका कारण समस्या हुने भएकाले क्वारेन्टाइनलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्न लागिएको हो। ’ दुई सय जना संक्रमित राख्न सक्नेगरी चैत १० गतेदेखि क्वारेन्टाइन सुरु भएको थियो।  क्वारेन्टाइनमा १ सय ४६ जना पुरुष र १० महिला राखिएकोमा १ सय ३७ पुरुष र ६ जना महिला घर फर्किसकेका छन् भने हाल ९ जना पुरुष र ४ जना महिला रहेका छन्।  

प्रदेश १ मा कोरोना भाइरस संक्रमितको उपचारका लागि विराटनगरमा १० बेड भेन्टिलेटरसहित ५० बेड र धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठनमा १३ बेड आइसीयुसहित १ सय बेडको उपचार केन्द्र सञ्चालनमा रहेको छ।

प्रकाशित: १६ वैशाख २०७७ १३:०५ मंगलबार

कोरोना_भाइरस कोभिड_१९ बिराटनगर