स्वास्थ्य

आरडिटी रद्ध, पिसिआरबाट मात्र परीक्षण

उदयपुर- सरकारले शनिबार मात्र दु्रत लक्षण परीक्षण (आरडिटी) विधिको परीक्षण भरपर्दो नभएको भन्दै थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पिसिआर) विधिबाट मात्र कोरोना स्वास्थ्य परीक्षण गर्न निर्देशन दिदै गर्दा उदयपुरमा भने सातादिनअघि नै आरडिटी विधि ‘क्यान्सिल’ भईसकेको थियो ।

भुल्के मस्जिदमा रहेका १२ भारतीयसहित १६ जनाको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि संक्रमण हुनसक्ने अनुमानसहित पिसिआर परीक्षण गर्दा पोजेटिभ आएपछि आरडिटीप्रति अविश्वास गर्दै त्यो विधि त्यहीँबेला खारेज गरिएको हो । त्यसभन्दा अघिसम्म आरडिटी विधिबाटै परीक्षण गरिदै आएकोमा मस्जिदमा बस्नेको स्वाब रिपोर्टसँग उल्टो परिणाम देखिएपछि त्यो विधि त्यसैबेलादेखि बन्द गरेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए ।

‘त्यसबेलासम्म स्वाब परीक्षण गर्ने किट भाईरल ट्रास्नपोर्ट मिडिया (भिटिएम) कमै मात्र आएको थियो । त्यसैले पहिले गरिदै आएको आरडिटीबाटै परीक्षण गरिदैथ्यौं’ उनले भने ‘तर, जव मस्जिदकालाई जाँचेको रिपोर्ट उल्टो आयो अनि त्यतिबेलैदेखि आरडिटी खारेज गर्‍यौं ।’

स्वास्थ्य कार्यालयका अनुसार क्वारेन्टाइनमा बसेका सबैको आरडिटीबाटै स्वास्थ्य परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकालाई घर पठाइएको छ । हालसम्म आरडिटी विधिबाट ११ महिला र १ सय १५ पुरुषको स्वास्थ्य परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जस अनुसार कटारीको बेलसोत क्वारेन्टाईनका २६, लिमचुङबुङका १२, त्रियुगाका ८, रौतामाईका ८, चौदण्डीगढीका ६ र बेलाकाका ९ जना क्वारेरन्टाइन बस्नेलाई आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएको छ ।

स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति लौकाजी राईले हालसम्म जिल्लामा १ सय ५० महिला र ३ सय ८० पुरुषको पिसिआर विधिबाट परीक्षण गरिसकिएको छ । जसमा सुरुवाती चरणमा मस्जिदका ११ भारतीयसहित १३, त्यसपछि क्रमशः ८, ३, ४ हुँदै २८ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये दुई महिला छन् । १ सय ४८ महिला र ३ सय ३७ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु भुल्के, शिवाई, मोथियाही मस्जिद र मस्जिद आसपास बसोबास गर्ने र आउजाउ गर्नेहरु रहेको राईले बताए ।

 

 

प्रकाशित: १४ वैशाख २०७७ ०२:११ आइतबार

आरडिटी पिसिआर कोरोना काेभिड_१९