स्वास्थ्य

८१ वर्षिय वृद्धा कोरोना मुक्त भएर घर फर्किइन्

काठमाडौं - बिहीबार थप दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। स्वास्थ्य मन्त्रालयका  प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षिय पुरुष र ८१ वर्षिया महिला उपचारपछि निको भएर घर फर्किएका हुन्। चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरुको वैशाख १ गते र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। सोही दिन उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो। यो सँगै निको भएर घर फर्किनेको संख्या ९ पुगेको छ।

अहिलेसम्म पिसिआर विधिबाट ९ हजार १ सय ९९ जनाको परीक्षण भएको छ। यसैगरी आरडिटी विधिबाट ३४ हजार ५ सय २३ जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले बताए। पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ वटा नयाँ परीक्षण भएका छन्।

प्रदेश नम्बर १ मा ३ हजार ५ सय ९२, प्रदेश नम्बर २ मा ४ हजार ५ सय २९ र बागमती ६ हजार १ सय ५५ वटा परीक्षण भएका छन्। यसैगरी गण्डकी प्रदेशमा ४ हजार ५ सय ५५, प्रदेश नम्बर ५ मा २ हजार ७ सय ५६, कर्णाली प्रदेशमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको आरडिटी परीक्षण भएको उनले बताए।

अहिले देशभरी १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ४ र बाहिर ८२ जना गरी ८६ जना आइसोलेसनमा रहेका छन्।

बिहीबार सार्क राष्ट्रस्तरिय स्वास्थ्य राज्यमन्त्रीहरुको भिडियो कन्फ्रेन्स भएको छ। कन्फ्रेन्समा सहभागि राष्ट्रहरुले आफ्ना अनुभव आदान प्रदान गरेका थिए। कन्फ्रेन्समा कोभिड—१९ नियन्त्रण सम्बन्धि सार्क क्षेत्रमा भएका क्रियाकलापहरुको समीक्षा र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिकहरुको विषयमा समेत छलफल भएको थियो। नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सहभागिता जनाएका थिए।

प्रकाशित: ११ वैशाख २०७७ १३:२८ बिहीबार

कोरोना_भाइरस कोभिड_१९ कोरोना_मुक्त