स्वास्थ्य

कोरोना आशंका गरिएका ८ जनाकाे आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ

डोल्पा- भारतबाट फर्केका कोरोना आशंका गरेका ८ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जगदुल्ला गाउँपालिका भर भएर भारतमा मजदुरी गरेर फर्केका ८ जना र थप एक जना गरि ९ जनाको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ भेटिएको हो ।

भारत तथा अन्य मुलुकबाट आएकालाई पहिलो प्राथकितामा राखेर आरडिटी परीक्षण गर्न स्वास्थ्य विभाग निर्देशन दिएपछि पहिलो चरणमा भारतबाट डोल्पामा आएकाहरुको खोजी गर्दै जाने क्रममा जगदुल्ला गाउँपालिका नागरिक भेटिएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले डोल्पाका ८ ओटै स्थानीय तहमा आरडिटी परीक्षण गर्ने निर्णय गरेको थियो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट डाक्टर मछिन्द्र बडुवालको संयोजक्त्वमा सबै स्थानीय तहमा पुगेर कोरोना आशंका गरिएका ब्यक्तिहरुको आरडिटी परीक्षण गर्न पहिलो चरणमा जगदुल्ला गाउँपालिकामा पुगेर स्वास्थ्यकर्मीहरुको मोवाइल घुम्ती टोलीले ९ जनाको आरडिटी परीक्षण गरेको हो ।

कोरोना आरडिटी परीक्षण किट १४० थान मलेरीयाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट गत बिहीबार मात्र जिल्लामा पुगेको थियो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर सिजन रावलले मंगलबार जगदुल्ला गाउँपालिकामा आरडिटी परीक्षण गर्दा भारतबाट आएका ८ जना र थप एक जना गरि ९ जनाको रिपोर्ट नेगेटिभ आएको बताए ।

प्रकाशित: ९ वैशाख २०७७ १६:५४ मंगलबार

कोरोना आरडिटी_परीक्षण_रिपोर्ट