स्वास्थ्य

‘दैनिक कोरोनासँग डिल गरेर आउँछु’

तारा भट्टराई, न्यूयोर्क

म दैनिक कोरोनासँग 'डिल' गरेर बेलुका घरमा आउनुपर्छ। कोरोना संक्रमित नभएको ठाउँ कहिँ छैन। मैले यहाँ जे आँखाले देखेकी छु त्योभन्दा अरु बढी कुरा गर्न सक्दिन। किनकि म कुनै विज्ञ त होइन। काममा खटिँदा मास्क लगाइरहनुपर्छ। पानी, खाना कसरी खानु? जीउ बचाउन गाह्रो छ। यसबाट बच्न युद्धमा टाउको जोगाएजस्तै हो। घरमा आएपछि आज त आएँ नि भन्ने लाग्छ। बिहान ज्वरो बिना उठ्दा म ठीक छु भन्ने लाग्छ। मैले खाने बेलामा मात्रै मास्क खोल्छु। तिर्खा लाग्छ समयमा पानी खान पाइँदैन। बिरामी नै बिरामी हुन्छन्। तर, म एक्सपोज भएदेखि कोरोनासँगै छु।

मैले न्यूयोर्कस्थित एक कम्युनिटी सेन्टरमा स्वास्थ्यकर्मीको रुपमा काम गर्छु। यहाँ करिब ५ सय मान्छे बस्छन्। हामीलाई कम्युनिटी सेन्टरले कतिजनालाई संक्रमण छ भन्ने कुरा भन्दैन। हाम्रो अनुमानमा यहाँ भएका ५० प्रतिशतलाई कोरोना लागेको छ। कतिपयलाई सञ्चो पनि भएको छ। मैले दैनिक २५ जना कोरोना संक्रमितलाई ज्वरो नाप्ने, उसको खाना हेर्ने, नखाएमा रिर्पोट गर्ने गर्छु। मैले बिरामी छुनुपर्छ। औषधि दिनुपर्छ, खाना दिनुपर्छ। धेरैजसो विभिन्न अन्य रोग लागेका होमलेस मानिसहरु छन्।

मैले काम गरिरहेको ठाउँमा मार्च २ मा पहिलो कोरोना केस देखिएको थियो। मार्च १२ मा पहिलो संक्रमितको ज्वरो लिएकी थिएँ। ऊ एकजना फिलिपिनो थियो। उसलाई एकै छिनमा ज्वरो आउने अनि सञ्चो हुने हुन्थ्यो। पछि डेथ भयो। पहिलो संक्रमित जो कोठामा सँगै बस्थ्यो उसलाई कोरोना सरेको छैन। बिरामीसँग दूरी कायम गर्नुपर्छ। बिरामीले सर्तकता अपनाउनुपर्छ। बाथरुम गए चुकुलदेखि, धाराको टुटीसम्म छोएपछि सफा गर्नुपर्छ।

भूइँचालोको बेला पशुपतिमा १९ वटा शव जलाएको थिएँ। त्यो भन्दा धेरै शव अमेरिकामा देखें। मुख्य कुरा कोरोना लागेका बिरामीलाई हेला नगर्नुस्। उनीहरुबाट भाग्नु पर्दैन। ६ फिटको दूरी कायम गर्दा हुँदोरहेछ। संक्रमण भएको व्यक्तिले भने निकै ख्याल गर्नुपर्छ। संक्रमितले मास्क, ग्लोब्स लगाउनुपर्छ। अरुलाई नसरोस् भनेर निकै ख्याल गर्नुपर्छ। अरु सबैले हातमा ग्लोब्स लगाइरहनु पर्दैन। बरु साबुन पानीले हात धोइरहनुपर्छ। नुहाउनुपर्छ। प्रत्यक्ष नाक, मुख, आँखामा हात नलैजानुहोस्। हाछ्यूँ आउन लागेको थाहा भए छोप्नुस् हावामा जान दिन हुँदैन।

मेरो यहाँको अनुभव कोरोनाको शंका भएमा हत्तपत्त अस्पताल नजानुस्। मास्क लगाउनुस्। तातो तातो खानुस्। मह, जिम्मु, ज्वानो, अदुवा, लसुनजस्तो हाम्रो किचनमै भएका चीज पनि खानुस्। हामीले सकेसम्म फोक्सो बचाउने हो। लागिहाले पनि नडराउनुस्। बिरामीले एकदमै सावधानी अपनाउनुपर्छ। सर्तकता अपनाएमा केही हुँदैन।

अचेल कामबाट फर्केपछि मेरो सरसफाईमा धेरै समय बित्छ। कोरोनाको इपिसेन्टरमा छु। बजार जानुपर्छ। दुईतीन घण्टा लाइन बस्नुपर्छ। किनेर ल्याएको तरकारी पखाल्छु। लुगा वाथरुममा लगेर तातोपानीमा डुबाइदिन्छु। जुत्ता स्प्रे गर्छु।

नयाँ रोग भएकाले अनुभवबाटै सिक्दैछु। अमेरिकामा भन्नु मात्रै हो। सबैको चेतनास्तर माथि हुँदैन। एकजना किड्नीकी बिरामी डायलासिस गर्थिन्। कोरोना लागेपछि उनले पानीसँग आइस मागिन्। नदिंदा उनी मसँग झगडै गरिन्।

एकदमै आत्मविश्वास भएका ९० वर्ष पुगेका पनि बाँचेका छन्। जीवनमा सकारात्मक सोच राख्ने, रोग सजिलै  लिने। रुखाखोकी, ज्वरो त हो भन्नेहरु निको भएर गएका छन्। जिन्दगीको औधी माया गर्नेहरु प्यानिक छन्।

यदि लागिहाल्यो भने पनि म तयारीमा छु। मैले कोरोना जित्नेछु। सचेत छु। तपाइँ पनि नडराउनुस्। सचेत रहनुस्। 

(नागरिककर्मी भाषा शर्माले गरेको कुराकानीको आधारमा)

प्रकाशित: १४ वैशाख २०७७ ०४:३४ आइतबार

कोरोना_भाइरस कोभिड_१९ अमेरिका