स्वास्थ्य

रोल्पामा आरडिटी किटको अभाव, क्वारेन्टाइनमा ६ हजार ८ सय ९ जना

बिभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरु । तस्बिर : दिनेश/नागरिक

रोल्पा- रोल्पामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) परीक्षण गर्ने किटको अभाव भएको छ । किट सकिएपछि बाहिर जिल्लाबाट आएर क्वारेन्टाइनमा १४ दिन बसिसकेकाहरुलाई घर पठाउने कि राखिराख्ने भन्ने बारे स्थानीय तहहरुलाई अन्यौलता थपिएको छ । केहि दिन पहिले आएको ३ सय वटा किटबाट परीक्षण सकाएको रोल्पा अस्पतालको प्राबिधिक टोली यतिबेला अब के गर्ने भन्नेमा अन्यौलमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ अनुसार मंगलबार रोल्पा जिल्ला भरको बिभिन्न क्वारेन्टाइनमा ६ हजार ८ सय ९ जना बसिरहेका छन् । उनीहरु मध्ये धेरै जसो काठमाडौ ईट्टाभट्टा लगायत बिभिन्न जिल्लाबाट आएका मजदुरहरु हुन ।

अहिले रोल्पाको रुन्टीगढी गाउँपालिकामा मात्रै १ हजार ७ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै अन्य स्थानीय तहमा पनि दर्जनौ रोल्पालीहरु बिभिन्न विद्यालयमा बनाइएका क्वारेन्टाइनमा छन् । उनीहरुलाई आरडिटी परीक्षण गर्न किट नभएपछि समस्या भएको छ ।

‘किटको अभाव छ । यतिबेला हामिसंग एउटा पनि किट छैन । भएको सबै प्रयोग गरिसक्यौ ।’ जिल्ला स्वास्थ्य प्रमुख अनिल केसीले भने ‘संघ र प्रदेश सरकारले पठाउनु पर्ने तर आएको छैन । स्थानीय तहहरुले पनि खरिद गरेका छैनन् । केहि दिन यता परीक्षण रोकिएको छ ।’

अब स्थानीय तहहरुले बिवरण राखेर १४ दिन कटाएकालाई घर पठाउने निर्णय गरेका छन् । ‘हामिसंग एक दुई सय जती १४ दिन बढि क्वारेन्टाइनमा बसिसकेकाहरु हुनुहुन्छ । उहाँहरु घरमा पनि होम क्वारेन्टाइनमा बस्ने सल्लाहसहित बिवरण राखेर घर पठाउने तयारीमा छौ ।’ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा भन्छन् ‘क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गरेर घरमा पठाउन पाए सजिलो हुन्थ्यो ।’

रुन्टीगढी गाउँपालिका जस्तै अन्य स्थानीय तहहरुले पनि १४ दिन बसेकालाई घर पठाउने तयारी गरिरहेका छन् । केन्द्र र प्रदेश सरकारले समयमा पर्याप्त किट नपाएपछि यतिबेला क्वारेन्टाइनमा १४ दिन बसेकाहरुले हल्ला खल्ला गर्न थालेका छन् । कतै कतै त प्रहरी लगाएर पनि बाताबरण शान्त बनाउनु परिरहेको छ । स्थानीय तहसंग बजेट भए पनि उनीहरु किट खरिद गर्न सक्ने अवस्थामा छैनन् । केन्द्र र प्रदेश सरकारले नै किट नपाएपछि उनीहरु झनै अलमलमा परेका हुन् ।

 

प्रकाशित: १६ वैशाख २०७७ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App